बर्दघाट । वातावरण दिवसको अवसरमा कार्बन न्यूनिकरण परियोजना प्लास्टिक फुटप्रिन्ट हटाउने अभियान अन्तर्गत नवलपरासीको बर्दघाटमा वृहत सरसफाई कार्यक्रम गरिएको छ ।
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आफ्नो ६० औं वार्षिकोत्सवको उपलक्ष्यमा बर्दघाट-त्रिवेणी सडक खण्ड र बसपार्क क्षेत्रको वरपर सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । उक्त सरसफाई कार्यक्रमबाट करिब सय बोरा प्लास्टिकजन्य फोहोर संकलन गरी विसर्जन गरिएको छ ।
उक्त कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बेदबिना तवारीले जुनसुकै धर्म र जातिका भएपनि आफ्नो गाउँ समाज सफा र स्वच्छ बनाउनुपर्ने दायित्व सबैको भएकोमा जोड दिंदै प्लास्टिक फुटप्रिन्ट हटाउने अभियान तथा सरसफाइ कार्यक्रम एकदमै राम्रो र सराहनीय रहेको बताए ।
कार्यक्रमका संयोजक सरोज लामाले वर्तमान समयमा संसारमा वातावरण प्रदुषणको समस्या एकदमै जटिल बन्दै गइरहेकोले वातावरण प्रदुषणलाइ रोकथाम गर्न सरसफाईको कार्यक्रम, वृक्षारोपणको कार्यक्रम लगाएत अन्य जनचेतनामूलक कार्यक्रमहरू सबै निकायले प्राथमितामा राखेर गर्नुपर्ने बताए ।
लामाले मण्डली स्थापना भएको ६० वर्ष पूरा भएको र विश्वको १७५ वटा देशहरूमा स्थापना ३७ लाख भन्दा बढी सदस्यहरू भएको विश्वव्यापी सञ्जाल रहेको बताए । कार्यक्रममा बर्दघाटका प्रहरी नायब निरिक्षक चोप बहादुर केसी, वडा सदस्य जनक बहादुर रावल, शान्तीनगर टोल सुधार समितिका अध्यक्ष होम बहादुर गुरुङ, समाजसेवी लक्ष्मीभक्त लामा लगाएतले वातावरण संरक्षण र सरसफाईमा सरकारी र गैर सरकारी संस्थाले प्राथमिकता दिएर काम गर्नुपर्नेमा जोड दिए ।




