भोजेन्द्र नेपाली
बुटवल
मिजार समाज नेपाल जिल्ला कमिटी रुपन्देहीले छात्रवृत्ति वितरण गरेको छ । शनिबार बुटवलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी संस्थाले छात्रवृत्ति वितरण गरेको हो । कार्यक्रममा रुपन्देही जिल्लाभित्रका विभिन्न विद्यालयमा अध्ययन गर्दै आएका जेहेन्दार, विपन्न तथा आर्थिकस्थिति कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री समाजले वितरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि मिजार समाज नेपालका केन्द्रीय सल्लाहकार हरिबहादुर बम्रेलले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरे । उनले विद्यार्थीहरूलाई वितरण गरिएको छात्रवृत्तिले शैक्षिक ज्ञान वृद्धि गर्न सहयोग गर्ने जनाए । समाजले रूपन्देही जिल्लामा सकारात्मक र रचनात्मक काम गरी सामाजिक अभियानलाई सशक्त रूपमा अगाडि बढाएकोमा खुशी व्यक्ति गरेका थिए । साथै आगामी दिनमा पनि यस्तै सकारात्मक कार्य गर्न सुझाव दिँदै केन्द्रबाट गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरे । मिजार समाज रूपन्देहीले पछाडि पर्दै आएका व्यक्तिहरुलाई संगठित गरेर माथि उठाइ शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक, आर्थिक एवं राजनीतिक क्षेत्रमा अगाडि लैजान अहम भूमिका खेल्ने कुरामा आफू विश्वास्थ रहेको बताएका थिए ।
त्यस्तै कार्यक्रमका अध्यक्ष समेत रहेका मिजार समाज नेपाल रुपन्देहीका अध्यक्ष दिलबहादुर नेपालीले यस्ता खाले हौसला तथा सचेतना बढाउने कार्यक्रमको माध्यमबाट समाजमा बिस्तारै दलित समुदायको सक्रियता बढाउनुका साथै पछाडि परेका विपन्न परिवारका विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनबाट रोकिन तथा जेहन्दार विद्यार्थीलाई सत्मार्गमा लाग्न थप हौसला मिल्ने हँुदा समाजले यस्ता खालका कार्यक्रहरुको आयोजना गरेको बताएका थिए । उनले यस्ता खाले कार्यक्रम आउँदा दिनहरुमा अझँै प्रभावकारी ढंगबाट गर्ने प्रतिबद्धता व्यक्त गर्दै छात्रवृत्ति ग्रहण गर्ने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई हौसला दिँदै उनीहरुको उज्ज्वल भविश्यको कामना गर्दै उपस्थिति सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका मिजार समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इञ्चार्ज सुहाबहादुर नेपालीले एक्काइसौं शताब्दीसम्म आइपुग्दा समेत दलित समुदायका व्यक्तिहरुले चर्को विभेद सहदै आइरहेकोले यसको अन्त्यको लागि दलित अधिकारकर्मीहरू एकै ठाउँमा उभिएर अगाडि बढ्न जरुरी रहेको बताए । कार्यक्रममा बोल्दै उनले समाजमा हुने विभिन्न खालका जातीय विभेदकाविरुद्वमा सचेतना कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेको औल्याए । साथै छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको उज्ज्वल भविश्यको कामनासमेत गरे ।
त्यस्तै कार्यक्रमका अतिथि तथा मिजार समाज लुम्बिनी नेपालका प्रदेश अध्यक्ष जितु बौडेलले पछिल्लो समयमा समाजमा हुने विभेदकै कारण कतिपय व्यक्तिहरुले विभिन्न थर परिवर्तन गरेको पाइएको भए पनि दलित हुनुमा गर्व गर्नुपर्ने बताए । उनले अब पछाडि परेको वर्गको अधिकारका लागि स्थापित भएका यस्ता संस्थाहरू दलित समुदायको उत्थान र विकासमा लाग्नुपर्ने कुरामा जोड दिए । त्यस्तै दलित भएकै कारण कसैले अपहेलना र विभेद गर्छ भने त्यसको प्रतिकार पनि गर्न सक्नु पर्ने, जसको लागि यस्ता संगठनले अहम भूमिका रहने स्पष्ट पारे ।
यसैगरी कार्यक्रममा मिजार समाज नेपालका लुम्बिनी प्रदेश कोषाध्यक्ष मीना नेपाली, सदस्य हिराबहादुर गोतामे, तिलोत्तमा नगरपालिकाकी जनप्रतिनिधि विष्णुकुमारी सार्कीलगायतले मन्तव्य राखेका थिए ।
सोही अवसर पारेर छात्रवृत्ति पाउने सम्पूर्ण विद्यार्थीहरुलाई थप हौसला दिँदै स्वदेशी तथा जुत्ता उद्योग बुटवलका प्रोप्राइटर कमल बस्यालले १÷१ जोर जुत्ता प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन मिजार समाज नेपालका जिल्ला कमिटी सचिव सकुन्तला नेपालीले गरेकी थिइन भने स्वागत मन्तव्य मिजार समाज नेपाल रुपन्देहीका उपाध्यक्ष राजकुमार ठडराइले राखेका थिए ।




