सिद्धबाबा सुरूङमार्गमा बम विष्फोट आजदेखि
लुम्बिनी संवाददाता
बुटवल
पाल्पाको सिद्धबाबामा आज आइतबारदेखि बम विस्फोट गराएर सुरुङ खन्ने कामलाई तीव्रता दिइने भएको छ । जिल्ला सुरक्षा समिति रुपन्देही र पाल्पाको निर्णय बमोजिम सिद्धबाबामा सुरुङमार्ग निर्माण गर्न जेठ १३ गते आइतबारदेखि विस्फोट गराउने काम सुरु गरिने भएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकबाट जेठ ११ गते शुक्रबार प्रारम्भिक रुपमा पूर्वअभ्यास गरेको थियो । १३ गतेदेखि आवश्यकताअनुसार सवारीसाधन रोकेर विस्फोट गर्ने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबामा १ हजार १ सइ २६ मिटर सुरुङ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको छ ।
नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा आवश्यकताअनुसार विस्फोट गराइने प्रमुख जिल्ला अधिकारी काफ्लेले जानकारी दिए । विस्फोटका समयमा सीमित अवधिका लागि सवारी आवागमन रोकिनेछ ।
जेठ ११ गते शुक्रबार निर्माणस्थलमा नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा विस्फोटको पूर्वाभ्यासको काम गरिएको हो । आयोजनाले पछिल्लो समय सार्वजनिक गरेको अपडेटअनुसार सुरुङ मार्गको भौतिक प्रगति ११.४१ प्रतिशत र वित्तीय प्रगति १७.५ प्रतिशत भएको । मुख्य टनेलको ८५.७ मिटर खन्ने काम सम्पन्न भइसकेको सद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयले जानकारी दिएको छ ।
पाँच वर्षमा निर्माणको काम सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग २०७८ साल फागुनमा ठेक्का सम्झौता भएर सुरुङ निर्माणको काम भइरहेको छ । राजमार्गको पाल्पा–बुटवल सडकखण्डअन्तर्गत सिद्धबाबा क्षेत्रमा झर्ने चट्टानसहितको पहिरोले हरेक वर्ष ठूलो क्षति भोग्न परेपछि सरकारले सुरक्षित आवागमनका लागि सुरुङमार्ग निर्माण गर्ने योजना सुरु गरेको हो ।
माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म सुरुङमार्ग निर्माणको काम भइरहेको छ । ठेक्का सम्झौताअनुसार २०८३ सालभित्र निर्माणको काम पूरा हुनुपर्ने आयोजनाका प्रमुख रामपुकार जयसवालले जानकारी दिए । निर्माण कम्पनीले सुरुङमार्गको डिजाइनमा एक वर्ष समय खर्चिदा सुरुङ खन्ने काममा ढिलाइ भएको हो ।
मुख्य सुरुङमार्ग दक्षिण पोर्टलबाट ४८.३ मिटर सुरुङ खनिएको छ । उत्तर पोर्टलतर्फ ३७.४ मिटर सुरुङ खनेको जानकारी दिइएको छ । दक्षिण र उत्तरतर्फका दुवै पोर्टलका साथै निकासका लागि राखिएका तीनवटा बाइपास सुरुङहरूमा २३, १५, १५ मिटर मात्र खनिएको छ ।
आकस्मिक अवस्थाका लागि सुरुङ बाहिरी सडकमा जोड्ने गरी तीन–तीन सय मिटरको दुरीमा तीनवटा सहायक सुरुङमार्ग बनाइएको आयोजनाले जनाएको छ । ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको ठेक्का सम्झौता भएको र १२ दशमलव ४७ प्रतिशत आर्थिक प्रगति भएको छ । जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सनलगायतका प्रविधिमार्फत् साढे २ किलोमिटर सडक सुरक्षित बनाउनुपर्ने हुन्छ । तराइदेखि पहाडका पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा सुरुङमार्गले आवागमन सहज र सुरक्षित हुने विश्वास लिइएको तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले जानकारी दिए ।
कहिले होला वारपार ?
सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा बर्खा र हिउँदमा अत्यधिक पहिरो गइरहन्छ । पहिरोका कारण जनधनको क्षति हुँदै आएको छ । त्यसैले यसलाई ‘मृत्युमार्ग’ पनि भन्ने गरिएको छ ।
दैनिक करीब तीन हजार सवारीसाधनको आवतजावत हुने यस सडकमा कमजोर चुरेको अग्लो भीर भएकाले बर्खामा लेदो र हिउँदमा सुक्खा पहिरो खस्छ । गएको १० वर्षमा सिद्धबाबा खण्डमा पहिरो खस्दा र दुर्घटना हुँदा ७० जनाभन्दा बढीको ज्यान गएको प्रहरीको तथ्यांक छ । दुर्घटना कम गर्न लामो समयको छलफल र बहसपछि सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यान्वयनमा आएको हो ।
आयोजना प्रमुख रामपुकार जैसवाल सुरुङमार्गको काम तीव्र गतिमा भइरहेको बताउँछन् । “सुरुङमार्ग निर्माणमा खासै अवरोध छैन । दुई शिफ्टमा चौबीसै घण्टा काम भइरहेको छ ।”–उनी भन्छन् ।
सुरुङमार्ग खन्ने काम २०८० माघ ४ मा सुरु भएको हो । चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इञ्जिनीयरिङ कर्पोरेशन (सीएससीइसी)ले सुरुङमार्ग बनाइरहेको छ । सीएससीइसीले ‘इञ्जिनीयरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्शन (इपीसी)’ मोडलमा सुरुङमार्गको ठेक्का पाएको हो ।
यो आयोजना सात अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लागेको हो । अहिले नारायणगढ–बुटवल सडकखण्डको कामको ठेक्का पाएकै कम्पनीले सुरुङमार्ग बनाउन थालेको हो । कम्पनीले अबको चार वर्षभित्र सुरुङमार्गको निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्नेछ ।
सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यका अनुसार सुरुङमार्गमा दुई सिफ्टमा चौबीसै घण्टा काम गरी ६ महिनाभित्र ‘ब्रेक थ्रु’ हुनेछ । आइतबारदेखि सुरुङ खन्न विस्फोटक पदार्थको प्रयोग गर्ने तयारी भइरहेको छ ।
निर्देशक शाक्यको भनाइमा मेशिनको प्रयोग गरी अहिले सुरुङ खन्ने काम भइरहँदा राम्रो र खन्न मिल्ने चट्टान भेटिएका छन् । विस्फोट गर्न थालेपछि एक पटकमा दुई मिटरको दरले खन्न मिल्ने उनी बताउँछन् । “विस्फोटक पदार्थको प्रयोग गर्दै एक दिनमा सात–आठ मिटर खन्न सकिन्छ ।”– निर्देशक शाक्य भन्छन् ।
सुरुङमार्गमा अहिले राति पाँच घण्टा सडक बन्द गरेर काम भइरहेको छ । “अहिलेकै गतिमा काम गर्ने हो भने ६ महिनामा सुरुङले ‘ब्रेक थ्रु’ पाउँछ ।”–उनी भन्छन् ।
सिद्धबाबा सुरुङ निर्माणका लागि २०७७ मंसिर १ गते मन्त्रिपरिषद् बैठकले आवश्यक प्रक्रिया थाल्ने निर्णय गरेको थियो । २०७८ जेठ ९ मा सडक विभागले ग्लोबल टेन्डरमार्फत् ठेक्का आह्वान गरेको थियो । त्यही अनुसार कम बजेट प्रस्ताव गर्ने चिनियाँ कम्पनीले सुरुङ निर्माणको जिम्मेवारी पाएको हो । सुरुङमार्ग बनेपछि पनि कम्पनीले पाँच वर्षसम्म मर्मतको काम समेत गर्नुपर्ने शर्त छ ।
यो सडकखण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्छन् । हरेक वर्ष पहिरोले जनधनको क्षति पु¥याउन थालेपछि सुरुङमार्ग निर्माण गर्न थालिएको हो ।
आयोजनाका अनुसार बुटवल र पाल्पा दुवैतर्फ जोखिमयुक्त स्थानमा दुई लेनको सडक बनाइनेछ । सडकको माथिल्लो भागमा सुरक्षा संरचना बनाइनेछन् । यसले सडकमाथिबाट खस्ने ढुंगालाई सिधैँ तल झार्नेछ ।
यसरी कुल तीन किलोमिटर सडकलाई सुरक्षित गराउने योजना छ । सुरुङमार्गका तीन स्थानमा खुला स्थान राखिनेछ । आकस्मिक घटना भइहालेमा सोही स्थानबाट उद्धारको काम सञ्चालन गर्न सहज हुनेछ ।




