प्रेम सुनार
गुल्मी
अविरल वर्षासँगै झरेको पहिरोले खानेपानीको मुहानमा क्षति पुराएपछि गुल्मीको नेटा र थामडाँडा गाउँका झण्डै ४ सय घरधुरीका हजारौं जनताले केहि दिनयता पिउने पानीको हाँहकार भोगेका छन् ।
मालिका गाउँपालिका १ को नेटामा झण्डै ३५० घरधुरी र मुसिकोट नगरपालिका १ थामडाँडाका करिव ४५ घरधुरीले पिउने पानीको त्यस कारण हाँहकार भोग्नु परेको हो । ति उपभोक्ताले विचारे नेटा खानेपानी तथा सरसफाइ योजनको पानी गत ३० वर्षदेखि पिउँदै आएका थिए । सोही पुरानो योजनाको मुहानलगायतका स्थानमा पहिरोले क्षति पुराएपछि पानीको हाँहाकार भोग्नु परेको स्थानीयवास महेन्द्र बिकले बताए ।
उक्त योजना जीर्ण भएपछि त्यहाँका बासिन्दाले त्यस क्षेत्रका सांसद तथा पूर्व मन्त्री गोकर्णराज विष्ट र मालिका गाउँपालिकाको पूर्ववर्ती सरकारसँग नयाँ खानेपानीको माग गर्दै आएका थिए । सोही अनुरुप सो गाउँपालिकाको एक घर एकधारा कार्यक्रमअन्तरगत प्रदेश सरकारबाट बहुवर्षीय योजना पारेर पाँच वर्षअघि गराखोला तिखेचुली नेटा लिप्ट खानेपानी योजना सुरु भएको थियो ।
त्यस वडाका वडा सदस्य समेत रहेका बिक भन्छन्–‘क्रमागत योजनाको सुरुमा ७५ लाख हुँदै अहिले घट्दै गएर जम्मा १५ लाख मात्रै बजेट परेको र करिव ५० प्रतिशत मात्रै काम भई योजना अलपत्र परेबाट स्थानीयवासी निरास हुँदै त्यही पुरानो योजना ममर्त सम्भार गर्दै पिउन बाध्य छन् ।’
पूर्ववर्ती रितबहादुर थापा नेतृत्वको स्थानीय सरकारको पालामा एक घर एक धारा कार्यक्रमअन्तरगत नेटामा १९० वटा धारा पनि बनेका थिए । धारा त बने तर पानी नआएपछि ति धाराको संरक्षण स्वयम् परिवारले समेत नगर्दा जीर्ण बन्दै जान थालेका छन् ।
वर्तमान स्थानीय सरकार, प्रदेश र संघीय जनप्रतिनिधिहरुले पनि त्यस योजनालाई सम्पन्न गर्नेतर्फ चासो नदिएको स्थानीयको गुनासो छ । ‘म गाउँपालिका अध्यक्ष देवीराम अर्याल समक्ष उक्त समस्या लिएर आएको छु,’ बिकले भने–‘उहाँले अबको एक वर्षभित्र त्यस वडामा एक घर एक धारा कार्यक्रमको उक्त योजना सम्पन्न गरी पानी खुवाउँछु भन्ने वचन दिनु भएको छ ।’
‘स्थानीय सरकार, संघीय सरकारका जनप्रतिनिधिहरु, सम्बन्धित निकायको ध्यानकृष्ट गराउन चाहन्छु कि खानेपानीको हामी ठूलो समस्यामा परेका छौं, आगमी आर्थिक वर्षको बजेटमा उक्त अलपत्र परेको लिफ्ट खानेपानी योजना सम्पन्न हुने गरी बजेट पारी दिनुहोस् ।’– उनले भने ।
उनका अनुसार बहुवर्षीय योजनामा परेको उक्त खानेपानी योजनाको पहिलो वर्ष ७५ लाख बजेट आयो, दोश्रो वर्ष २४ लाख र तेश्रो पटक घटेर जम्मा १५ लाख आउँदा पाँच वर्षमा काम जम्मा करिव ५० प्रतिशत मात्रै भएको छ । उनका अनुसार सप्लाई ट्याङ्की पनि बनेको छ, तर पाइप लाइनको काम अगाडि बढ्न सकेको छैन ।




