१६ जेठ । रुपन्देहीको कञ्चन गाउँपालिकामा सञ्चालित सहकारी संस्थाका व्यवस्थापक तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरुका लागि कोपोमिस र पल्स अनुगमन तालिम सोमबारदेखि सञ्चालन भएको छ ।
तालिमको शुभारम्भ कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले गरिन । तालिमको शुभारम्भ गर्दै उपाध्यक्ष थापा मगरले अब सहकारीलाई बचत गर्ने र ऋण दिने संस्थाको रुपमा मात्र नभई शेयर सदस्यहरुले बचत गरेको रकमलाई पुँजीको रुपमा लगानी गरेर रोजगार श्रृजना गर्ने उत्पादनशिल क्षेत्रा समेत लगानी गर्नु पर्नेमा कुरामा जोड दिइन । उपाध्यक्ष थापा मगरले संस्थामा बचत गर्ने शेयर सदस्यहरुलाई स्वरोजगार बनाउने उद्यमशिल कार्यक्रम बनाउन सके संस्थाबाट लिएको कर्जा जोखिममा जाने सम्भावना निकै कम हुने उल्लेख गर्दै बचत र ऋणले मात्र संस्थाको संस्थागत बिकास नहुने समेत उल्लेख गरिन ।
कञ्चन गाउँपालिकाका प्रशासन प्रमुख तथा सहकारी शाखा प्रमुख गिरीराज अर्यालले कञ्चनका सहकारी संस्थाहरु सहकारी ऐन बमोजिम कृयाशिल छन् कि छैनन्, नियमित अपडेट छ कि छैन भन्नेबारेको मूल्यांकनको आधारमा सहकारीको नियमन र अनुगमन गर्ने बताए । सहकारीको संस्थागत विकास के कतिको भएको छ वा छैन भन्नेबारे संस्थाको कोपोमिसबाट समेत प्रस्ट हुने भएकोले सबै सहकारी संस्थाहरुले कोपोपिस अनिवार्य रुपमा भर्नु पर्नेमा सहकारी प्रमुख अर्यालले जोड दिए ।
कञ्चन सहकारी सञ्जाल, रुपन्देहीको आयोजना तथा कञ्चन गाउँपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका शिक्षा तथा तालिम संयोजक गंगलाल सापकोटाले समेत बोलेका थिए । सञ्जालका अध्यक्ष पुष्पराज शर्माको अध्यक्षता तथा सचिव विष्णु पौडेलको सञ्चालनमा भएको तालिम कञ्चन गाउँपालिकाको सभाहलमा सञ्चालन भइरहेको छ । तालिममा कोपोमिस र पल्स अनुगमन, लेखा व्यवस्थापन, धितो मूल्यांकन, ऋण लगानी र ऋण असुली, लेखा सुपरीवेक्षण समितिको क्षमता अभिवृद्धिसम्बन्धी प्रशिक्षण हुनेछ । तालिम यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । सहकारी संस्थाका व्यवस्थापकहरुका लागि दिइने कोपोमिस र पल्स अनुगमनसम्बन्धी प्रशिक्षण जिल्ला सहकारी सहकारी संघका महासचिव दामोदर पंगेनीले दिइरहेका छन् ।
तालिममा कञ्चनका २२ वटा सहकारी संस्थाका व्यवस्थापकहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटन सत्रको कार्यक्रममा सञ्जालका अध्यक्ष ओमप्रकाश शर्माले स्वागत गरेका थिए ।




