तानसेनमा १९ लाख लिटर खानेपानीको आपूर्ति भएपछि उपभोक्ताले माग गरेकै दिन नयाँ धारा जडान गर्न सक्छन् ।
कृष्ण पोखरेल
पाल्पा
खानेपानीमा काकाकुल मानिने पाल्पाको तानसेनमा पानीको समस्या समाधान हुँदै गएको छ । माग अनुरुपको आपूर्तिमा पूर्णता नभए पनि अब पानी नपाएर भौतारिनुपर्ने बाध्यता हटेको छ ।
तानसेन खानेपानी उपभोक्ता समितिले तानसेन बजारमा खानेपानीको कुनै समस्या नरहेको जनाएको छ । समितिले तानसेनमा पत्रकार सम्मेलन गरी नव निर्वाचित कार्य समितिले ६ महिनाको अवधीमा गरेका गतिविधि सार्वजनिक गर्दै तानसेनमा खानेपानीको समस्या पूर्णरुपमा हटेको जनाएको छ । समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले अहिले उपभोक्ताको धारामा एक दिन बिराएर पानी वितरण हँुदै आएको जानकारी दिए । विगतका दिनमा पानी नआएर तानसेनवासी हैरान थिए भने अहिले धेरै पानी आयो भनेर धारा बन्द गर्ने अवस्थामा पुगेको अध्यक्ष श्रेष्ठले बताए । तानसेनका उपभोक्तालाई हाल दैनिक २५ लाख लिटर पानीको आवश्यकता भएकोमा हाल दैनिक रुपमा १९ लाख लिटर पानी तानसेनमा वितरण भएको समितिले जनाएको छ । पूर्ण क्षमतामा मोटर पम्प सञ्चालन गर्ने हो भने दैनिक रुपमा पानी वितरण गर्न सकिने अवस्थामा समिति पुगे पनि मोटर पम्पलाई टिकाउनको लागि रातीमा मोटरपम्प सञ्चालन गर्दै आएको समितिले जनाएको छ ।
अहिले तानसेनमा कालगण्डकी, भुल्के, सिस्ने, तिनधारा, होलाङ्दी र बाझा मुलबाट पानी संकलन गरी तानसेनमा पानी वितरण हुँदै आएको छ । खानेपानीलाई व्यवस्थित र नियमित गर्नको लागि सबै स्थानको पम्प स्टेशनमा जगेडा मोटरको व्यवस्था मिलाएको, विद्युत् लाइनलाई व्यवस्थित गरेको, विभिन्न स्थानहरुका वितरण लाइनहरु मिलाएको समितिले जनाएको छ । संकलित ट्यांकीहरुमा बढी भएको पानी मिशन अस्पताल, तानसेन नर्सिङ स्कुल, ठूला–ठूला होटलहरुमा वितरण गर्दै आएको समितिले जनाएको छ । अहिले उपभोक्ताले माग गरेको दुई दिनभित्र नयाँ धारा जडान हुने, घर निर्माणको लागि नक्सा पासको आधारमा नयाँ धारा जडान गर्ने काम नियमित रुपमा भइरहेको समितिले जनाएको छ ।
पुषदेखि बैशाखसम्मको ५ महिनामा १ करोड ८५ लाख ९५ हजार, ९ सय १५ रुपैयाँ आम्दानी भएको र विद्युत महशुल, नयाँ मोटर खरिद, कर्मचारी तलबलगायत विविधमा १ करोड ५९ लाख ७० हजार ५ सय २० रुपैयाँ खर्च भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । विभिन्न बैंकहरुमा ५ करोड ८९ लाख ७२ हजार ८ सय ५९ रुपैयाँ नगद मौज्दात रहेको समितिले सार्वजनिक गरेको छ ।
यही बैशाख मसान्तसम्म ४४३० वटा धारा वितरण भएकामा ४१६६ वटा निजी, २४४ वटा संघ संस्था र १७ वटा सामुदायिक धारा रहेको, विभिन्न सार्वजनिक स्थलहरुमा टंकी निर्माण गरी सार्वजनिक धारा सञ्चालनमा ल्याउने समितिले जनाएको छ ।
समितिले सबैको जिम्मेवारी बाँडफाँड गरी कामलाई चुस्त दुस्त बनाउने काम गरेको जनाएको छ । उपाध्यक्ष लालमने अदै पुनले स्टोर व्यवस्थापन, नियन्त्रण, मुल आपूर्ति व्यवस्थापन, सचिव प्रेमबहादुर मल्लले सचिवालय व्यवस्थापन, सुशिला कर्माचार्यले लेखा व्यवस्थापन, सह–सचिव बिर्जु खातीले गुनासो व्यवस्थापन, महेन्द्रबहादुर खातीले वितरण प्रणाली र लाइन व्यवस्थापन, बसन्तराज गहतराजले नयाँ मुल श्रोत पहिचान र रेणुका बस्यालले अनुगमन तथा मूल्याङ्कनको जिम्मेवारीअनुसार काम गर्दै आएको समितिले जनाएको छ ।
खानेपानीलाई नियमित र व्यवस्थित रुपमा वितरणको लागि विभिन्न स्थानमा ३०÷३० लाख लिटरका ठूला–ठूला ट्यांकी निर्माण गर्ने, जीर्ण भएका मुख्य पाइपलाइनहरु हटाउन्दै नयाँ पाइपलाइन राख्दै बस्ती बसेका नयाँ÷नयाँ स्थानमा खानेपानी विस्तार गर्दै जाने, वडा–वडामा उपभोक्ता समिति गठन गर्ने, वैज्ञानिक ढंगले पानी वितरण गर्ने श्रावण महिनादेखि मूल्य समायोजन गरेर नयाँ मूल्य निर्धारण गरिने समितिले जनाएको छ । विभिन्न व्यक्ति तथा कार्यालयहरुमा पुरानो बाँकी रकम अषाढ मसान्तसम्म भुक्तानी नगरेमा खानेपानीको धारा काटिदिने समितिले निर्णय गरेको जनाएको छ ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले खानेपानीका उपभोक्तामैत्री भएर समितिले काम गर्नु पर्ने, प्रत्येक व्यक्तिलाई दैनिक ५० लिटर पानी निःशुल्क प्रदान गर्नु पर्ने, तानसेनको पर्यटन व्यवसाय फष्टाउने गरी पानीको व्यवस्थापन गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।
कार्यक्रममा पत्रकार माधव अर्याल, प्रकाश नेपाल, देव पचभैया, कृष्ण कार्की, मुक्ति न्यौपानेलगायतले पानी वितरणको तालिका सार्वजनिक गरेर वितरण गर्नुपर्ने, राती रातीमा पानी वितरण गर्दा उपभोक्तामा समस्या भएको, पानीको महशुलमा स्वचालित मूल्य कायम राख्नु पर्ने, पानीको महशुल नतिरेका व्यक्ति संघ संस्थाहरुको नामावली सार्वजनिक गर्नुपर्ने, ल्याव टेष्ट गरेर मात्र नयाँ मुलहरुको व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रम समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठको अध्यक्षता र सचिव प्रेमबहादुर मल्लको सञ्चालनमा भएको थियो ।




