देवदह । बुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको रुपन्देहीको देवदहस्थित खयरडाँडामा स्थानीय सरकारको साझेदारीमा उत्खनन् बुधबारदेखि सुरु गरिएको छ । देवदह नगरपालिकाको आर्थिक तथा लुम्बिनी विकास कोष र पुरातत्व विभागको प्राविधिक सहयोगमा देवदह नगरपालिका– ९ स्थित खयरडाँडामा क्षेत्रमा उत्खनन् सुरु गरिएको हो ।
देवदह नगरपालिका नगरप्रमुख धुव्र खरेल र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले संयुक्त रुपमा कुटोले भुईँ खनेर शुभारम्भ गरेका हुन् । बजेट अभावका कारण पुरातात्विक स्थलहरुको उत्खनन्, अन्वेषणमा हुन नसकिरहेको बेला देवदह नगरपालिकाले १० लाख बजेट छुट्याएर उत्खनन् थालिएको छ । स्थानीय पालिकाले साझेदारीमा उत्खनन् गरेको यो पहिलो रहेको बताइएको छ ।
उत्खनन् शुभारम्भमा बोल्दै नगरप्रमुख खरेलले पुरातात्विक क्षेत्रको उत्खनन्मा देवदह नगरपालिकाले प्राथमिकताका साथ काम गर्ने बताए । उनले उत्खनन्का लागि आगामी वर्षमा पनि बजेट छुट्याएर काम गर्ने बताए । नगरप्रमुख खरेलले स्थानीयसँगै देवदह क्षेत्रका पुरातात्विक स्थलहरुको उत्खनन् र अन्वेषणका लागि प्रदेश सरकारले समेत बजेट छुट्याउनुपर्ने बताउँदै त्यसका लागि आफूहरुले पहल गर्ने प्रतिबद्धता जनाए ।
यस्तै कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले पुरातात्विक स्थलको उत्खनन्मा साझेदारी गरेर देवदह नगरपालिका पहिलो स्थानीय तह बनेको बताए । उनले देवदहको भग्नावशेष क्षेत्रहरुमा उत्खनन् हुँदा यसले पुरातात्विक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा समेत ठूलो टेवा पुग्ने बताए ।
भट्टराईले देवदहको खोजीका लागि रुपन्देही र नवलपरासीका क्षेत्रहरूको पुरातात्विक उत्खनन गर्नुपर्ने बताउँदै त्यसैका लागि कोषले गत वर्षदेखि उत्खनन्लाई प्राथमिकतामा राखेको बताए । गत वर्ष जेठ १७ गतेदेखि गरेको उत्खनन्मा प्राचीन पर्खाल र प्राचीनतम इनारका संरचना फेला परेका थिए ।
लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख वरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीको नेतृत्वमा ५ जनाको टोली उत्खनन्मा खटिएको छ । पुरातत्व विभागका पुरातत्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञका रुपमा शुभेच्छा पोख्रेल उत्खनन्मा खटिएका छन् । उत्खनन् आगामी एक महिनासम्म चल्नेछ ।




