कृष्ण पोखरेल
पाल्पा
शहर बजार तथा राजमार्ग क्षेत्रमा केन्द्रित रहेको सडक कालेपत्रे स्थानीय सरकार आएपछि गाउँ–गाउँमा सुरु भएका छन् । पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले ग्रामीण क्षेत्रका सडकहरुमा कालोपत्रे पिचको काम गर्दै आएको छ । गाउँपालिकाले गौरवको आयोजनाको रुपमा छहरा हधजाबान्ने– तानसिङ्गल–सातमुरे सडकको कालोपत्रेको काम गरिरहेको छ । गाउँपालिकाले बहु बर्षिय योजनाअन्तरगत चालु आर्थिक वर्ष २०८०-८१ को असार मसान्तसम्म छहरा वडा नं. ४ को कार्यालयदेखि धजाबान्नेसम्मको १ हजार ५ सय ६० मिटर सडक पिच (कालोपत्रे) सक्ने छ ।
पालिकाले अधिकाश वडाहरुलाई समेटेर सिमाना जोडिएका ३ जिल्ला जोड्ने सडक कालेपत्रे योजनालाई प्राथमिकतामा राखेर गत वर्षदेखि कालोपत्रे अभियान काम सुरु गरेको हो । पालिकाले छहरा धजाबान्ने– तानसिङ्गल–सातमुरे गुल्मी जोड्ने सडक, अमलावास, धजाबान्ने, तालपोखरा हुँदै अर्घाखाँची जोड्ने सडक र सुन्दरढुङ्गा, जुठा बल्ढेङ्गढी, सत्यवती हुँदै रुपन्देही जोड्ने सडकमा पिच कालोपत्रेको काम गर्दै आएको पालिका अध्यक्ष रूक्मागत भट्टराईले बताए । गाउँ गाउँमा जनता यात्रा गर्दा, सवारी साधन चलाउदा शहर बजारमा जस्तै सहज होस् भनेर नै पालिकाले गौरवका योजनाहरु नामाकरण गरेर काम सुरु गरेको अध्यक्ष भट्टराईले जनाए । सडब पिच भएपछि वडा वडाबाट जनताहरुको पालिकासम्म छिटो छरितो सहज रुपमा यात्रा गर्न पाउने उनले बताए ।
चालु आर्थिक बर्ष २०८-८१ को लागि कुल ४ करोड, २ लाख ७८ हजार ६ सय ६० रुपैयाँ ५० प्रतिशत संघीय समपुर बजेट र ५० प्रतिशत गाउँपालिकाको बजेटबाट कालोपत्रेको काम भईरहेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सीनाले जनाए । आगामी आर्थिक वर्षमा बाँकी काम धजाबान्नेबाट तानसिङ्गल खण्ड हुने प्रमुख प्रशासकीय अधिकृत तिमिल्सीनाले बताए ।
गत वर्ष सुन्दरढुङ्गा, जुठा बल्ढेङ्गढी, सत्यवती हँुदै रुपन्देही जोड्ने सडकको नेपानेसम्मको ३ किलोमिट क्षेत्रमा कालेपत्रे गरेको र हाल ३ हजार ३ सय मिटर क्षेत्रमा बाटो चौडाको काम भइरहेको इञ्जिनियर किशोर खनालले बताए । बाटो चौडाको लागि १ करोड ६० लाख रुपैयाँमा ठेक्का सम्झौता भई काम भईरहेको उनलेजानकारी दिए । गौरवको योजना अन्तरगत आगामी वर्षको पिचको लागि धजाबान्ने पेलावास सडक खण्डको १ हजार २ सय मिटर क्षेत्रमा ग्रावेल गरिएको छ । निर्माण व्यवसायीले सडक ग्रावेलको लागि ५९ लाख रुपैयाँ ठेक्का सम्झौता गरेको थियो ।
रैनादेवी छहरा गाउँपालिकाले वडा नंं. ८ को मेहलछेडा ज्यामिरे क्षेत्रमा १ हजार ५ सय मिटर सडक ढलान गरेको छ । चालु आर्थिक वर्षमै तानसिङ्गल, सोमादी र सिद्धेश्वर सडक खण्डको स्तरउन्नतिको काम भइरहेको छ । आगामी वर्षको बजेटमा पनि पालिकाले पूर्वाधार क्षेत्रमा ठूला ठूला योजनाहरु प्राथमिकता दिने जनाएको छ ।




