भैरहवा । सोमबार बिहान ९ बजेर २८ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणतर्फ विमान दुर्घटना भयो । भैरहवादेखि कुवेत उडान भरेको शिवम् ३४६ कल साइनको शिवम् एयरको ए ३२० एयरबस दुर्घटनामा परेपछि विमानस्थलमा आगोको मुस्लो देखियो, उडान भरेको जहाजको पंखामा चरा ठोकिएपछि इञ्जिनमा आगो लागेको थियो, उडेको केही बेरमै आगो देखिएपछि सकुशल अवतरण गर्ने प्रयास गर्दा समेत विमान दुर्घटनामा पर्यो । दनदनी आगोको मुस्लो निस्कियो, हेर्दाहेर्दै केहीको मृत्यु भएको र अन्य यात्रु घाइते भई छटपटिएका देखिन्थे । दुर्घटना लगत्तै वारुणयन्त्र आगो निभाउन दौडे, उद्धार टोली घाइतेको उद्धारमा लाग्यो । दृष्यमा वास्तवमै केही अप्रिय घटना भएको जस्तो देखिएपनि त्यो घटना वास्तविक भने थिएन । दुर्घटना हुँदा कसरी बच्ने र बचाउने भन्ने अभ्यासका लागि गरिएको पूर्ण आपतकालिन उद्वार अभ्यास हो । विमानस्थलको धावन मार्गको दक्षिणतर्फ रहेको क्राइसिस म्यानेजमेन्ट क्षेत्रमा चरा ठोक्किएर अनियन्त्रित बनेपछि चालकले आपतकालीन अवस्था घोषणा गरेरअवतरण गरेपछि विमानमा आगलागी भएको अवस्थाको कल्पनामा यस्तो पूर्ण आपतकालीन अभ्यास गरिएको थियो ।
विमानस्थलमा आइपर्ने आपतकालिन अवस्था र त्यसबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि कसरी सरोकारवालाहरुको भूमिका रहन्छ भन्ने पूर्ण अभ्यासका लागि सो कार्यक्रम आयोजना गरिएको हो । प्रत्येक दुई वर्षमा गरिने पूर्ण अभ्यास र हरेक वर्ष गरिने नियमित अभ्यासले विमानस्थलभित्र दुर्घटना भइहाले क्षति न्यूनीकरणमा सहयोग पुग्छ । दुर्घटनाको आभास गराउन परिसरमा रहेको पूरानोे विमान नजिकै डमी आगलागी गराइएको थियो । आगलागीपछि साइरन बजाउँदै दमकलहरू दौड्न थाले, विमानस्थलमै रहेको एम्बुलेन्स पनि हुइकिदै घटना स्थलतर्फ लाग्यो । विमानस्थलभित्र अप्रिय घटना घट्यो भन्दै एयरपोर्ट वरिपरिका मानिस आत्तिए । विमानस्थलभित्र अचानक धुवाँको मुस्लो निस्किएपछि अत्तालिएका विमानस्थलका छिमेकीलाई विमानस्थलमा आगलागी भएको भन्ने आभास भयो । केही बेरमा अवतरणको क्रममा बिमानस्थल दुर्घटना भएको खबर विमानस्थल प्रशासनले गर्यो । उता आगलागीलाई उद्दार तथा अग्नी निवारण शाखाको अग्निनियन्त्रक, नेपाली सेना, नेपाल प्रहरीले आगो नियन्त्रण गर्नमा लागे ।
दुर्घटनामा २५ जनाको ज्यान गयो भने १५ जना गम्भीर घाइते, २२ जना सामान्य घाइते र ३८ जना सामान्य अवस्थामा रहेकोलाई उद्वार गरियो । सिक्स्तिलाई तत्काल एम्बुलेन्सबाट युनिभर्सल मेडिकल कलेज, भिम अस्पताल र सिटी अस्पताल पु¥याइयो । यि सबै घटना भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नमूनाको रुपमा नै गरिएको थियो ।
अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन नेपाल नागरिक उड्यान प्राधिकरणको सिभिल एभिएशन रिक्वाएरमेन्ट र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल इर्मजेन्सी प्लानमा भएको व्यवस्थाअनुसार प्रत्येक दुई वर्षमा फुल स्केट इर्मजेन्सी एक्सरसाईज कार्यक्रमअन्तर्गत विपत पूर्ण तयारी अभ्यास गरिएको एयरपोर्ट अप्रेसन प्रमुख तथा कार्यदल संयोजक छविलाल खनालले जानकारी दिए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डअनुसार विमानस्थलमा फायर फाइटर, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली, एम्बुलेन्स तथा दमकल समेतको सहभागितामा फुल स्केलको आपतकालिन अभ्यास भएको छ । डमी जहाज नै राखेर सबै निकायबाट उक्त अभ्यास गरिएको हो । अभ्यासमा सबै निकायले के–कसरी आफ्नो भूमिकाको काम जिम्मेवारीका साथ गरिने अभ्यास पनि हो कार्यदल संयोजक खनालले जनाए ।
पूर्ण अभ्यासका लागि क्राइसिस क्षेत्रमा विमान अवतरण भएको कल्पना गरेर त्यहाँ रहेको पुरानो विमान नजिकै पानीमा आगो लगाइएको थियो । आगो लागेपछि विमानस्थलका आपतकालीन उद्धार बाहन दमकल, सिद्धार्थनगर नगरपालिकाको दमकलले आगो निभाएका थिए । विमानको आगो निभाए पछि यात्रुको उद्धार अभ्यास गरिएको थियो ।
विमानबाट निकालिएका यात्रुको घटनास्थलमा पुगेका चिकित्सक र स्वास्थ्यकर्मीले प्राथमिक उपचार गर्नुका साथै घाइतेको अवस्थाअनुसार वर्गीकरण गरेका थिए । घटनास्थलमा प्राथमिक उपचार गरेपछि घाइतेलाई एम्बुलेन्समा अस्पताल पठाइएको अभ्यास गरिएको थियो । विमानबाट निकालिएका यात्रुको घटनास्थलमा पुगेका चिकित्सक र स्वास्थ्यकर्मीले प्राथमिक उपचार गर्नुका साथै घाइतेको अवस्थाअनुसार वर्गीकरण गरेका थिए ।घटनास्थलमा प्राथमिक उपचार गरेपछि घाइतेलाई एम्बुलेन्समा अस्पताल पठाइएको अभ्यास गरिएको थियो । पूर्व अभ्यासमा आपतकालिन अवस्थामा उद्धारमा खटिने विमानस्थलको आपतकालिन उद्धार टोली, सुरक्षा युनिट, एयरपोर्ट व्यवस्थापनलगायत रुपन्देही जिल्लामा रहेका आपतकालिन समयमा भागलिने संस्थाहरु सिटीफायर, विभिन्न अस्पतालहरु, नेपाल रेडक्रस सोसाईटी, आपतकालिन स्वास्थ्य सेवा, तिनवटै सुरक्षा युनिटले आआफ्नो भूमिका प्रस्तुत गरेका थिए ।
विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले तीनवटा अलर्ट अवस्था सिर्जना गरेर यस्तो अभ्यास गरिएको बताए । उनका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलले प्रत्येक दुई वर्षमा ‘फुल स्केल’मा यस्तो अभ्यास गर्नुपर्छ । यसमा विमानस्थल र स्थानीय सम्पूर्ण सरोकारवालाको सहभागिता रहन्छ । महाप्रबन्धक तिवारीले छिटो उद्धार कार्य सकेर कम समयमा विमानस्थललाई कसरी सामान्य अवस्थामा फर्काउन सकिन्छ भन्नेबारे पनि अभ्यास गरिएको बताए । उद्धार तथा अग्नि निवारणको पहिलो उद्देश्य र प्राथमिकता नै पहिलो ज्यान बचाउने, धनजनको सुरक्षा र सेवा दिने भएकोले कसैको जीवन रक्षाका लागि सधैव तयारी अवस्थामै रहेर दुर्घटना न्यूनीकरणमा पहिलो भूमिका खेल्दै आएको स्पष्ट पारे ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डअनुसार गरिएको आपतकालिन अभ्यासमा विमानस्थलमा फायर फाइटर, नेपाली सेना, नेपाल प्रहरी, विमानस्थल सुरक्षा गार्ड, स्वास्थ्यकर्मी, एयरलाइन्सका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।




