कृष्ण पोखरेल
पाल्पा
यतीवेला संघीय कार्यालय, प्रदेश कार्यालय तथा स्थानीयतहका कर्मचारीहरुमा फुर्सद छैन, तर पाल्पाको बगनासकाली गाउँपालिका केन्द्र तथा वडा कार्यालयहरु भने यतिबेला सुनसान बनेका छन् । बगनासकाली गाउँपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरु नभएर सुनसान भने भएको होइन । स्थानीय सरकार सञ्चालन भएको ७ वर्षको अवधीमा गाउँपालिका जेठ महिनामा सुनसान भएको भने पहिलो पटक हो ।
बगनासकाली गाउँपालिकाले तर्जुमा गरेका आन्तरिक, प्रदेश तथा संघीय सरकारका साझेदारी योजनाको काम बैशाख १५ सम्म सक्काएर, जेठ १५ सम्म रकम प्राप्त भएका सबै भुक्तानी दिइसकेकोले पालिकामा यतिबेला कामविहीन भएको हो । योजनाका कामहरु सकिएकोले जनप्रतिनिधि, कर्मचारीहरु आगामी वर्षको वार्षिक बजेट, नीति, कार्यक्रम तथा योजना निर्माणमा जुटेका छन् । विषयगत शाखाका कर्मचारीहरु वार्षिक प्रतिवेदन निर्माणमा जुटेका छन् ।
गाउँपालिकाले ९ वटै वडाहरुमा एक वडा एक प्राविधिक परिचालन, वडा वडामै पुगेर योजनाहरु सम्झौता, वडाकै प्राविधिकहरुबाट योजनाहरुको अनुगमन मूल्याङ्कन जस्ता कामहरुले बैशाखभित्रै सबै योजनाहरुको काम सम्पन्न भएका हुन् । सम्पन्न योजनाहरुको सम्पूर्ण विवरण वडा कार्यालयबाटै तयार पारेर गाउँपालिकामा भुक्तानीको लागि मात्र पेश गर्ने व्यवस्था मिलाएकोले उपभोक्ताहरुलाई पालिकाबाट भुक्तानीको लागि सहज भएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा उपभोक्तासंग करीव ४ सय वटा योजना र ठेक्का पट्टाका १६ वटा योजना सञ्चालन गरेको जनाएको छ । उपभोक्तासंग सम्झौता भएको योजना चैत्र मसान्तभित्र सक्ने गरी सम्झौता गरिएको र र ठेक्का पट्टाकाका योजना बैशाख १५ भित्र सक्ने गरी सम्झौता भएकोले सोहीअनुसार निर्धारित सम्झौता मितिमा सबै काम सकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले बताए । अहिले हामीलाई कुनै योजना समय सम्पन्न भएन भनेर चिन्ता छैन, योजनाका सबै काम सम्पन्न भएका छन् । विकासलाई दिर्घकालीन बनाउन असारे विकास सबै पक्षबाट रोकिनु पर्ने प्रमुख प्रशासकीय अधिकृत लम्सालले जोड दिए ।
जनप्रतिनिधि र कर्मचारीको तालमेलसंगै समयावधी तोकेर काम गर्दा बगनासकाली गाउँपालिका जेठ १५ मा अधिकांश योजनाहरुको रकम भुक्तानी गर्ने देशभरीमा नमूना पालिका बनेको पालिका अध्यक्ष सरसस्वती चिदीले बताइन । गाउँपालिकाबाट असारे विकास रोकिएको छ, वर्षे भेलसंगै विकास बगाउने क्रम तोड्न सफल भएका छौँ, पालिकाको सुशासन तथा लिजा जस्ता मूल्याङ्कन प्रद्धतिमा पाल्पामै उत्कृष्ट भएको अध्यक्ष चिदीले जनाइन ।
पालिकाले वडा–वडाबाट केन्द्रसम्म जोड्ने मुख्य सडक, वडा कार्यालय पुग्ने सडक, स्वास्थ्य चौकी, विद्यालय पुग्ने मुख्य सडकहरु कालोपत्रे गर्ने, ग्रावेल गर्ने, सडक फराकिलो बनाउने, सडकको घुम्ती, मोडहरुमा ढलान गर्ने जस्ता कामहरुलाई प्राथमिकता दिएर काम गरेको पालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बताए ।
चालु आर्थिक वर्षमा गाउँपालिका भित्र ४ किलोमिटर सडक कालोपत्रे गरेको, ४ किलोमिटर ग्रामीण क्षेत्रका अफ्ठेरो सडकहरुमा ढलान गरेको, करीव ६ किलोमिटर पक्की नाली निर्माण गरेको इञ्जिनिय प्रमोद कुँवरले जानकारी दिए ।
पालिकाभित्रका योजनाहरुको सबै भुक्तानी उपभोक्ताहरुको खाता खातामा पुगिसकेको छ, प्रदेश र संघबाट आउने रकम समयमा नआएकोले केही योजनाको रकम मात्र उपभोक्तालाई दिन बाँकी रहेको लेखा प्रमुख कोशलप्रसाद पौडेलले बताए ।
गाउँपालिकाको केन्द्र, संगै वडा नंं. १, वडा नंं २, वडा नं ३ वडा नंं ७, र वडा नंं ९ गरी ५ वटा वडासम्म पक्की सडक पुगेको छ भने वडा नंं ४, वडा नंं ५, वडा नंं ६ र वडा नंं ८ केन्द्रसम्म जाने सडकको स्तरउन्नती गरी १२ महिना सहज यातायात सञ्चालन हुँदै आएको पालिकाका प्रवक्ता टिकाबहादुर थापाले बताए । पालिकाको सेवा प्रवाहलाई चुस्तदुस्त बनाउन, पालिकाभित्र सुशासन कायम राख्न पालिकाभित्र देखिएका कमिकमजोरीहरु, सुधार गर्नुपर्ने कुराहरु भेटेर, सामाजिक सञ्जाल तथा, पालिकाको वेभसाइटमा राख्न समेत प्रवक्ता थापाले अनुरोध गरे ।
बगनासकाली गाउँपालिकाले देशभरीमा चालु आर्थिक वर्षमा योजनाका कामहरु बैशाखभित्रै सक्काउने र जेठ १५ सम्म भुक्तानी गर्ने ७५३ पालिकामध्ये आफू पहिलोमा पर्ने दाबी गरेको छ । यसैगरी देशका सबै पालिकाहरुले काम गरेमा असारे विकास, वर्षाको भेलसंगै बगेर जाने क्रम रोकिने छ । प्रदेश तथा संघीय कार्यालयहरुले भने अझैँ पनि असारे विकासको लागि टेण्डर आव्हान गर्ने कागजी प्रगती देखाउन रकमान्तर गरेर मातहतका कार्यालयमा पठाउने क्रम तीव्ररुपमा चलेको छ । यस्तो अभियान लाई सरकारले समयै रोक्नु पर्दछ ।




