बुटवल । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट पुरातात्विक क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम तयारी भइरहेको छ । लुम्बिनी विकास कोषले मनोनयन दस्ताबेज तयार गरी पेस गरिसकेको छ ।
प्राचीन कपिलवस्तुलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न बुझाइएको उक्त मनोनयन दस्ताबेजका विषयमा स्थलगत अध्ययन गर्न युनेस्कोको टोली आगामी अगस्ट महिनामा नेपाल आउन लागेको हो । स्थलगत अध्ययन गरेपछि आगामी सेप्टेम्बर तथा नोभेम्बरसम्ममा प्राचीन कपिलवस्तु विश्वसम्पदा सूचीमा सूचीकृत भएको घोषणा हुने विश्वास गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।
कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्ताबेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भएको छ । प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोटलाई सरकार विश्व सम्पदामा सूचीकृत गर्न लामो समयदेखि प्रयास गरिरहेको छ । फ्रान्सका लागि नेपाली राजदुत एंव यूनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधिर भट्टराईले युनेस्को वल्र्ड हेरिटेज केन्द्रका निर्देशक महामहिम लाजारे इलोन्डोलाई औपचारिक रुपमा मनोनयन दस्ताबेज पेश गरेका थिए ।
नेपाल सरकारको आर्थिक वर्ष २०७९–२०८० तथा २०८०–२०८१ को नीति तथा कार्यक्रममा तिलौराकोट पुरातात्विक क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउने उल्लेख गरिएअनुसार मनोनयन दस्ताबेज तयार गरी पेस गरिएको थियो । फ्रान्सका लागि नेपाली राजदूत भट्टराईले गत वर्ष माघमा मनोनयन दस्ताबेज संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक केन्द्र (युनेस्को) को विश्वसम्पदा शाखाका प्रतिनिधिलाई बुझाएका थिए । फ्रान्सका लागि नेपाली राजदूतलाई युनेस्कोका निमित्त स्थायी प्रतिनिधिका रुपमा काम गर्ने जिम्मेवारी दिइएको हुन्छ ।
तिलौराकोटलाई सन् २०२५ भित्रै विश्वसम्पदा सूचीमा सुचिकृत गर्ने तयारीसहित कोषका तर्फबाट आवश्यक प्रक्रिया गरिएकाले सबैको सकरात्मक साथ र सहयोग हुने अपेक्षा कोषको छ । यूनेस्को जापानिज फण्ड इन ट्रष्ट परियोजनअन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघमको नेतृत्वमा सन् २०१४ देखि गरेको वैज्ञानिक पुरातात्विक उत्खनन्बाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाणहरु जुटाएको थियो ।तिलौराकोट कपिलवस्तुलाई सम्भावित विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी सरकारी तथा सरोकारवाला निकायहरुबाट चाहिने आवश्यक सहयोग साधन, श्रोतको सुनिश्चिता सरलता र मार्गनिर्देशका लागि निर्देशक समिति समेत समेत गठन गरिएको थियो । उक्त समितिको संयोजक लुम्बिनी विकास कोषका उपाध्यक्ष रहने व्यवस्था छ ।
विश्व सम्पदा समितिको ४५औं बैठकमा तिलौराकोट कपिलवस्तुसम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रम गरिएको थियो । अन्तिम मनोनयन दस्ताबेज विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा औपचारिक रुपमा पेश भएसँगै कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदा केन्द्रमा दर्ताका लागि विधिवत रुपमा प्रक्रिया अगाडि बढेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक राईले जानकारी दिए ।
सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि आवश्यक पर्ने प्रमाण र आधारहरु अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरुले रणनितिक दस्ताबेजमा सामेल गरिसकेका छन् । यूनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थल तिलौराकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा राखेको थियो ।




