प्रेम सुनार
गुल्मी
पहाडी जिल्लाका ताजा र पौष्टिक खानपिनको साटो शहरीया खानपानले मानिसहरुको स्वास्थ्यमा असर पर्दै गएकाले मौलिक र रैथाने खानपिनमा जोड दिन एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
धुर्कोट गाउँपालिकाले आयोजना गरेको पूर्णखोप, पूर्ण पोषणमैत्री पूर्णखोप, पूर्ण पोषणमैत्री तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका सुनिश्चिता घोषणा कार्यक्रमका वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् ।
गुल्मी जस्ता पाहडी जिल्लाका स्थानीय खानपिनका परिकारका प्रदर्शनी देख्दा काचै खाउँ जस्तो देखिन्छ । वन जंगलमा फल्ने गिठा, चिउरी, चौतारी, तिजुदेखि साग, सिस्नो, नास्पाती, काँक्रा, रुख कहटर, भुँई कटहर, आँप, आरु, आरु पखेडा, लोकल केरा, खनियाँका दाना, बिडुँला शहरमा अम्बा भनिने बेलौतीलगायत घर–घरमा फल्ने विभिन्न प्रकारका फलफूल, पोषणयुक्त ताजा सागपात पाइन्छन् । तर शहरीया खानपानले स्वास्थ्यमा समेत हानी गरेको बताउँदै कार्यक्रममा बोल्ने वक्ताहरुले रैथाने खानपानमा जोड दिनुपर्ने बताएका हुन् ।
धुर्कोट गाउँपालिकाले गत वर्ष पूर्णखोप, पूर्णपोषण मैत्री तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका घोषणा गरेको थियो । त्यसको दिगोपनाका लागि उसले आइतबार भब्य समारोहका बीच त्यसको सुनिश्चितता घोषणा कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमको जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खात्रीले उद्घाटन गरेका हुन् । पछिल्लो चरण सबैभन्दा पौष्टिक आहरा मकैको आटो पिठो भैँसीलाई खुवाउने र शहर बजारतिर बेच्ने, तर स्वयम् उत्पादन गर्ने मानिसले नखाने जसका कारण स्वास्थ्य विरोधी कार्य भइरहेको भन्दै स्वास्थ्यका लागि गाउँकै उत्पादनमा जोड दिनु पर्नेमा खत्रीको जोड थियो ।
स्वास्थ्य क्षेत्रको दिगोपनाका लागि महिला स्वयम्सेवीकादेखि स्वास्थ्य शाखा र वडास्तरसम्मका स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाप्रति त्यस पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेमलाल खनालले धन्यवाद दिएका थिए । घोषणाले मात्रै होइन, दिगोपनाका गत वर्ष घोषित कार्यक्रमलाई बर्सेनी सुनिश्चितता घोषणा गर्न लागिएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, उपाध्यक्ष सीता गिरी र प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीको भनाइ थियो ।
स्वास्थ्यका लागि पौष्टिक खानपिन जति आवश्यक छ त्यति नै खुशी रहनु, हाँस्नु र मनोरञ्जन लिनु आवश्यक छ, प्रमुख अतिथि खत्रीले भने झैँ छात्रछात्राहरुले नृत्य प्रस्तुत गरेर मनोरञ्जन पनि दिएका थिए ।
त्यस्तै त्यस पालिकाले गत १० दिनदेखि वडा नम्बर ७ वाग्लाका महिलाहरुलाई दिएको पञ्चेबाजा तालिम महिलाहरुले केहिबेर बाजा बजाएर सहभागीहरुलाई नचाएका थिए । समृद्ध धुर्कोट, हाम्रो शान भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा जिल्ला जनस्वास्थ्य प्रमुख पुष्पा थापा विभिन्न वडाध्यक्षलगायतले मन्तब्य राखेका थिए । त्यस पालिका अध्यक्ष पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गिरीको स्वागत मन्तब्य र स्वास्थ्य शाखा प्रमुख खनालको सञ्चालन रहेको थियो ।




