चर्को गर्मी छल्न पौडी खेल्न तिनाउ नदीमा जाने युवाले ज्यान गुमाइरहेका छन् ।
बुटवल । तिनाउ नदीमा पौडी खेल्न जाने युवाहरुले दिनहुँजसो ज्यान गुमाउन थालेका छन् । उखरमाउलो गर्मी छल्न पौडी खेल्न खोज्दा ज्यान गएको हो । तिनाउको पानीको सतह र भौगोलिक अवस्थाबारे जानकार नहुने र पौडी खेल्न नजान्नेहरुले ज्यान गुमाएका हुन् ।
केही दिन यता तीन भारतीय युवाले ज्यान गुमाए । दुई साता अघि रुपन्देहीको मणिग्रामका एक किशोरले ज्यान गुमाएका थिए ।
सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा मन्दिर नजिकै तिनाउ जलविद्युत् आयोजनाको ड्याम साइट छ । बुटवलबाट ६ किलोमिटर टाढा पर्ने ड्याम साइटमा गर्मीमा घुम्न जानेहरु पौडी खेल्छन् । ड्याम साइटमा धेरैजसोले ज्यान गुमाएका छन् । गत वर्ष ड्याम साइटसहित तिनाउका विभिन्न ठाउँमा पौडी खेल्दा ११ जनाले ज्यान गुमाएका थिए ।
तराईमा चर्को गमीले सीमावर्ती भारतीय शहरका बासिन्दा पहाडतिर उक्लन थालेका छन् । भारतको सुनौली, नौतनहवा, गोरखपुरबाट दैनिक रूपमा सयौं युवायुवतीहरु समूहगत रुपमा तिनाउ नदीमा पौडी खेल्न आइरहेका छन् । खोलाको खोँचका रह र पोखरीको गहिराइ आंकलन नगरी पौडी खेल्दा हरेक वर्ष दुर्घटना भइरहेको नेपाल रेडक्रस सोसाइटी दोभानका सन्तोष सेरचनले जानकारी दिए ।
दोभान प्रहरी चौकीका प्रमुख सई जनक बुढाले दिएको जानकारी अनुसार भारतबाट आएका अधिकांश युवायुवतीहरु पौडिन जानेका हुँदैनन् रमाइलो र चिसोका लागि पौडी खेल्दैगर्दा उनीहरु दुर्घटनामा पर्छन् । ‘पानीको गहिराई आकलन नगर्ने र सावधानी नअपनाउँदा यस्तो दुर्घटना भइरहेको छ ।’-उनले भने ।
प्रहरीले तिनाउमा रहेको लामीदमार ड्याम साइड, रिभर साइडलगायतका पौडी स्थानहरुमा खतराको बोर्ड लगाएको छ । सुरक्षाको लागि तारजाली पनि लगाइएको छ । सर्वसाधारणले सावधानी नपनाउने र प्रहरीले सधैंभरी नियमित ड्युटी दिन नसक्दा दुर्घटना भइरहेको छ । पौडी खेल्न आउनेहरुले प्रहरीले लगाएको तारजाली फालेर खोलामा पस्न थालेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार सोमबार भारत महाराजगञ्ज बोधहनिथाना बसहियाका २३ वर्षीय मुकुन्द शर्माको डुबेर मृत्यु भयो । साथीहरूसँग घुम्न आएका शर्मा सोमबार साँझ पौडी खेल्न भन्दै तीन जना साथीसहित पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्साको लामेदमारस्थित तिनाउ खोलामा पुगेका थिए । प्रहरीका अनुसार साँझ ६ बजेतिर पौडी खल््दै गरेका शर्मा अचानक खोलाको रहमा डुबेका थिए ।
खोलामा डुबेका शर्मासँगै गएका साथीहरुले तत्काल उद्धार गरी उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगेकोमा डाक्टरहरुले मृत घोषणा गरे ।
यसअघि आइतबार गोरखपुर थाना सैजन्वा रंगौलीग्रामका १५ वर्षीय आर्यन कुमारको तिनाउ ३ स्थित बुटवल पावर कम्पनीको ड्याममा डुबेर मृत्यु भएको थियो । शनिबार तिनाउ–३ कै झुम्सास्थित तिनाउ खोलामा डुबेर भारत कानपुरका ३५ वर्षीय फहिम अहमदको मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठका अनुसार हरेक वर्ष पाँच-छ जना युवा यसैगरी डुब्न थालेपछि भुतखोलामा जान गत वर्षदेखि बन्द गरिएको छ । तिनाउ खोलामा रोक्न समस्या छ । सुुरक्षात्मक उपाय अवलम्बन गरिए पनि सर्वसाधारणले बेवास्ता गर्दा समस्या भएको हो ।
पर्यटकीय स्थलको रुपमा विकास गरिरहेका खोला, पोखरी, झरना र तालहरूलाई सुरक्षित बनाउनेतर्फ अझै बढी ध्यान दिनुपर्छ ।’-उनले भने । अध्यक्ष श्रेष्ठले ठाउँठाउँमा बोर्ड पनि राख्न लगाएको बताए । उनका अनुसारयसको व्यवस्थापन स्थानीय सामुदायिक वनले गरेको छ । तर, केही व्यक्ति धेरै मदिरा सेवन गरेर, लागूऔषध प्रयोग गरेर आएकाले सुरक्षाको समस्या बढेको छ । बुटवल पावर कम्पनीको ड्याम साइड करिब ३५ देखि ४० फिट गहिरो भए पनि अहिले भने यो पुरिँदै गएको छ । यहाँ गहिरोभन्दा पनि ड्याममुनि पानीले खोतलेर बनाएको कोप्चेरा र रडहरुमा ठोक्किएर मानिसको मृत्यु हुने गरेको स्थानीयको भनाइ छ ।
राम्ररी पौडी खेल्न नजानेहरु टाउकोमा चोट लागेर बेहोस हुने र निस्सासिएर मृत्यु हुने गरेको छ । तिनाउ सामुदायिक वन समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङले जोखिम न्यूनीकरणका लागि सबै मिलेर लाग्नु पर्ने बताए ।
यहाँको भूतखोला, लामीदमार, ड्यामसाइड, रिभर साइडलगायतका क्षेत्रमा पौडिनेहरु बढी जोखिममा परेका छन् ।




