कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ४ ले सामाजिक सुरक्षा भत्ता खाने एकल महिला, जेष्ठ नागरिक तथा अपाङ्गता भएका वडावासीहरुलाई सामाजिक सुरक्षा भत्ताको सुविधा लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य आवश्यक पर्नेबारे अभिमुखीकरण कार्यक्रम गरेको छ ।नेपाल सरकारले सामाजिक सुरक्षा भत्ताको सुविधा लिने सबैलाई राष्ट्रिय परिचयपत्र अनिवार्य लागु गरेपछि वडाका एकल महिला, जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकहरुलाई सहजीकरण गर्न टोल टोलमा गएर राष्ट्रिय परिचयपत्रबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।
अभिमुखीकरण कार्यक्रममा वडाध्यक्ष केशरबहादुर खत्रीले आगामी वर्षदेखि सामाजिक सुरक्षा भत्ताका लागि नविकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य हुने र यदि राष्ट्रिय परिचयपत्र नबनाएको भए बनाउनु पर्ने उल्लेख गरे । अब सरकारले उपलब्ध गराउने हरेक सेवा सुविधाका लागि सरकारले बिस्तारै राष्ट्रिय परिचयपत्रलाई अनिवार्यता गर्दै गइरहेको समेत वडा अध्यक्ष खत्रीले जनाए ।यसैगरी वडा सचिव चक्रपाणी पौडेलले आगामी वर्ष सामाजिक सुरक्षा भत्ता खानका लागि सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्दा राष्ट्यि परिचय पत्र समेत संलग्न गर्नुपर्ने भएकोले सबैले राष्ट्रिय परिचय पत्र बनाउन आग्रह गरे ।
यसभन्दा अघि वडा वडामा बनाएको राष्ट्रिय परिचय पत्र दर्ता भएको वा नभएको भन्नेबारे सुनिश्चितता गर्न समेत वडा सचिव पौडेलले आग्रह गरे । अबदेखि राष्ट्रिय परिचयपत्र बिना सरकारले उपलब्ध गराउने कुनै पनि सेवा सुविधा लिन र दिन समेत नपाइने कुरा नेपाल सरकारले नै आधिकारिक सूचना गरेको हुँदा वडावासीको सहजताका लागि टोल टोलमा अभिमुखीकरण कार्यक्रम गरिएको वडा सचिव पौडेलले बताए ।बिहीबार भएको अभिमुखीकरण कार्यक्रममा सामाजिक सुरक्षा भत्ता सुविधा लिने वडाका ४० जनाको राष्ट्रिय परिचयपत्रसम्बन्धी समस्या समाधान गरिएको कञ्चन गाउँपालिकाका पञ्जिकरण शाखाका सुरेन्द्र पोख्रेलले जानकारी दिए ।
कार्यक्रममा कार्यपालिका सदस्य सुशिला थापा, वडा सदस्यहरु, वडा सचिव चक्रपाणी पौडेल, पञ्जिकरण शाखाका सुरेन्द्र पाख्रेल, सूचना प्रवृधि अधिकृत अनिल काउचा, टोल विकास संस्थाका अध्यक्षलगायतले यसभन्दा अघि राष्ट्रिय परिचयपत्र बनाएका तर राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त नगरेका वडाका एकल महिला, जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुलाई राष्ट्रिय परिचयपत्र नम्बर यकिन गर्न सहजीकरण गरेका थिए ।




