२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

धेरै क्षतिको आँकलन, कस्तो छ पूर्वतयारी ?

धेरै क्षतिको आँकलन, कस्तो छ पूर्वतयारी ?

धेरै क्षतिको आँकलन, कस्तो छ पूर्वतयारी ?

धेरै क्षतिको आँकलन, कस्तो छ पूर्वतयारी ?

धेरै क्षतिको आँकलन, कस्तो छ पूर्वतयारी ?
मंगलवार, आषाढ ५ २०८१
मंगलवार, आषाढ ५ २०८१
  • मनसुन
    औसतभन्दा धेरै पानी पर्ने अनुमान गरिएको यस वर्षको मनसुनमा लुम्बिनी प्रदेशसँगै कोशी प्रदेशको पहाडी क्षेत्र संवेदनशील मानिएको छ । तर विज्ञ भने विपद्सँग जुध्नसक्ने पूर्वतयारी नरहेको भन्दै चिन्ता व्यक्त गर्छन् । 
    लुम्बिनी संवाददता
    बुटवल
    पूर्वी नेपालबाट जेठ २८ मा यस वर्षको मनसुन भित्रिएको छ । मनसुन भित्रिएसँगै जनधनको क्षति हुन थालेको छ । मनसुनजन्य विपद्बाट पूर्वी पहाडमा पाँच जनाको ज्यान गइसकेको छ । बाढीपहिरोले भौतिक संरचना भत्किएका छन् । ताप्लेजुङ र संखुवासभामा कैयौं परिवार विस्थापन भइसकेका छन् । 


    जल तथा मौसम विज्ञान विभागले पनि मनसुन अवधिमा जेठ १९ गतेदेखि असोज १४ गतेसम्मको जलवायुको आँकलन गरी देशका अधिकांश भू–भागमा सरदरभन्दा अधिक वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको जनाएको छ । यस वर्ष औसतभन्दा अधिक पानी पर्ने अनुमान गरिएकाले पहिरोको जोखिम पनि अधिक भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका हाइड्रोलोजिस्ट राजेन्द्र शर्मा बताउँछन् । प्राधिकरणले गरेको अध्ययनमा पनि यस वर्षको मनसुनमा कर्णाली र कोशी प्रदेशका पहाडी क्षेत्रमा पहिरो जाने सम्भावना अधिक रहेको देखिएको छ । “जाजरकोट र रुकुमका सबै पालिकामा स्थलगत अध्ययन गरेका थियौं । अन्य पालिकामा पनि गरिएको अध्ययनका आधारमा सतर्कता सूची तयार पारेका छौं,” हाइड्रोलोजिस्ट शर्मा भन्छन्–“कर्णाली र कोशीमा बढी संवेदशील हुनुपर्ने देखिन्छ भने सतर्क त देशैभरि हुनुपर्ने देखिन्छ ।”
    यस वर्षको मनसुन भित्रिएसँगै पाँच जनाको ज्यान गइसकेकाले मनसुनजन्य विपद्को सामना गर्न सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।


    यस वर्षको मनसुनमा कर्णाली र कोशी प्रदेशका पहाडमा पहिरो जाने सम्भावना अधिक रहेको प्राधिकरणले जनाएको छ ।
    प्राधिकरणले ३४ पालिकाको स्थलगत अध्ययन गरेको थियो । त्यसका आधारमा ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१’ तयार गरिएको छ । यसमा गत वर्ष जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएको ६.४ म्याग्निच्यूडको भूकम्पले जाजरकोट र रुकुम आसपासका पहाड कमजोर बनेको उल्लेख गर्दै ती क्षेत्रमा मनसुनी वर्षाले अधिक क्षति पु¥याउने आँकलन गरिएको छ ।


    त्यस्तै, प्राधिकरणले विपद् प्रभावित दोलखा, ओखलढुंगा, म्याग्दी, रसुवा, सिन्धुपाल्चोक, धादिङ, डडेल्धुरा तथा ताप्लेजुङका १४ ठाउँमा स्थलगत भौगर्भिक अध्ययन पनि गरेको थियो । “भूकम्प प्रभावित पहाडी क्षेत्रका ३०० भन्दा बढी चिराको अध्ययन गर्दा मनसुनमा पहिरोले जनधनको क्षति गर्न सक्ने देखिएको छ ।”– प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल भन्छन् ।
    त्यस बाहेक कोशी प्रदेशका पहाडी क्षेत्रमा अघिल्ला वर्षका भूकम्प तथा जथाभावी खनिएका बाटा तथा भौतिक पूर्वाधारले पहिरो जाने जोखिम बढेको पोखरेलको भनाइ छ । मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा पनि यस वर्ष मनसुनजन्य विपद्बाट १८ लाख मानिस प्रभावित हुन सक्ने आँकलन गरिएको छ ।


    अझ कर्णाली प्रदेशमा मात्रै पाँच हजार परिवार पहिरोको जोखिममा रहेको कार्ययोजनामा उल्लेख छ । प्रभावितमध्ये दुई हजार ५०० जतिलाई यथाशीघ्र राहत दिनुपर्ने तथा उद्धार गर्नुपर्ने हुन सक्ने अनुमान प्राधिकरणको छ । मनसुनमा तराईमा डुबान र मध्यपहाडी क्षेत्रमा बाढी र पहिरोको जोखिम देखिएको छ ।


    त्यस्तै, देशभर मनसुनजन्य विपद्बाट चार लाख १२ हजार घरधुरीलाई प्रभाव पर्ने आँकलन गरिएको छ । तीमध्ये ८३ हजार घरधुरीलाई प्रत्यक्ष असर पर्ने देखिएको पोखरेलको भनाइ छ । तत्कालका लागि २० प्रतिशत अर्थात् १६ हजार घरधुरीलाई खाद्यान्नलगायत मानवीय सहायता आवश्यक पर्ने आँकलन छ ।


    विगतमा पनि मनसुनजन्य विपद्बाट नेपाल प्रभावित हुँदै आएको छ । बितेको दशकको तथ्यांक हेर्दा २०७१ बैशाखदेखि २०८० चैतसम्म एक हजार ६०२ वटा बाढी, दुई हजार ८४० वटा पहिरो र एक हजार ५९७ वटा अत्यधिक वर्षाका घटना भएका थिए । यसबाट दुई हजार ५२ जनाको ज्यान गएको छ भने ७९१ जना हराएका छन् । त्यस्तै, चार हजार १०६ जना घाइते भएका थिए । यस अवधिमा १६ हजार ५४ वटा घरटहरामा पूर्ण क्षति भएको छ । त्यस्तै, ४६ हजार ६९ वटा घरटहरामा आंशिक क्षति पुगेको प्राधिकरणको तथ्यांक छ । एक दशकको मनसुन अवधिमा राज्यले करीब १६ अर्ब ३३ करोड रुपैयाँ बराबरको क्षति बेहोरेको छ

    ।
    पछिल्लो समय आर्थिक रूपमा धेरै क्षति गराएको २०७८ सालको मनसुनले हो । त्यति बेला ५२ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । त्यस वर्ष मेलम्ची खानेपानी आयोजनाले मात्र पौने दुई अर्ब रुपैयाँ बराबरको क्षति बेहोरेको थियो ।


    गत वर्षको मनसुनमा पनि आकस्मिक बाढीका कारण कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ र पाँचथरमा २७ वटा सानाठूला जलविद्युत् आयोजना, २६ झोलुंगे पुल र १५ पक्की पुलमा क्षति भएको थियो । मनसुन अवधिभर बाढीका १४२ घटना भएका थिए । जसमा १६ जनाको ज्यान गएको थियो भने २१ जना हराएका थिए ।

    यस्तै, तीन हजार ७२६ परिवार विस्थापन भएका थिए । देशका ७२ जिल्लामा कुनै न कुनै रूपमा सानोठूलो पहिरोको प्रभाव परेको देखिन्छ । जसमध्ये बाग्लुङ, संखुवासभा, पाल्पा, रोल्पा, ताप्लेजुङ, कास्की, म्याग्दी र नुवाकोट पहिरोले बढी असर परेका जिल्ला हुन् । २०७२ सालको गोरखा भूकम्पबाट सबैभन्दा बढी प्रभावित १४ जिल्लामा पहिरो जाने दर उच्च छ । गत वर्षको जाजरकोट भूकम्प र यसअघि गएको बझाङ र डोटीको भूकम्पले आसपासका क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने कार्ययोजनामा उल्लेख छ ।


    विपद्का समयमा उद्धार तथा राहतका लागि सामग्रीको जोहो गरिएको प्राधिकरणका कार्यकारी निर्देशक पोखरेल बताउँछन् । सजिलोका लागि देशैभरिको उद्धार सामग्रीको सूची केन्द्रीय सूची प्रणालीमा प्रविष्टि गरिएको छ ।
    उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी बाहेक एक लाख स्वयंसेवक पनि उद्धार समिति मार्फत तयारी अवस्थामा राखिएका छन् । विपद्का लागि आर्थिक जोहो पनि गरिएको उनी बताउँछन् ।


    “आपत्कालीन प्रतिकार्य कोषमा झन्डै ६ अर्ब सञ्चित रहेकाले उद्धारमा आर्थिक स्रोतको अभाव हुनेछैन,” पोखरेल भन्छन्–“यस पटक स्थानीय सरकारसँगको समन्वयमा जनशक्ति परिचालन हुने संयन्त्र बनाइएकाले तत्काल निर्णय गरेर काम हुनेछ । जसबाट उद्धार विगतभन्दा द्रुत हुनेछ ।” 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij