२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

सम्भावनाको खानी हो गुल्मी

सम्भावनाको खानी हो गुल्मी

सम्भावनाको खानी हो गुल्मी

सम्भावनाको खानी हो गुल्मी

सम्भावनाको खानी हो गुल्मी
बुधवार, आषाढ ६ २०८१
बुधवार, आषाढ ६ २०८१
  • प्राचीन कालदेखि नै चारधाममध्ये एकधाम रूरू क्षेत्र, पौराणिक, ऐतिहासिक गाथा बोकी जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि रेसुङ्गासहित यहाँका धार्मिक र सांस्कृतिक स्थलमा पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना छ ।

    प्रेम सुनार
    गुल्मी
    संस्कृत भाषामा सैनिक वा पल्टन भएको ठाउँलाई गुल्म भनिन्छ । सामाजिक र आर्थिक महत्व बोकेको हालको गुल्मीमा लिच्छविकालीन र मध्यकालमा सैनिक छाउनी भएकोले हालको गुल्मीको नामाकरण ‘गुल्मी’ हुन गएको विद्धानहरू बताउँछन् । 
    लिच्छवि कालमा यो ठाउँ गढी गुल्म गण्डकी नदीको छेउको छाउनी भनिन्थ्यो । यहाँ गुल्मी चारपाला भन्ने ठाउँ पनि छ । जसलाई गुल्मीकोट पनि भनिन्थ्यो । यसैका आधारमा यस जिल्लाको नाम गुल्मी रहेको हो भन्ने भनाइ पनि छ ।


    लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये एक पहाडी जिल्ला गुल्मी हो । यस जिल्लाको पूर्व–पश्चिम सरदर लम्बाई ४० कि.मि. र उत्तर दक्षिण सरदर लम्बाई ३० कि.मि. रहेको छ । राजनैतिक रूपमा २ निर्वाचन क्षेत्रमा विभाजन भएको छ । देशको प्रमुख व्यापारी केन्द्र तथा ५ नम्बर प्रदेश राजधानी बुटवलबाट १ सय १७ किमी दूरीमा गुल्मी जिल्ला रहेको छ । विकासका पूर्वाधार यातायात, बिजुली, सञ्चार सेवा उपलब्ध यस जिल्लाका सबै स्थानीय तहहरूमा मोटरबाटो पुगेको छ । पछिल्लो समय जिल्लाका १ दर्जनबढी ग्रामीण क्षेत्रमा जाने मोटरबाटोहरू कालोपत्रे अवस्थामा छन् । जिल्लाको सदरमुकाम रेसुङ्गामा विमानस्थल बनेको छ । प्राचीन कालदेखि नै चारधाममध्ये एकधाम रूरू क्षेत्र, पौराणिक, ऐतिहासिक गाथा बोकी जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि रेसुङ्गा क्षेत्र यसैगरी धार्मिक, ऐतिहासिक महत्व बोकेका रुद्रवेणी, कुर्घा मालिका, श्रृंगाको श्रृंगेश्वर मन्दिर, लिच्छविकालीन चारपालाको शिवालय, शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोटहरू गुल्मी चारपाला दरबार, मुसिकोट, चन्द्रकोट, इस्माकोट, धुर्कोट यहाँका प्रमुख धार्मिक, आर्थिक र पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरू हुन् । जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेका मदाने लेक, टिमुरे लेक, दिब्रुङ्गदह, थाप्ले, कङ्के देउराली, सत्यवती, शालिमेदह, प्रकृतिको अनुपम संरचना विचित्र गुफा, सिदेश्वर गुफा, अचमेश्वर गुफाहरू पनि पर्यटकीय क्षेत्रहरू हुन् ।


    पर्यटकीय स्थल, जलश्रोतको मुहान, तीर्थस्थलको रूपमा परिचित जिल्लाकै धरोहर सदरमुकामको शिरमा रहेको रेसुङ्गा क्षेत्र पौराणिक कालका ऋषि ऋष्य श्रीङ्गय तपोभूमि हो । यस क्षेत्रमा हालैको एक संस्थाको अध्ययनबाट लोपोन्मुख २ जातिको गिद्ध पाइएको छ । यस जैविक विविधताले सम्पन्न रेसुङ्गा पहाडमा प्रकृतिमा आधारित पर्यटनको विकास गर्न सकेमा गुल्मीको आर्थिक विकास सजिलै हुने देखिन्छ ।


    ऐतिहासिक तपोभूमिका रुपमा परिचित गुल्मी जिल्लास्थित रेसुङ्गा यहाँको आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्ने देखिएको छ । गुल्मी जिल्लाको सदरमुकाम तम्घासको शिरमा अवस्थित यो स्थल सदरमुकाम र आसपासको खानेपानीको मुख्य स्रोत हो भने ३१ प्रजातिका जडीबुटी, विशेष प्रकारका ३० थरी रुख तथा वनस्पति, १५ प्रकारका वन्यजन्तु, ४० प्रकारका पक्षी बसोबास गर्ने विविधतायुक्त स्थल हो । विभिन्न जात जातिहरूको समिश्रण रहेको यस जिल्लामा जनजातिहरूको आफ्नै कला, संस्कृति, भेषभूषा रहेका छन् ।


    गुल्मी जिल्ला पहाडी जिल्ला भएकाले यहाँ व्यावसायिक खेती र पशुपालनको पनि उत्तिकै सम्भावना रहेको छ । नेपालमा पहिलो पटक कफी खेतीको सुरुवात गर्ने इतिहास बोकेको गुल्मी जिल्ला विदेशमा सबैभन्दा बढी अर्गानिक कफी निर्यात गर्ने मध्येको जिल्ला पनि हो । त्यस्तै जिल्लाका विभिन्न भागमा तरकारी खेती, अदुवा खेती, सुन्तला खेती, उखु खेती, च्याउ खेतीको लागि उपयुक्त जलवायु र स्थानहरू रहेका छन् ।कफीको जिल्ला भनेर चिनिएको गुल्मीमा केही वर्ष अगाडि रूरूको भण्डारी डाँडामा नेपालमै पहिलो कफी अनुसन्धान केन्द्रको स्थापना समेत गरिएको छ । हाल यहाँ विभिन्न प्रकारका कफीका जातहरूको परीक्षण गर्ने काम भैरहेको छ ।


    यहाँ उत्पादन भएको कफीको नेपालभन्दा बढी विदेशमा राम्रो बजार ओगटेको छ । जापान, कोरिया, अष्ट्रेलिया, युरोप, थाइल्याण्ड र अमेरिकालगायतमा मुलुकमा गुल्मीमा उत्पादन भएको कफीको ब्राण्ड नै छुट्टै रहेको छ । साथै जैविक विविधताले भरिपूर्ण पहाडी क्षेत्र भएकाले मौरी पालन व्यवसायको राम्रो सम्भावना रहेको छ ।ठूलो व्यापारिक केन्द्र बुटवलबाट ११७ कि.मि. मात्र टाढा रहेकाले यहाँ उत्पादित वस्तुहरू निर्यात गर्न कुनै समस्या छैन । हाल यस जिल्लाबाट बाहिर बिक्री वितरण भएका प्रमुख कृषि उत्पादनमा कफी, टमाटर, खुर्सानी, अदुवा, उखु खुदो, मकै बिउ, पशुपालन उत्पादनमा दूध, पाल्पा, बुटवल र पोखरा निर्यात हुँदै आएका छन् । जिल्लामा पछिल्लो समय व्यवसायिक कृषि र पशुपालन गर्ने किसानहरूको संख्या निकै धेरै रहेको छ ।


    एकल र सामुदायिक गरी थुप्रै कृषि र पशुपालन फार्महरू सञ्चालनमा रहेका छन् भने विभिन्न सरकारी निकाय र गैरसरकारी संघसंस्थाहरूले कृषकहरूलाई प्रोत्साहन गर्दै आएका छन् । गुल्मी जिल्ला व्यवसायिक कफी, उखु, तरकारी खेतीमा फड्को मारिसकेको छ भने मौरीपालन र पशुपालनमा पनि गुल्मी जिल्ला धेरै अगाडि बढिरहेको छ । यहाँ पछिल्लो समय व्यवसायिक कृषि र पशुपालन तथा मौरीपालन गरिंदै आएको छ ।

    प्राचीन कालदेखि नै प्रसिद्ध नेपालको चारधाममध्ये एकधाम रूरू क्षेत्र हो । पौराणिक, ऐतिहासिक गाथा बोकी जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि रेसुङ्गा क्षेत्र यसै गरी धार्मिक ऐतिहासिक महत्व बोकेका रुद्रवेणी, कुर्घा मालिका, श्रृंगाको श्रृंगेश्वर मन्दिर, परमानन्द नगर चोरकाटेको परमानन्द शान्ति आश्रम, जोहाङ ढावको सर्वेश्वर शिव मन्दिर, रुपाकोटको सिद्धस्थान, दिवुङ्गको आश्रम, लिच्छविकालीन चारपालाको शिवालय, शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोटहरू गुल्मी चारपाला दरबार, मुसिकोट, चन्द्रकोट, इस्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेका मदाने लेक, टिमुरे लेक, दिब्रुङ दह, थाप्ले, कङ्के देउराली, सत्यवती, शालिमेदह, प्रकृतिको अनुपम संरचना विचित्र गुफा, सिदेश्वर गुफा आदि यसै जिल्लामा रहेका छन् ।माघे संक्रान्तिमा रिडीमा नेपालकै सबैभन्दा ठूलो मेला लाग्ने गर्दछ भने रुद्रबेनीलगायतका ठाउँहरूमा गण्डकी नुहाउनेको भिड लाग्ने गर्दछ । त्यसैगरी यहाँका मन्दिरहरूमा शिवरात्रि, बैशाख संक्रान्ति, जनैपूर्णिमा, श्रीकृष्णजन्माष्टमी, रामनवमी, विजयादशमीलगायत पर्वहरूमा भक्तजनहरूको भीड लाग्ने गर्दछ ।


    यहाँ धेरैजसो मठ मन्दिरहरूमा प्रत्येक वर्ष साउन महिनाभर लघुरुद्राभिषेक र विभिन्न धार्मिक कार्यक्रम सञ्चालन हुन्छन् । रेसुङ्गा आसपास क्षेत्रका सिद्धस्थान, विष्णुपादुका, यज्ञशाला, महापोखरी, फूलबारी, सानो रेसुङ्गा, साउने, मैरा, कान्छा प्रभुको तपस्यास्थल, गौशालाजस्ता अत्यन्त दर्शनीयस्थल रहेका छन् । यी स्थलको प्रचारप्रसारका साथै आवश्यक पूर्वाधार विकास गर्नसके मात्र पनि समग्र जिल्लाकै आर्थिक समृद्धिमा यी स्थानले विशिष्ट योगदान गर्न सक्छन् ।


    जिल्लामा रहेका प्राकृतिक स्रोत, साधनहरूको पहिचान, कृषि, पर्यटन पशुपालन, उद्योग व्यवसाय, कलकारखानाको उपयोग गर्दै जिल्लाको आर्थिक समृद्धिमा लैजान सकिने देखिन्छ । स्थानीय तहहरूले कृषि, पशुपालन, शिक्षा, पर्यटन, उद्योग कलकारखानाहरूलाई महत्वपूर्ण आर्थिक विकाससँग हेरेका छन् । यस्तै, प्राकृतिक साधनहरूको पहिचान गर्नेलगायतका कामहरू पनि प्राथमिकताका साथ अगाडि बढिरहेका छन् । आर्थिक समृद्धिका लागि कस्ता खालका योजना र खाका तयार पार्नुपर्छ भन्ने पनि स्थानीय तहको ध्यान पुगेको छ । आर्थिक विकास र समृद्धिको प्रमुख आधार तुलनात्मक लाभका दृष्टिले पर्यटन नै हो ।


    आर्थिक विकासका लागि कृषिलाई व्यवसायिक बनाएर उत्पादन वृद्धि गरेर बजार व्यवस्थापन गर्न सकेमा पनि गुल्मीको आर्थिक विकासमा ठूलो टेवा पुग्ने छ । संघीय संरचनामा गएपछि एकाएक जिल्लालाई मात्र नभएर देशलाई नै ठूलो आर्थिक भार थपिएको छ ।


    त्यो पूरा गर्न करमा लगाउने परम्परा कायम राखियो र उत्पादन, पर्यटन तथा अन्य आन्तरिक आम्दानीमा ध्यान दिइएन भने जनतामा संघीयताविरुद्ध नै नैराश्यता उत्पन्न हुने ठूलो सम्भावना छ । त्यसर्थ आर्थिक भार पूरा गर्नका लागि कर मात्र बढाउने वा नयाँ–नयाँ कर लगाउने परम्परागत शैलीलाई त्यागेर अब व्यवसायिक कृषि, उत्पादनमूलक उद्योग र पर्यटन व्यवसायमा विशेष जोड दिनु आवश्यक देखिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij