विचित्र गुफाले विदेशी पर्यटक तान्न थालिसकेको छ भने बुढीकोटमा बनेका संरचनाले पर्यटकहरूलाई धुर्कोट कोतको ऐतिहासिक र धार्मिक महत्वबारे बुझ्न मद्दत गरेका छन् ।
प्रेम सुनार
गुल्मी
गुल्मीको धुर्कोटमा स्वर्ग जाने बाटो छ भन्दा अनौठो लाग्न सक्छ । तर धुर्कोट–५ वस्तुका स्थानीयको किम्बदन्तीलाई मान्ने हो भने योे अनौठो मान्नुपर्ने विषय होइन । किनभने धुर्कोटमा साँच्चिकै स्वर्ग जाने बाटो छ । नियालेर हेर्ने हो भने यो बाटोमा प्राकृतिक रूपमा हात्तीको शरीर, पुच्छर र सुँडहरू देख्न सकिन्छ । २३ वटा जति प्राकृतिक रूपमा उत्पत्ति भएका शिवलिङ्ग छन् । हात्तीको उक्त शरीर र शिवलिङ्ग हुँदै पुगिने ठाउँलाई ‘स्वर्ग’ नामाकरण गरिएको छ । यस्तो विचित्रको ठाउँको नामै हो, विचित्र गुफा । गुफामा धर्मात्माहरू मात्र छिर्न सक्ने र पापी मानिसहरू छिर्न नसक्ने धार्मिक मान्यता रहेको छ ।
स्वर्गमा पुगिसकेपछि सेतो रङ्गको शिवलिङ्ग, विभिन्न भगवानहरूको तस्विर र गोहीलगायतको प्राकृतिक रूपमै उत्पत्ति भएको तस्विर देख्न सकिन्छ । वस्तुको कमलावनमा १८५ मिटर लामो विचित्र गुफा छ । सोही गुफाभित्र रहेको ‘स्वर्ग जाने बाटो’ निकै आकर्षक र धार्मिक हिसाबले महत्वपूर्ण छ ।
स्वर्ग जाने बाटो पुगेपछि गुफाको गन्तव्य टुङ्गिन्छ । अर्थात् त्यसदेखि अगाडि कुनै पनि दृश्य नभएकोले पनि उक्त स्थललाई विचित्रताको अन्तिम दृश्यको रूपमा लिने गरिएको गुफासम्बन्धी जानकार एवम् हिमालय माविका प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीले बताए । ढेंडुबाँदर लखेट्दा फेला परेको थियो, गुफा । ढेंडुबाँदर लखेट्दा ०४५ साल असार ५ गते गुफा पत्ता लागेको थियो ।
गाउँको बारीमा मकै खान गएको ढेंडुबाँदरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले बाँदर एकाएक पहराको बीचमा रहेको सानो प्वालबाट भित्र पसेको देखे । पछि के को प्वाल रहेछ भनी हेर्न जाँदा गुफा पत्ता लागेको हो । गुफा पत्ता लागेपछि सुरुमा साविकको वस्तु गाविसकै १०÷१२ जना व्यक्तिहरू हातमा राँका (आगोको मुस्लो) र लाइट बालेर गुफाभित्र सामूहिक रूपमा छिरेका थिए । गुफा पत्ता लाग्दा मोटा र लामा रूखका जरा एवम् अन्य लहरामा करिब १० मिटर माथिसम्म झुण्डिएर जानुपथ्र्यो ।
बस्तीदेखि केही तल ख¥यानमा रहेको गुफामा त्यहाँका बुढापाका जाने विषय त्यत्ति सहज थिएन । अनकन्टार ठाउँ, त्यो पनि ओढारभित्र, हिंस्रक जनावरहरूको प्रवाह नगरी पुरै लम्बाइ चाहारेर फर्केका व्यक्तिहरूले गुफाभित्र अनेक विचित्र वस्तुहरू देखेको आधारमा गुफाको नाम नै ‘विचित्र गुफा’ रहन गएको हो । पाँच सय जना अटाउने सभाहल विचित्र गुफामा पाँच सय जना अटाउने स्थानलाई सभाहल भनिएको छ ।
सभाहलको माथिपट्टिको शिलिङमा विभिन्न आकृतिका कलात्मक बुट्टा र बुट्टाहरूको बीचमा रातोमाटोले पोतेर सफा गरेको मण्डप छ । शिवलिङ्ग सहितको मन्दिर, राम र कृष्णको प्रतीक, विभिन्न नागहरूको आकृति, गोपीकृष्ण, जटायु, श्रीपेचलगायतका आकृतिहरूले गुफालाई झन मनमोहक बनाएको छ । गुफामा फेला परेका आकृतिलाई नरसिंहवतार, कच्छ्यावतार, गोपीकृष्ण, जटायु, शिवलिङ्गलगायत नामाकरण गरिएको संरक्षक भानुभक्त भण्डारीले बताए । गुफाभित्र पारदर्शी ढुङ्गा, शिवलिङ्ग, गाईका थुन र निकै कलिला चट्टानहरू रहेका छन् ।
गुफामा ११ कक्ष रहेका छन् भने गुफाभित्रको चौडाइ फरक–फरक ठाउँमा तीनदेखि ६० फिटसम्म रहेको छ । गुफाको तल्लो सतह लेसाइलो माटोले बनेको छ । गुफाभित्र रहेका मार्गमध्ये पहिलो मार्गमा दुवैतर्फ कडा चट्टान, छतमा दरार एवम् चुनढुङ्गा, दोस्रो कक्षमा छतमा मण्डपाकार आकृति, तेस्रो कक्षमा नरसिंह अवतारको आकृति, चौथो कक्षमा शेष नागको आकृति, पाँचौ कक्षमा कृष्णले दही पोखेको आकृति रहेको छ । त्यस्तै सातांै कक्षमा अयोध्यापुरीबाट परिचित कक्ष पूजा मण्डप, नवौं कक्षमा रावणले सीतालाई हरण गरी लङ्का लैजाँदाको रथ र जटायुले माथिबाट आक्रमण गरेको मूर्ति, दशौं कक्षमा पारदर्शक पत्थर एवम् एघारांै कक्षमा गणेशको मूर्ति, रामचन्द्रको धनुषवाण राख्ने शोलीलगायतको आकृति रहेको संरक्षक भानुभक्त भण्डारीले जानकारी दिए । गुफामा मुख्य ढोकाबाट भित्र पसेपछि पाँचवटा द्वारहरूको प्राकृतिक आकार देख्न पाइन्छ । अध्ययन नै हुन बाँकी छ, पर्यटनको हिसाबले निकै महत्वपूर्ण रहेको गुफाले समग्र जिल्लाकै पहिचान बोकेको छ ।
अहिले धुुर्कोट गाउँपालिकाले आवश्यक प्रचार–प्रसार एवम् पर्यटनका अन्य पूर्वाधारहरूको व्यवस्थापन गरिरहेको छ ।
गुफाको थप लम्बाइबारे अध्ययन गरेमा पर्यटन विकासमा गुफा कोसेढुङ्गा सावित हुने विचित्र गुफा संरक्षण समितिका अध्यक्ष युवराज भण्डारीले बताए । ‘अनुसन्धान भए सम्भवतः नेपालकै ठूलो हुन सक्ने यस गुफाका अझँै धेरै कुरा लुकेरै बसेका छन् । अहिलेसम्म गुफाको दुई तलासम्म मात्रै अध्ययन गरिएको छ,’ भण्डारीले भने– ‘अन्य तलाहरू र त्यसभित्र भएका छुट्टै सुरुङ्गहरूको उत्खनन् र अनुसन्धान हुन सकेको छैन ।’
केही सुधारका प्रयास छल्दी खोलादेखि गुफासम्म पुग्नको लागि ४५० मिटर लामो सोलिङ्ग र सिँढी निर्माण गरिएको छ । सिँढीबाट गुफासम्म पुग्नको लागि करिब १० मिटरको पूल र गुफाभित्र पनि सिँढी निर्माण गरिएको छ । गुफाको नजिकै पिकनिकस्थल र सूचना केन्द्रको नाममा पर्यटकको आवासको लागि भवन समेत निर्माण गरिएको छ ।
पालिकाले सोही गुफालाई अहिले पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लागिरहेको छ । पालिका अध्यक्ष भुपाल पोखरेल भन्छन्– ‘धुर्कोट भनेकै गुफा हो भनेर चिनाउनका लागि हामीले सोही अनुरूपको कामहरू गरेका छौँ । पहिलो चरणमा गुफामा भौतिक संरचना निर्माण र प्रचारप्रसारको काम गरिरहेका छौँ ।’
गुफासम्म सदरमुकाम तम्घासबाट सेउघा–छल्दी–पनाहा–हुलाके हँुदै धनार्जेसम्म १८ किलोमिटर पक्की सडकमा पुगिन्छ । त्यसपछि तीन किलोमिटर कच्ची सडक पार गर्दै करिब २५ मिनेटको पैदल यात्रापछि गुफासम्म पुगिन्छ भने धनार्जेबाटै १० मिनेको सवारी यात्रामा गुफासम्म पुग्न सकिन्छ । त्यस्तै बाग्लुङ, प्यूठान, मालिका गाउँपालिकालगायतका ठाउँबाट धनार्जेमा पुगेर सवारी वा पैदल यात्राबाट गुफासम्म पुग्न सकिन्छ । सदरमुकाम तम्घासबाट सेउघा–सिमाघाट–जैसीथोक हुँदै वस्तुको शिवालय मन्दिरमा पुग्ने र त्यहाँबाट करिब १० मिनेटको सवारी यात्रा एवम् २० मिनेटको पैदल यात्रापछि पनि गुफासम्म पुग्न सकिन्छ ।
पर्यटकीय सम्भावना बोकेको यो गुफा पर्यटकको रोजाइमा पर्न थालेको छ । गुफाको अवलोकनका लागि विदेशी पर्यटकसमेत आउन लागेका छन् । ०८० चैतमा विदेशी पर्यटकहरूसमेत आएर अवलोकन गरेका थिए । उक्त महिना १७ जनाको फ्रान्सेली नागरिकहरूले त्यस विचित्र गुफाको अवलोकन गरेका थिए । त्यसपछि बेल्जियम, स्पेन र फ्रान्सका १२ जना पर्यटक गुफा हेर्न पुगेका थिए ।
केन्द्रविन्दुमा धुर्कोट कोत
विचित्र गुफामात्रै होइन, गाउँपालिकाले धुर्कोट कोतलाई समेत प्राथमिकता दिएर पूर्वाधार निर्माण र पर्यटकीय विकासको काम गरेको पालिका अध्यक्ष पोखरेल बताउँछन् ।
उनका भनाइमा धुर्कोट दरबारको ऐतिहासिकता जोगाइ पर्यटकलाई दरबारसम्म ल्याउनका लागि पालिकाले गुरुयोजना नै बनाएर काम गरिरहेको छ । ‘चालु आर्थिक वर्षभित्रै उक्त गुरुयोजना अनुसारको काम सकिन्छ ।’– उनी भन्छन् ।
आठ करोड रुपैयाँको गुरुयोजना अनुसार बुढीकोटमा एक किलोमिटर लामो धुर्कोट वाल बनाइएको छ । दरबारको संरक्षणमा उत्तिकै रकम खर्चिएको छ ।
धुर्कोटले पर्यटकीय क्षेत्रमा वर्षेनी चार करोड बराबरको लगानी गर्दै आएको पालिका अध्यक्ष पोखरेल बताउँछन् । त्यसअनुसार अहिले शहीद पार्क निर्माण भइसकेको छ । उक्त पार्कमा हिलस्वीङसहित युवायुवतीलाई ‘रिक्रियशन’का लागि पूर्वाधार निर्माण भएको छ ।
अध्यक्ष पोखरेल भन्छन्–‘ऐतिहासिक धार्मिक र पूरातात्विक सम्पदाको खोज, पुनर्निर्माण, चार सय वर्ष पुरानो कालिका मन्दिर पूर्वाधार निर्माण भइरहेको छ । त्यसैअनुसार प्रचारप्रसारमा पनि हामीले लगानी गरेका छौँ ।’




