२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

ऐतिहासिक गुल्मी दरबारको सम्भावना

ऐतिहासिक गुल्मी दरबारको सम्भावना

ऐतिहासिक गुल्मी दरबारको सम्भावना

ऐतिहासिक गुल्मी दरबारको सम्भावना

ऐतिहासिक गुल्मी दरबारको सम्भावना
बुधवार, आषाढ ६ २०८१
बुधवार, आषाढ ६ २०८१
  • गुल्मी दरबार गाउँपालिकामा सबै किसिमका पर्यटकहरूका लागि कुनै न कुनै किसिमका आकर्षणका विन्दुहरू छन् । अध्येता, विद्यार्थीहरूले गुल्मी दरबारको  ऐतिहासिकता खोतल्न सक्छन् । घुम्न मन पराउनेहरूले प्राकृतिक छटा र पर्यावरणमा रमाउन सक्छन् ।
    डी.बी. टण्डन (विजय)
    गुल्मी
    संस्कृत भाषामा सैनिक वा पल्टन भएको ठाउँलाई गुल्म भनिन्छ । सामाजिक र आर्थिक महत्व बोकेको हालको गुल्मीमा लिच्छविकालीन र मध्यकालमा सैनिक छाउनी भएकोले हालको गुल्मीको नामाकरण ‘गुल्मी’ हुन गएको विद्धानहरू बताउँछन् । 
    लिच्छविकालमा यो ठाउँ गढी गुल्म गण्डकी नदीको छेउको छाउनी भनिन्थ्यो । यहाँ गुल्मी चारपाला भन्ने ठाउँ पनि छ । जसलाई गुल्मीकोट पनि भनिन्थ्यो । गुल्मी जिल्ला र गुल्मी दरबार गाउँपालिकाको नामाकरण सोही गुल्मीकोटबाट भएको हो । 


    प्राचीन कालदेखि बाइसेचौबिसे राज्य बिस्तार हुने समयसम्म गुल्मीकोटमा मानवबस्ती रहेको जनविश्वास छ । गुल्मीकोटमा राज्य र राजा महाराजाहरूको सुरक्षा निमित्त सैनिकहरू बसोबास गर्न सैनिक व्यारेक रहेको र गुल्मी राज्यका राजा–रानीहरूको यहाँ पनि दरबार बनाइ बसेको इतिहास छ । अहिले पनि राजा–रानीले दरबार बनाइ बसेका केही भौतिक अवशेष देख्न सकिन्छ ।

    सुरक्षाका हिसाबले पहाडको टुप्पामा बस्ने चलन बाइसेचौबीसे राजाहरूको पालादेखि नै सुरु भएको हो । चारपालामा रहेको गुल्मी दरबार एकीकरण हुनुअघि स्वतन्त्र राज्यको केन्द्र थियो । वीर शाही यहाँका पहिला राजा थिए । हाल इश्वरी देवीको नामले चिनिने गुल्मी चारपालामा वर्षको दुई पटक पूजाआजा गर्ने, पञ्चबली ल्याउने र सराँय नाच्ने गरिन्छ । 


    गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाका भनाइमा ऐतिहासिक गुल्मी दरबारलाई केन्द्रविन्दुमा राखेर पालिकाले पर्यटकीय क्षेत्रको विकास गरिरहेको छ । उनी भन्छन्– ‘पालिकाको धरोधर र पहिचान गुल्मीदरबार नै हो । यसको ऐतिहासिकता जोगाएर हामीले यसकै वरपर पर्यटन विकास गर्ने नीति लिएका छौँ ।’


    गुल्मी जिल्लाको सदरमुकाम तम्घासबाट करिब १५ किमीको पूर्वतर्फको दूरीमा रहेको यस गुल्मी दरबार गाउँपालिकाको आफ्नै पृष्ठभूमि छ । यस गाउँपालिकाको पश्चिम–दक्षिणतर्फ करिब सात किमीको दुरीमा गुल्मी दरबार छ । गुल्मी दरबार रहेको सो ठाउँलाई चारपाला पनि भनिन्छ । सो दरबारको तलामाथि इष्टदेवी इश्वरी मन्दिर छ । उनको पूजा शरद तथा बसन्त ऋतुमा दुई पटक हुने गर्छ । यसै मन्दिरको महत्वकोे कारणले गुल्मी जिल्ला नै प्रख्यात छ ।

     
    इतिहासविद् राजाराम सुवेदीका अनुसार गुल्मीका राजाको राज्यस्थल चारपालालाई भनिन्थ्यो । हनुमान ढोकालाई काठमाडौँ भनेजस्तै चारपाला इकाइलाई गुल्मी भनिएको हो । गुल्मी चारपालामा क्रमशः पाल्पाथोक, अर्बाथोक, गलामथोक तथा मुसीकोट थोक गरी चार वटा पाला थिए भने यिनका अतिरिक्त उप्रिकोट थोक एउटा छुट्टै प्रशासनिक इकाइ थियो । यसरी गुल्मीमा ९८ मौजा थिए भने प्रत्येक मौजामा जिम्मावाल र मुखियाले स्थानीय नेतृत्वको रूपमा काम गर्ने चलन थियो । गुल्मी चारपाला दरबारमा राजाको बास हुन्थ्यो र त्यसैलाई गुल्मी राज्यको राजधानी भनिन्थ्यो । 


    गुल्मी दरबार गाउँपालिका प्राकृतिक रूपमा पनि अब्बल गाउँपालिका हो । गाउँपालिकाबाट हिमाली भू–भागका हिम दृश्यले सबैको मन लोभ्याउने गर्छ । रेसुङ्गा तपोभूमिमा फूलेका गुराँस तथा गाउँपालिका भित्रका वन जंगलले बाह्य तथा आन्तरिक पर्यटकको मन लोभ्याउने गर्छ । धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गा जाने बाटो भएकाले गर्दा पनि यस गाउँपालिकामा आन्तरिक पर्यटनको केन्द्रका रूपमा विकास हुँदैछ । 


    यो गाउँपालिका मगर तथा नेवार जातिसँगै अन्य जातिको बाहूल्यता भएको गाउँपालिका हो । गुल्मीको ऐतिहासिक कालिका नाच यसै गाउँपालिकाका मगर समुदायबाट निकालिन्छ । लाखे नाच, सराँय नाच, सोरठी नाच तथा अन्य साँस्कृतिक, धार्मिक तथा अन्य पर्वहरूमा गरिने परम्परागत रहनसहनले गर्दा पनि यस गाउँपालिकामा साँस्कृतिक रूपले धनी रहेको छ ।


    दरबारमा ऐतिहासिक रानी पोखरी छ । यहाँ मौलिक र आफ्नै किसिमका बाजागाजा छन् । एउटा भैरवस्थान मन्दिर पनि छ । यहाँ रहेको सीता मन्दिर अयोध्यासँग जोडिएको छ । विश्वामित्रले पुत्रायज्ञ गरेपछि राम जन्मिएको किम्बदन्ती रहेको छ ।
    त्यस्तै उजलादेवीको मन्दिर नयाँ गन्तव्यको रूपमा विकास हुँदैछ । अहिले गाउँपालिकाले समग्र पर्यटकीय क्षेत्रको विकास गरी पर्यटक भित्र्याउने अभियानमा रहेको पालिका अध्यक्ष थापा बताउँछन् । ‘संरचना निर्माण र प्रचारप्रसारलाई अहिले एकैपटक अघि बढाएका छौँ ।’ –उनी भन्छन् ।


    प्रचारप्रसार र महत्व स्थापित गर्नका लागि उजलादेवीको सीताराम मन्दिरमा महायज्ञ लगाइएको छ । त्यस्तै खज्र्याङदेखि मोटरबाटो निर्माण भइरहेको छ । यो बाटो तम्घास हुँदै रेसुङ्गा पुग्नेछ । 


    त्यस्तै गौंडाकोट सीतारामदेखि रेसुङ्गा जाने सडक स्तरोन्नति भइरहेको छ । गौँडाकोटदेखि सिधँै रेसुङ्गा जाने सडक पनि बनिरहेको छ । यो आर्थिक वर्षभित्रमा यो सडक स्तरोन्नति भइसक्ने छ । खज्र्याङ घुम्तीको रणनीतिक सडकमा पाँच करोड थप भएको छ ।


    गाउँपालिका अध्यक्ष थापा भन्छन्– ‘पर्यटकीय क्षेत्रमा पुग्ने पहुँच मार्गहरू तीव्र गतीमा बनिरहेका छन् । अन्यत्र जिल्लाबाट आउने सडकहरू पनि उत्तिकै गतिमा निर्माण भइरहेको छ । तम्घास वा रेसुङ्गाबाट आउने सडकहरू पनि स्तरोन्नति भइरहेको छ । यो सबै पर्यटकीय हिसाबले निकै महत्वपूर्ण छ ।’ 


    उनका भनाइमा गुल्मी दरबार गाउँपालिकाको ऐतिहासिकता नै पर्यटक आउने मुख्य कारण हुनेछ । ‘अध्येता, विद्यार्थीहरूले गुल्मी दरबारको ऐतिहासिकता खोतल्न सक्नेछन् । घुम्न मन पराउनेहरूले प्राकृतिक छटा र पर्यावरणमा रमाउन सक्नेछन्,’ उनी भन्छन्– ‘सबै किसिमका पर्यटकहरूका लागि गुल्मी दरबारमा कुनै न कुनै किसिमका आकर्षणका विन्दुहरू छन् ।’ 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij