२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

रूरू क्षेत्र : उहिले वैभव, अहिले ओझेलमा

रूरू क्षेत्र : उहिले वैभव, अहिले ओझेलमा

रूरू क्षेत्र : उहिले वैभव, अहिले ओझेलमा

रूरू क्षेत्र : उहिले वैभव, अहिले ओझेलमा

रूरू क्षेत्र : उहिले वैभव, अहिले ओझेलमा
बुधवार, आषाढ ६ २०८१
बुधवार, आषाढ ६ २०८१
  • लुम्बिनी संवाददाता
    गुल्मी
    धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थल रिडीको महिमा  कुनै बेला निकै फैलिएको थियो । रिडीमा पहिले धेरै टाढा–टाढाबाट तिर्थालु आउँथे । राजा महाराजादेखि सामान्य नागरिकको अतुलनीय आस्थाको केन्द्र थियो । अहिले पहिलेको वैभवलाई पुनःस्थापित गर्न गुरुयोजना बनाएर काम अघि बढेको छ । रिडीको महत्वलाई बुझेका लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले गुरुयोजना, बजेट र कार्यक्रम कार्यान्वयनको खाका अघि सारेपछि रिडीले पुनर्जीवन पाउने आशा पलाएको थियो । यद्दपी गुरूयोजना अनुसार बजेट विनियोजन नहुँदा अपेक्षित काम अघि बढ्न सकेको छैन् । रिडीको वैभवलाई स्थापित गर्न सक्दा धार्मिक पर्यटन प्रवद्र्धनले हामीले धेरै लाभ लिन सक्छौं ।


    कुनै बेला रिडीको वैभव भारतदेखि तिब्बतसम्म थियो ।सेनकालदेखि फैलिएको रिडीको वैभव २००७ सालको परिवर्तनपछि ओझेलमा प¥यो । पहिलेको त्यो वैभवको चर्चा क्रमशः खुम्चियो  ।  शासनसत्तामा बस्नेहरुले यहाँको महत्वलाई मान्दा रिडी चर्चामा आयो । बस्नेहरुको नजर नपर्दा ओझेल प¥यो । लुम्बिनी प्रदेश सरकारले रूरू क्षेत्रको बृहत्तर विकासको लागि गुरुयोजना बनाएर पूर्वाधार विकासको काम अघि बढेको छ । गुरुयोजना कार्यान्वयनले  पहिलेको स्वर्णीम युगफकिएने  अपेक्षा गरिएको छ ।
     ‘रिडी निकै महत्वपूर्ण सांस्कृतिक,ऐतिहासिक र धार्मिक स्थल हो, यहाँको पूर्वाधार विकासले हामीले निकै राम्रो लाभ पाउन सक्छौ–रिडीको सम्पदा र संस्कृतिबारे अध्ययन गरेका संस्कृतिविद् डा. गितु गिरीले भने ।

    सांस्कृतिक र धार्मिक वैभव
    हिन्दु समुदायमा कालीगण्डकी नदीलाई निकै पवित्र मानिन्छ । त्यसैगरी, रूरू क्षेत्रलाई  पनि उत्तिकै पवित्र धामका रुपमा लिइन्छ । यहाँका धेरै सम्पदा निकै महत्वपूर्ण छन् । ती सम्पदालाई हिन्दु संस्कृतिमा निकै श्रद्धागरिन्छ । पवित्र कालीगण्डकी र रूरू क्षेत्र सहित यहाँको महत्वपूर्ण स्थल ऋषिकेश मन्दिर हो । यो मन्दिर २०६७ सालको असोजमा ब्राजिलमा भएको युनेस्को सम्मेलनमा विश्व सम्पदा सूचीको मनोनयनमा परेको  छ ।


    जनश्रुतिअनुसार, सो¥हौं  शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द प्रथमले कुनै दिन सपनामा नारायणको मूर्ति कालीगण्डकीमा छिपेको छ निकाल्नु भन्ने जानकारी पाए । कार्तिक शुक्ल एकादशीका दिन कालीगण्डकीमा स्नान गर्न गए । स्नान गर्दै गर्दा उनले कालीगण्डकीको गर्भमा ऋषिकेश भगवानको मूर्ति फेला पारे । फेला पारेको मूर्ति राजाले अहिले मन्दिर भएको स्थानमा प्रतिस्थापन गरे । त्यसबेलादेखि नै हरिबोधिनी एकादशीका दिन धार्मिक महिमाका साथ पूजा अर्चना गर्ने प्रचलन निरन्तर चल्दै आएको छ । हरिबोधिनी एकादशीको भोलीपल्ट द्ववादशीका दिन खटयात्रा गरिन्छ ।


    रूरू क्षेत्र अर्थात रिडीमा माघ स्नानको निकै महत्व रहेको मानिन्छ । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश भएको संक्रान्तिको दिनले ठूलो महिमा बोकेको छ । सूर्य मकर राशीमा प्रवेश गर्ने भएकाले यसलाई मकर संक्रान्ति भनिन्छ । मकर संक्रान्ति माघ महिनाको पहिलो दिन पर्ने भएकाले यसलाई माघे संक्रान्ति पनि भनिन्छ । मकर संक्रान्तिमा गरिने स्नानलाई निकै राम्रो मानिन्छ । स्थानीय मकर संक्रान्तिलाई जेठी, माघ २ गतेलाई माहिली र ३ गतेलाई कान्छी संक्रान्ति भन्छन् । तीनदिनसम्म लगातार गण्डकीमा स्नान गरे निकै पुण्य हुने  विश्वास छ । त्यसो त माघमा गण्डकी स्नानलाई निकै राम्रो मानिन्छ । ‘ गण्डकीको तटमा रहेको रूरू क्षेत्र पवित्र तीर्थस्थल हो, यहाँ स्नान गर्दा सबै ऋण र पापबाट मुक्ति पाइन्छ– धर्म गुरु व्यासाचार्य किशोर गौतमले भने ।
    अठार महापुराण मध्येको एक बराह महापुराणमा रूरू क्षेत्रको बारेमा चर्चा छ । गण्डकीमा जीवित छदा स्नान गर्ने र निधन भएपछि अस्थि सेलाउने काम निकै महत्वपूर्ण रहेको विश्वास छ ।


    मकर संक्रान्तिमा यहाँ लाग्ने मेला नेपाल लगायत भारतमा पनि प्रख्यात छ । अहिले यहाँ तीन दिनसम्म मेला लाग्छ । इतिहासकार निर्मल श्रेष्ठका अनुसार, सेनकालमा राजाले मकर संक्रान्तिदेखि हिउँदे मेला लाग्ने चलन चलाएका थिए । त्यसबेला यो मेला तीन चार महिना सम्म चल्दथ्यो । त्यो बेला यहाँको मेलामा व्यापार गर्न भारत र पहाडी क्षेत्रका विभिन्न राज्यका साहुमहाजन आइपुग्थे । अहिले पनि तीन दिने रिडी मेलामा पहाडका विभिन्न उत्पादनहरु विक्री गर्न यो मेलामा ल्याइन्छ ।

    उहिलेको वैभव, अहिले ओझेलमा
    भारतका तीर्थस्थल सरकारी निकाय, साधुसन्त र अन्य साहुमहाजनले प्रचारमा ल्याएपछि श्रद्धालुहरुको घुँइचो लाग्दै आएको छ । वर्षेनी धेरै नेपाली भारतका तीर्थस्थलमा पुगिरहेका छन् । सरकारले न त रिडीको महिमाको प्रचार ग¥यो न त पूर्वाधार निर्माणमा लाग्यो । सरकारले प्राथमिकतामा नपर्दा रिडी ओझेलमा प¥यो । साधुसन्तले पनि रिडीको प्रचारलाई प्राथमिकता दिएनन् । कुनै बेला रिडीमा बसेर व्यापारमा जमेका साहुमहाजनले पनि त्यसो गर्न आवश्यक ठानेनन् । बरु  ओझेलमा पर्दै गएपछि रिडी छाडेर हिडे । उनीहरुका लागि पनि रिडी बिरानो भयो ।


    सेनकालमा रिडीको वैभव जति फैलियो, त्यो नेपाल एकीकरणपछि पनि रोकिएन् । राणाकालमा पनि रिडीको चर्चा चुलियो । सेनकालको शक्तिशाली पाल्पा राज्यमा पर्ने रिडीले त्यसबेला पनि महत्व पायो । त्यसपछि नेपाल एकीकरण अभियानमा शक्तिशाली पाल्पा राज्य नेपालमा गाभियो । नेपालमा पाल्पा राज्य विलय भएपनि पाल्पा एक महत्वपूर्ण प्रशासनिक इकाईको रुपमा स्थापित भयो । राणाकालको दुई सय वर्षमा पाल्पाले पश्चिम नेपालको प्रशासनिक गौंडाको रुपमा प्रभावशाली वर्चश्व कायम राख्यो । यो बेला पनि रूरू क्षेत्रको महिमा ओझेलमा परेन् ।


    श्री ३ जुद्ध शमसेर १३ वर्ष मुलुकको राजकाज चलाएपछि विस २००२ साल मंसिर १४ गते राजकाज त्यागेर रूरू क्षेत्रमै आएर बसे । यहाँ उनले बनाएको दरबारको भग्नाबशेष अर्गलीमा अझै देख्न सकिन्छ । ‘श्री ३ जुद्ध आएपछि रिडीको महिमाको चर्चा निकै चुलिएको पाइन्छ–इतिहासकार श्रेष्ठले भने । गुल्मीको रिडी, पाल्पाको अर्गली र स्याङजाको भृगुतुङ्गेश्वर गुफा क्षेत्रलाई रूरूक्षेत्रको रुपमा मानिन्छ । 


    पहिले राजा महाराजाहरुको निधनपछि अस्थि रिडीमा ल्याएर कालीगण्डकीमा विर्सजन गरिन्थ्योे । राजा त्रिभुवनको निधनपछि पनि उनको अस्थि रिडीमा ल्याएर विर्सजन गरिएको थियो । राजदरबारमा बिरामी रानीलाई फिजियोथेरापी गराउन आएकी थिइन् एरिका ल्युकट्याग । राजा त्रिभुवन र दरबारका बारेमा तिनै एरिकाले एरिका एण्ड किङ किताब लेखिकी छन् । त्यस किताबमा उनले उल्लेख गरेकी छन्–‘राजा त्रिभुवनको निधनपछि राजाको निधारबाट एक टुक्रा हड्डी निकालियो, जसलाई सुनको बट्टाभित्र राखियो । यसलाई लिएर एकजना ब्राहमण रिडीको बाटो लागे । जुन आठ दिनको बाटो थियो । जहाँ उनले पवित्र गण्डकी नदीको बीचमा त्यो बट्टालाई गाडिदिए । उपयुक्त समयमा त्यो हड्डी अमानश्रृंगारश्मको रुपमा परिर्वतन हुन्थ्यो । जसको घुमाउरो चिन्ह विष्णुको चक्रसंग मेल खान्थ्यो ।’
    पाल्पाली राजाहरुका स्याहामोहरको शिरमा श्री भवानी ऋषिकेशौं जयतः लेखी त्यसको तल अरु व्यहोरा लेखेको पाइन्छ ।


    मठमन्दिरको वैभव
    रूरू क्षेत्रमा चर्चा ऋषिकेश मन्दिरको हुन्छ । तर उत्तिकै महत्वपूर्ण दुई दर्जन मठमन्दिर यहाँ छन् । रिडीमा मुकुन्दसेन प्रथमले मुकुन्देश्वर महादेवको स्थापना गरेको र महादत्त सेनले गुठी समेत राखिदिएका थिए ।
    ऋषिकेश मन्दिर परिसरमा रूरू कन्या मन्दिर,गायत्री मन्दिर,रामनाम स्तुप, विशेश्वर महादेव,मुक्तेश्वर महादेव, सत्येश्वर महादेव र राधाकृष्ण मन्दिर रहेका छन् ।


    रिडी बजार क्षेत्रमा मुकुन्देश्वर महादेवको साथै अरु मन्दिर छन् । रामजानकी मन्दिर, शोभा भगवती मन्दिर, भैरव मन्दिर, सुगन्ध मन्दिर गणेश मन्दिर,लक्ष्मीनारायण मन्दिर र गंभीर मुक्तेश्वर मन्दिर छन्  । ऋषिकेश सहितका मठमन्दिर विभिन्न कला शैलीले सजिएका छन् ।


    स्याङ्जातर्फ भुगुतुङ्गेश्वर महादेवको  गुफा छ । गुफामा शिवलिङ्गहरु उत्पत्ति भएका छन् । यहाँको ऋषिकेश मन्दिरमा सेनकालदेखि नै अर्गलीका भट्टराईहरुले पूजा चलाउँदै आएका छन् । राजा मणिमुकुन्दले अर्गलीका भट्टराईलाई पुजारी नियुक्त गरेको लालमोहर प्राप्त भएको छ ।

    सेनकालः कला–संस्कृतिको खानी 
    पाल्पाको सेन राज्य शिक्षा,संस्कृति र सभ्यताको केन्द्र थियो । कुनै बेला पूर्वमा टिष्टादेखि पश्चिममा गढवालसम्म दक्षिणमा गंगा नदीदेखि उत्तरमा मुक्तिक्षेत्रसम्म सेन राज्य फैलिएको थियो । अभय सेनको राज्यकालदेखि अन्तिम शासक पृथ्वीपाल सेनसम्म सेन वंशी राजाको २४ पुस्ताले राजकाज सम्हालेको पाइन्छ । यो समय भनेको  विस १५७५ देखि १६१० सम्म हो । १३ औं पुस्ताका मणिमुकुन्द सेन प्रथमको शासन व्यवस्था विशेष उल्लेखनीय रहेको पाइन्छ । उनीहरुले यो समयावधिमा बनाएका दरबार, मन्दिर, पाटी पौवा विशेष कलात्मक छन् । रिडीमा पनि ऋषिकेशव मन्दिर सहित अरु मठमन्दिर विशेष कलात्मक छन् ।

    ऋषिकेशको मूर्तिमा खामिएको पाल–सेन कलाशैलीको ऐतिहारिक महत्व छ । विस १८१९ मा रणदल पाण्डेले कमलको आकार भएको मन्दिर बनाई सुनको गजुर र मन्दिर सम्मुख एक ठूलो घण्ट चढाएका थिए । ऋषिकेश मन्दिरको शालिग्रामले बनेको शिला मूर्ति धार्मिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ ।


    रूरू क्षेत्रमा रहेका शिला र मूर्तिको महिमा एकातिर छ, अर्कोतिर यहाँको झ्याल, ढोका र सत्तलमा प्रयोग भएको कला शैली सजिव देखिन्छ । यी कलाले मठमन्दिरलाई आर्कषक बनाएका छन् ।


    ‘ऋषिकेश मन्दिरको निर्माण गर्दा वास्तु शास्त्रको  स्थापत्य कलाको परम्परागत विज्ञानको सीमालाई पूर्णपालन गरिएको छ । चिल्लो, चम्किलो र कृष्ण वर्णको प्रस्तरबाट निर्मित पाल–सेन शैलीको मूर्ति र रूरू क्षेत्रमा रहेका थप मन्दिरहरुको संगमले  शिल्पकारहरुको सुन्दर कारीगरी बाहिर ल्याएको  छ,–‘सेनकालीन इतिहास, कला र संस्कृतिका लेखक श्रेष्ठ भन्छन् ।
    मणिमुकुन्द सेन प्रथमले संस्कृत र व्यवसायिक शिक्षालाई बढी महत्व दिन्थे । संस्कृत, व्याकरण, ज्योतिष, वेद वेदाङ्ग, आयुर्वेद,धनुर्वेद, शिल्पकारी आदि विषयको अध्ययन गराउन सम्बन्धित विषयका विद्वानलाई विभन्न क्षेत्रमा जमीन विर्ता दिई आश्रममा राख्ने व्यवस्था मिलाएका थिए ।उनका उत्तराधिकारीले पनि रिडीमा शैक्षिक तथा धार्मिक क्षेत्रको विकास गरेको पाल्पा राज्यको इतिहासका लेखक विष्णु प्रसाद घिमिरेले बताएका छन् ।


    व्यापारले चम्केको रिडी 
    सडक सञ्जालको विस्तारसगैं अहिले बुटवल दुई राजमार्गको मिलनविन्दु भएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग र पूर्व–पश्चिम महेन्द्र राजमार्गको मिलनविन्दु भएकाले बुटवल मुलुकको प्रमुख व्यापारिक केन्द्र मध्येको एक शहरको रुपमा स्थापित छ  । त्यसो त तराई र पहाडको संगमस्थल बुटवल पहिले बटौलीको रूपमा व्यापार व्यवसायमा चम्केको थियो । सडक सञ्जालले बटौली बुटवलमा फेरिदा पनि व्यापारमा बर्चश्व कायमै राखेको छ ।


    कुनै बेला व्यापारले चम्केको रिडीले बुटवलले झैं वर्चश्व राखिरहन सकेन् । कुनै बेला रिडी उत्तर–दक्षिण र पूर्व–पश्चिम जाने बाटोको मिलनविन्दु थियो । कर्णाली र सुदुरपश्चिमका बासिन्दा काठमाडौं वा पूर्वतिर जानुपर्दा तराईको घना जंगल हुँदै जानुको साटो रिडी हुँदै कालीगण्डकी पार गरेर जान्थे । दुई मुख्य मार्गको मिलनविन्दुले रिडीको व्यापार व्यवसाय फस्टाएको थियो । यहाँ व्यापार गर्न काठमाडौंबाट नेवारहरु लस्कर लागेर आएका थिए ।


    विस १८५९ मा नेपालको अध्ययन गर्न अंग्रेज दूत क्याप्टेन नक्स आए । उनको साथमा थिए–डा. एफ.वि. हेमिल्टन । हेमिल्टनले एन एकाउण्ट अफ हिस्टी अफ नेपाल किताब लेखेका छन् । त्यहा उनले रिडीलाई पूर्व–पश्चिम र उत्तर–दक्षिण जोड्ने बाटोको रुपमा रिडीलाई उल्लेख गरेका छन् । उनले एउटा पश्चिमबाट पूर्व जाने बाटो रिडी–तानसेन–रामपुर हुँदै देवघाट निस्कने महत्वपूर्ण बाटो र अर्को गोरखपुर–बुटवल–रिडी–बाग्लुङ हुँदै तिब्बत जाने बाटोका बारेमा लेखेका छन् । यी दुई बाटोले धार्मिक र सांस्कृतिक केन्द्र रिडीलाई व्यापारिक केन्दको रुपमा स्थापित गरेको थियो ।
    पहिलेको त्यो मार्ग नयाँ सडक सञ्जालले फेरिएपछि रिडी ओझेलमा प¥यो । गैंडाकोट–रिडी–बाग्लुङ–कोरला कालीगण्डी करिडोरको निर्माण दु्रत भएकाले अब रिडीका लागि नयाँ संभावनाको ढोका खोलिएको  छ । यो सडकको निर्माणले रिडी हुँदै मुक्तिनाथ जाने वा मुक्तिनाथ हुँदै रिडी आउने भक्तजन बढ्ने अपेक्षा गरिएको छ । ‘पहिले मान्छेहरु रिडी हुँदै मुक्तिनाथ वा तिब्बत हिडेंर जान्थे, अब सडक सञ्जालले मोटरमा जान सक्ने भए–गौतमले भने । अर्कोतर्फ, रिडी–सुर्खेत सडक निर्माणको पहल पनि भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij