लुम्बिनी प्रदेशको गुल्मी, पाल्पा र गण्डकी प्रदेशको स्याङ्जा जिल्लाको संगम स्थल रिडी अर्थात् रूरू क्षेत्र नेपालको चारधाममध्येको एक र नेपालको बनारस भनेर चिनिने रूरू क्षेत्रको महात्म्य झन् झन् बढ्दो छ ।
प्रेम सुनार
गुल्मी
तीर्थको लागि यात्रा गर्ने प्रचलन नेपालीहरूको संस्कार हो । त्यसकारण पनि नेपालका साँस्कृतिक सम्पदाहरू अधिक रूपमा तिर्थाटनसँग जोडिएका छन् । तीमध्येको प्रमुख गन्तव्य हो, गुल्मीको रूरू क्षेत्र ।
रूरूमा कालीगण्डकीको महिमा उत्तिकै प्रचलित छ । कालीगण्डकीमा पाइने दुर्लभ शालिग्रामका कारण पनि यसको महिमा अझ धेरै छ । मुक्तिनाथदेखि देवघाटसम्मका कालीनदीको घाटमा तीर्थाटनका पर्यटक स्नान गर्न रमाउँछन् । कालीगण्डकी नदी धार्मिक र सांस्कृतिक मात्र नभई पर्यटकीय महत्व समेत रहेको छ । मुस्ताङ्को दामोदर कुण्डबाट बग्दै आउने मुस्ताङ् खोला र मुक्तिनाथ मन्दिरमा उत्पत्ति हुने काग खोला कागवेनीमा मिसिन्छ । त्यसपछि नदीलाई कालीगण्डकी भनिन्छ । म्याग्दीको गलेश्वरमा राहुघाट पर्वतको कुश्मा नजिकै मोदीघाट, जैमिनी घाट, एशियाकै ठूलो शालिग्राम शिला रहेको दक्षिण पर्वतको सेतीवेणी, रुद्रबेनी, रिडी, रानीदरबार, राम्दी, हुँगी, केलादी, घुमाउरीघाट र देवघाटमा समेत माघे संक्रान्तिमा धेरै तीर्थाटनका पर्यटकहरू स्नान गर्न पुग्छन् ।
लुम्बिनी प्रदेशको गुल्मी, पाल्पा र गण्डकी प्रदेशको स्याङ्जा जिल्लाको संगमस्थल रिडी अर्थात् रूरू क्षेत्र नेपालको चारधाममध्येको एक र नेपालको बनारस भनेर चिनिन्छ । रूरू क्षेत्र तीर्थाटन पर्यटनको लागि धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वको धरोहर मानिन्छ । रूरू अर्थात् रिडीमा पितृमोक्षका लागि अन्तिम संस्कार, श्राद्धजस्ता कार्यमात्र होइन विवाह, ब्रतवन्ध जस्ता शुभ कार्य पनि हुने गर्दछ । रूरू क्षेत्रमा मृतकहरूको अस्तु सेलाउन पनि मानिसहरू पुग्छन् । रूरू गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली पालिकाले रूरू क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गरिरहेको बताउँछन् । उनी भन्छन्–‘धार्मिक गन्तव्यको केन्द्रविन्दु बनाउनका लागि नीति र कार्यक्रमहरू लागू गरेका छौँ । प्रचारप्रसार र प्रवद्र्धनको काम गरेका छौँ । रिडीमा सबैले पितृकार्य गर्नुपर्छ, कालीगण्डकी किनारमा श्राद्ध गरे मात्रै पितृले सुख पाउँछन् भन्ने मान्यतालाई स्थापित गर्दैछौँ ।’
पितृ कार्यका लागि पालिकाले व्यवस्थित शवदाह निर्माण गर्ने क्रममा छ । त्यसका लागि बजेट व्यवस्थापन भइसकेको पालिका अध्यक्ष ज्ञवाली बताउँछन् । त्यसका साथै अन्य धार्मिक पूर्वाधार निर्माणको लागि आवश्यक बजेट बनिसकेको छ । ‘रूरू–रिडीमा एकीकृत पूर्वाधार बनाउनका लागि योजना बनेको छ ।’- पालिका अध्यक्ष ज्ञवाली भन्छन् ।
खासमा मृगले दूध खुवाएर हुर्काएको कन्या भएको हुनाले उनै कन्याको नामबाट रूरू क्षेत्र नाम रहन गएको भन्ने किम्बदन्ती छ । रिडीको नामाकङ्न बारेमा धेरै मतभेद रहेको छ । धार्मिक मान्यताअनुसार मानिस जन्मदै तीनवटा ऋण, अर्थात् देव ऋण, पित्री ऋण र ऋषि ऋण लिएर आएको हुन्छ । रूरूक्षेत्रमा जुन मानिसले स्नान गर्छ त्यसको पाप पखालिन्छ भन्ने मान्यता रहेकोले यो स्थानलाई ऋणी भनिन् थालियो । पछि ऋणी शब्द अपभ्रंश भइ रिडी बन्न गएको भन्ने धारणा पनि छ । त्यस्तै रिडी भन्ने शब्द मगर भाषाबाट आएको हो । खाम मगर भाषामा रि भनेको पानी र ढूट मगर भाषामा डी को अर्थ पनि पानी हुन्छ । यस अर्थमा अठार मगराँत र बाह्र मगराँतको सिमाना छुट्याउने पानीलाई रिडी भनिएको हो । अर्को अर्थमा मगर भाषामा री भन्नाले कालो तथा डी भन्नाले पानी भन्ने अर्थ लाग्छ । अर्थात् कालोपानी बग्ने क्षेत्र कालीगण्डकी भएकोले यसलाई रिडी भनिएको हो भन्ने तर्क पनि छ ।
बाइसे र चौबिसे राज्यहरू रहेको बेलामा पाल्पामा सेन राजाहरूको राज्य थियो । विक्रम सम्वत १५७५ देखि १६१० सम्म पाल्पामा मणिमुकुन्द सेन प्रथमले शासन गरेका थिए । त्यसबेला पाल्पा राज्यको राजधानी तानसेनको भैरवस्थानमा थियो । रिडीमा मणिमुकुन्द सेनद्वारा प्रतिस्थापित ऐतिहासिक ऋषिकेश मन्दिर छ । पाँच सय वर्ष पुरानो ऋषिकेश मन्दिरमा पाल्पा अर्गलीका भट्टराई वंशले पूजा चलाउँदै आएका छन् । राजा मणिमुकुन्दले वि.स.१५७५ मा बनाएको ऋषिकेश मन्दिरमा हरिबोधनी एकादशीको भोलि पल्ट रथ यात्रा निकालिने परम्परा छ । भगवान नारायणको रूपमा लिइने ऋषिकेश मन्दिरमा कालीगण्डकी नदीमा स्नान गरी दर्शन गरेमा पुण्य प्राप्त हुने तीर्थाटनका पर्यटकहरूको विश्वास छ ।
रिडीमा रिडी खोला र कालीगण्डकी मिसिएको छ । कालीगण्डकी र रिडी खोलाको दोभान नै रिडी अर्थात् रूरू क्षेत्र भनिन्छ । रूरू क्षेत्रमा अर्गली, कुसेनी, सत्यवती, रुद्रवेणी, अस्लेवा र वेनी गाउँहरू पर्दछन् । रिडी अथवा रूरू क्षेत्रको महिमा हिमवतखण्ड र वराह पुराणमा पाइन्छ । विष्णुको स्वरुप शालिग्राम पाइने हुनाले रूरूक्षेत्रको विशेष महत्व रहेको छ । रिडीमा ऋषिकेशको मन्दिर र अन्य देवी देवताका मठमन्दिर र मूर्तिहरू पनि छन् । सबै मन्दिरमध्ये ऋषिकेशको मूर्ति सबैभन्दा महत्वपूर्ण मानिन्छ । संसारमै एउटै कालो शालिग्रामले बनेको मूर्ति ऋषिकेश मन्दिरको मूर्ति मात्र हो । ऋषिकेशको मन्दिरलाई वि.सं.१८१९ सालमा रणदत्त पाण्डेले पुनर्निर्माण गराएका थिए । त्यहाँ राधाकृष्ण, विष्णु, राम, हनुमानलगायतका थुपै्र देवीदेवताका मूर्ति र मन्दिरहरू समेत छन् ।
रिडी क्षेत्रका बारेमा प्रचलित किंवदन्ती अनुसार, विष्णुले वृन्दाको सतित्व नष्ट गरेकाले स्वर्गमा तारकासुरको मृत्यु भएको थियो । त्यसबाट दुःखित भएकी वृन्दाले विष्णुलाई पत्थर भएर बस्नुपर्ने श्राप दिएपछि विष्णु शालिग्रामका रुपमा रूरूमा बसेका हुन् । त्यसै गरी देवदत्त ऋषिको तपस्याबाट डराएर इन्द्रले पठाएकी अप्सराको गर्भबाट जन्मेकी रूरूकन्याको कथा पनि यस क्षेत्रसँग जोडिएको छ । रूरूकन्याको मूर्ति ऋषिकेशको मूर्तिको सामुन्ने स्थापित छ ।
रूरू क्षेत्रमा कालीगण्डकीमा स्नान गर्ने र ऋषिकेश मन्दिर, देवदत्त ऋषि तथा रूरूकन्याको मूर्तिमा पूजाआजा गरेमा मोक्ष प्राप्ति हुने विश्वासले तीर्थाटनका पर्यटकहरू पुग्ने गर्दछन् ।
रूरू क्षेत्रमा देवदत्त ऋषिले तपस्या गरेर रूरू कन्याको जन्म भएको र ती कन्यालाई मृृगहरूले दूध खुवाई हुर्काएको र विष्णुले चतुर्वाहु रूप लिएका थिए । रूरू क्षेत्रमा प्राचीन ऋषिकेश मन्दिर, भृगुतुङ्गेश्वर महादेवको गुफा, अचम्मेश्वर, रूरू कन्या मन्दिर अर्थात् गलफूल गुफा, यज्ञमुक्तेश्वर महादेव, रुद्रवेणी, मणिमुकुन्देश्वर महादेव, कञ्चनेश्वर महादेव, लक्ष्मीनारायण मन्दिर, राम जानकी मन्दिर, रूरू कन्याले तपस्या गरेको गुफा, भीमसेन थापाद्वारा आफ्नी आमाको स्मृतिमा बनाएको पौवालगायतका ऐतिहासिक धार्मिकस्थल रिडीमा तीर्थाटन पर्यटकहरूले दर्शन एवं अवलोकन गर्न सक्छन् । रिडीमा माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्तिका दिन बिहानैदेखि कालीगण्डकीमा स्नान गरी ऋषिकेश मन्दिरमा पूजाअर्चना गर्ने तीर्थाटन पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । कालीगण्डकीमा स्नान गरी ऋषिकेशको दर्शन गर्दा चारधाम गए बराबरको पुण्य प्राप्त हुन्छ भन्ने विश्वास तीर्थालुहरूमा छ । रिडीमा स्नान गर्न नेपालका विभिन्न जिल्लाका मात्र होइन भारतका विभिन्न स्थानबाट समेत तीर्थाटनका पर्यटकहरू रिडीमा पुग्ने गर्दछन् । माघे संक्रान्ति मेला रिडी अर्थात् रूरू क्षेत्रमा अहिले पाँच दिन मेला लाग्ने गर्दछ । रिडीमा माघेसंक्रान्ति बाहेक बैशाखे संक्रान्ति, हरिबोधनी एकादशीलगायतका विभिन्न पर्वमा समेत स्नान गर्न तीर्थाटनका पर्यटकहरू पुग्ने गर्दछन् ।
रिडी नजिकै उत्तरपट्टि भृगुतुंग नामक गुफा रहेको छ । भृगुतुंग गुफामा भगवान शिवले सतिदेवीको शव बोकेर भ्रमण गर्दै जाँदा उपल्लो दाँत पतन भएको मान्यता रहेको छ । जुन श्रीस्वस्थानी महात्यम्यमा ब्याख्या गरिएको छ । त्यस ठाउँमा खासगरी माघे संक्रान्ति र शिवरात्रिमा तीर्थाटन पर्यटकहरूको भीड हुने गर्दछ । भृगुतुंग नामक गुफा स्याङ्जा जिल्लामा पर्दछ । रिडीमा जाने तीर्थाटनका पर्यटक गुल्मी जिल्लाको थोर्गातर्फको भागमा रहेको गलफूलगुफा पनि पुग्छन् । गलफूलगुफा रिडी बजारबाट पाँचसय मिटरमाथि रहेको छ । रूरू क्षेत्रमा साना ठूला गरेर एक सयभन्दा बढी मन्दिर र केही गुफा पनि छन् । जहाँ दैनिक पूजा आजा गरिन्छ । माघे संक्रान्तिको पाँच दिनसम्म सञ्चालन हुने रिडी मेलामा विशेषगरी स्थानीय ग्रामीण क्षेत्रबाट उत्पादन गरिएको गुण किन्न पाइन्छ । रिडीको पहिचान बन्दै थोर्गेली चाकु गुणको लागि पनि प्रसिद्ध रहेको छ । रिडीको थोर्गामा बन्ने यो चाकु देश तथा विदेशका विभिन्न स्थानहरूमा निर्यात हुने गरेको छ । यो बाहेक रूकुम र बाग्लुङ जिल्लाबाट आएको कम्बल, काम्ला, राडीपाखी, बाँस तथा चोयाबाट निर्मित सामग्रीहरू, ओखरका घाँजीलगायतका वस्तुहरू किन्न सकिन्छ ।
रिडीमा नेपालकै नमूनाको रूपमा तीनमुखे झोलुङ्गे पूल बनेको छ । गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने पूलका तीनवटै मुख मोटरबाटोमा जोडिएको छ । रिडीमा निर्माण भएको कालीगण्डकीको तीन जिल्लालाई जोड्ने पूलले तीर्थाटन पर्यटकहरूलाई फोटो खिच्ने भिडिओ बनाउने र रूरूमा पुगेको बेला पूलबाट यात्रा गरी तीन जिल्लामा पुग्ने थप सुविधा भएको छ । तीनमुखे झोलुङ्गे पूलले रूरू क्षेत्रमा पर्यटकहरूको चहलपहल बढेको छ । झोलुङ्गे पूलले रिडीको स्वरुपमा आमूल परिवर्तन मात्र नभएर तीर्थाटन पर्यटन क्षेत्रको विकास भएको पालिका अध्यक्ष ज्ञवाली बताउँछन् । उनी भन्छन्–‘तीनमुखे पूल नमूना पूलको रूपमा स्थापित भएको छ । यसले रिडी आउने पर्यटकहरूलाई केही नयाँ स्वाद त दिएको छ नै, पर्यटकको संख्या पनि बढाएको छ ।’
अहिले रूरूक्षेत्रको समग्र विकासमा सरकारले गुरुयोजना बनाएको छ । अहिले गुरुयोजना अनुसार रूरू क्षेत्रमा धार्मिक पर्यटकीय क्षेत्रको विकास गर्न विभिन्न भौतिक संरचना निर्माण भइराखेका छन् । कालीगण्डकी ए परियोजनाको निर्माणपछि रूरू क्षेत्रमा पानीको बहाव कम भै पर्यावरणमा असर देखिन थालेको छ । अब कालीगण्डकीमा अर्गलीको कुँडापानी तल बाँध बाँधेर जलाशय निर्माण हुन लागेको छ । यो जलाशय निर्माण भइसकेपछि रिडी तीर्थाटन पर्यटकहरूको हब नै बन्ने आँकलन गरिएको छ । रिडीमा अहिले ऋषिकेश मन्दिरको भौतिक सुधार, रिडी खोलामा तटबन्ध निर्माण, व्यवस्थित चक्रपथ, वैज्ञानिक शवदाह गृह निर्माण, गौशाला, वृद्धाश्रम, धार्मिक साँस्कृतिक र ऐतिहासिक संग्रहालय र मन्दिरहरूको जिर्णोद्वार गर्न लागिएको छ । रूरूक्षेत्रमा तीर्थाटन गर्न जाने पर्यटकहरूलाई खाना बस्न कालीपारमा मगर, रिडीमा नेवार, थोर्गा भटकुवा र कुसेनीमा होमस्टे सञ्चालन गर्ने योजना बनेको छ ।
पछिल्लो समय सडक सञ्जालले रूरूक्षेत्र अर्थात् रिडी केन्द्र नै बनेको छ । गुल्मी जिल्लाको प्रवेशद्वारको रुपमा रहेको रिडीबाट पर्यटकहरूले तानसेन, तम्घास, ढोरपाटन, बल्कोट, मिर्मी, आलमदेवी र अर्घाखाँची समेत पुग्न सक्छन् । अर्कोतर्फ कोरलादेखि भारत जोड्ने कालीगण्डकी करिडोर र मदन भण्डारी लोकमार्गको संगम पनि रिडी भएकाले रूरूक्षेत्रमा पर्यटकहरूलाई जान सजिलो भएको छ । नेपालका मुख्य तीर्थस्थलमध्ये रूरू क्षेत्रको पौराणिक इतिहास र महत्व धेरै छ । पाल्पा, गुल्मी र स्याङ्जा जिल्ला सीमाक्षेत्रको बीचमा पर्ने रूरूक्षेत्र तीर्थाटनको लागि मात्र नभएर इतिहास र पुरातात्विक दृष्टिले पनि महत्वपूर्ण छ । धार्मिकरूपमा मात्रै नभएर अध्ययनको लागि पर्यटकहरू रिडी पुग्ने गर्दछन् । पौराणिक ग्रन्थमा उल्लेख भए अनुसार रूरू क्षेत्रमा देवदत्तमुनिले तपस्या गरी शिवत्व अर्थात् अष्ठसिद्धि प्राप्त गरेका थिए ।
रूरू क्षेत्र तीर्थाटन गरेपछि धेरै पर्यटक गुल्मीको रेसुङ्गा पुग्ने गर्दछन् । स्वामी शशिधर, लक्ष्मीनारायण तथा यदुकानन्दको तपोभूमि रेसुङ्गामा धार्मिक मठ मन्दिरहरू, प्यागोडा शैलीमा निर्माण गरिएको यज्ञशाला, होमकुण्ड, शिवलिङ्ग जस्ता धार्मिक स्थलले पर्यटकहरू रमाउँछन् । रेसुङ्गाको परिसरबाट तीर्थाटनमा गएका पर्यटकहरूले गुल्मी जिल्ला मात्र होइन पाल्पा, स्याङ्जा र अर्घाखाँची जिल्लाका विभिन्न ऐतिहासिक सम्पदा र प्राकृतिक स्थलहरूको अवलोकन गर्न सक्छन् । रेसुङ्गाको परिसरबाट धौलागिरि, निलगिरि, माछापुछ«ेलगायत १५ भन्दा धेरै हिमाल एवं रमणीय हिमश्रृंखलाहरू दृश्यावलोकन गर्न सकिन्छ । अहिले रेसङ्गा पुग्ने तीर्थाटनका पर्यटकहरूलाई निःशुल्क खाना बस्नको व्यवस्था समेत रहेको छ ।
बुटवलदेखि करिब ७० किलोमिटर उत्तर र तानसेनबाट ३० किलोमिटर रूरू क्षेत्र र त्यहाँबाट ४५ कि.मी पार गरेपछि गुल्मीको सदरमुकाम तम्घास पुगिन्छ । पर्यटकहरूको लागि खाना बस्न कुनै असुविधा छैन । पर्यटकहरूका लागि पर्याप्त होटलहरू बाटोमा भेटिन्छन् । यातायात खर्चबाहेक दैनिक एक हजार पाँचसय रुपैयाँ भए गुल्मीका ग्रामीण बस्तीहरू अध्ययन अवलोकन गर्न सकिन्छ ।




