२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

जाऔं इस्माकोट

जाऔं इस्माकोट

जाऔं इस्माकोट

जाऔं इस्माकोट

जाऔं इस्माकोट
बुधवार, आषाढ ६ २०८१
बुधवार, आषाढ ६ २०८१
  • न ठूला कलकारखाना, न अधिक स्रोत ! भौगोलिक हिसाबले मध्यपहाडमा पर्ने गुल्मीको इस्मा गाउँपालिका आफूसँग जे–जस्ता सम्पदा छन्, त्यसैलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी पालिकाको समृद्धितर्फ अग्रसर भइरहेको छ ।
    लुम्बिनी संवाददाता
    गुल्मी
    ऐतिहासिक, साँस्कृतिक र राजनीतिक महत्व बोकेको गुल्मीको इस्मा आफैंमा एउटा धरोहर हो । इस्माको इतिहासविना गुल्मीको इतिहास झल्कदैंन । प्रकृतिको मनोरम छटा र ऐतिहासिकता बोकेको इस्मा मध्य पहाडमा रहेकाले यहाँ ठूला कलकारखाना, खनिज पदार्थको उपलब्धता र ठूला बजारको अभाव छ । तर इस्माको साँस्कृतिक, धार्मिक र ऐतिहासिक महत्वलाई केन्द्रविन्दुमा राखेर सिंगो पालिकाको उन्नतिमा गाउँपालिका लागेको छ । पालिका अध्यक्ष भगतसिंह खड्का भन्छन्–‘कृषिसँगै पर्यटनलाई गाउँपालिकाको समृद्धिको आधार बनाएका छौँ ।’


    प्राचीन कालदेखि बाइसे चौबिसे राज्य बिस्तार हुने समयसम्म इस्मामा मानव बस्ती रहेको जनविश्वास छ । बाइसे–चौबिसे राज्यमध्येको एउटा राज्य इस्मा राज्य सोही इस्मा राज्यअन्तर्गत पर्ने थामागढी यहाँ इस्मा राज्य र राजा महाराजाहरूको सुरक्षा निमित्त सैनिकहरू बसोबास गर्न सैनिक ब्यारेक रहेको र इस्मा राज्यका राजा–रानीहरूको यहाँ पनि दरबार बनाइ बसेको इतिहास छ । अहिले पनि राजा–रानीले दरबार बनाइ बसेका केही भौतिक अवशेष देख्न सकिन्छ । सुरक्षाका हिसाबले पहाडको टुप्पामा बस्ने चलन बाइसे चौबीसे राजाहरूको पालादेखि नै सुरु भएको हो । सोही हिसाबले इस्मामा पनि राजाहरू इस्माकोटमा बस्दथे ।  


    नेपालको एकीकरण हुनुअघि चौबिसे राज्यमध्येको एक हो, इस्मा । विसं. १८४५ मा बहादुर शाहको फौजसँग इस्माली फौज हारेपछि इस्मा राज्य नेपाल राज्यमा गाभिन पुग्यो । सुरक्षाको हिसाबले राजाहरू उचो स्थानमा बस्न रुचाउने हुँदा इस्माली राजाहरू पहाडको टाकुरामा बस्ने गर्थे । त्यसलाई अहिले इस्माकोट दरबार रहेको छ । सोही कोटको नामबाट गाउँपालिकाको नामाकरण भएको हो । कोटमा दसैंको समयमा विषेश पूजा हुन्छ । २०६१ देखि इस्माकोटमा नेपाली सेनाको वीरभद्रजंग गुल्मको पोष्ट बस्दै आएको छ । अहिले इस्मा गाउँपालिकाको नामाकरण सोही इस्माकोट दरबारको नामबाट भएको हो ।


    इस्माको पर्यटनको केन्द्रबिन्दु मानिएको इस्माकोटमा पर्यटक भित्र््याउन र दरबारको संरक्षण गर्न इस्मा गाउँपालिकाले पनि वर्षेनी करोडौँकोे लगानी गरिरहेको छ । इस्माकोटमा रहेको महारानीले कपाल कोर्ने स्थानलाई गाउँपालिकाले जिर्णोद्धार गरिरहेको छ ।  


    त्यस्तै गुल्मी जिल्ला इस्मा गाउँपालिका वडा नं. ३ रामकोटदेखि थोरै नजिकै पातल सामुदायिक वनसँगै जोडिएको माथि सल्लेरीमा एउटा ऐतिहासिक थामागढी छ । यो स्थान निकै मनोरम र रमणीय छ । 


    यो ठाउँ आफैँमा सुन्दर छ र ऐतिहासिक महत्व बोकेको ठाउँ हो नै, तर सँगै जोडिएको घना जंगलले यसलाई अझ सुन्दर बनाएको छ । सोही जंगलमा विभिन्न किसिमका जडीबुटीदेखि वन्यजन्तुहरूको बासस्थान रहेको छ, यसले यहाँको पर्यावरणले मानिसलाई साँच्चै लोभ्याउँछ । विभिन्न किसिमका जंगली जनावरहरूको बासस्थान रहेको ठाउँ । देशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउन सक्ने सम्भावना बोकेको भ्रमण गर्ने योग्य उचाइमा अवस्थित थामागढी, जहाँबाट एकापट्टी निस्ती खोला बगिरहेको देख्न सक्छाँै भने अर्कोपट्टि छल्दी खोला बगिरहेको देख्न सक्छौँ । साथै गुल्मी जिल्लाका धेरै मनोरम प्राकृतिक दृश्य र पनि यो ठाउँबाटहरू देख्न सक्छौँ, साथै केही बाग्लुङ र अर्घाखाँचीका ठाउँहरू पनि देख्न सकिन्छ । 


    राजाहरूले सिकार गर्ने स्थानदेखि रानीहरूले स्नान गर्न ठाउँलगायत विभिन्न ऐतिहासिक ठाउँ देख्न सकिन्छ । तिनै राजाका प्रजाहरूले कृषि गर्दै आएको ठाउँ कृषि गर्नको लागि बनाएको खेती योग्य जमिन (बारी) हामी अहिले पनि देख्न सक्छौँ । नजिकै रहेको धार्मिकस्थल देउरालीमा अहिले पनि चैतेदसैं र वडा दसैंमा नवदुर्गाको पूजा गरिन्छ, वडा दसैंमा सोही ठाउँमा नौ दिनसम्म पूजारी बसेर नवदुर्गाको पूजा गरिन्छ भने अष्ठमीको दिन नवदुर्गालाई पशुहरूको बली दिने चलन छ । यहाँ भक्कलको रूपमा पशुहरूको बली दिँदा मानिसहरूको मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वास अहिले पनि रहेको छ ।


    गाउँपालिकाका अध्यक्ष खड्काका अनुसार पर्यटकीय सम्भावना बोकेको इस्माको ऐतिहासिकता जोगाउन र यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरेको छ । ‘इस्माकोटलाई केन्द्रमा राखेर इस्माका अन्य पर्यटकीय क्षेत्रको समेत विकास गरिरहेका छौँ । गुल्मीका जुनसुकै स्थानमा आउने पर्यटकहरू यहाँ पनि आउन र केही दिन घुमुन भन्ने हाम्रो उद्देश्य हो ।’– उनी भन्छन् ।


    हुन पनि गाउँपालिकाले अहिले इस्माकोट मात्रै नभएर अन्यत्र पनि विकास निर्माणका काम गरिरहेको छ । जस्तो कि, जैढुङ्थामा बीपी पार्क निर्माण भइरहेको छ । मगरकोटमा पर्यटकलाई पिङमा झुलाएर डाँडा काँडा देखाउनका लागि ‘हिल स्वीङ’को निर्माण भइरहेको छ । ऐतिहासिक र पर्यटकीय हिसाबले निकै रमणीय थामागढीमा पदमार्गको योजना गाउँपालिकाले ल्याएको छ । त्यस्तै वडा नं. ४ मा भिर्लेमन्दिर बनिरहेको छ । ‘इस्मा गाउँपालिका एउटा पूर्ण गन्तव्यको रुपमा विकास हुँदैछ ।’–पालिका अध्यक्ष खड्का भन्छन् ।


    इस्मा गाउँपालिकाको बिचोबिच बगिरहेको छल्दी खोलालाई उपयोग गरेर गाउँपालिकाले पर्यटकीय क्षेत्रमात्रै होइन सिँचाइको मुख्य स्रोतको रुपमा विकास गर्न लागेको छ । गाउँपालिकाका अध्यक्ष खड्काका अनुसार छल्दीको पानीलाई अमरपुरको चौरासीमा सिँचाइको व्यवस्था गर्ने परियोजना अघि बडेको छ । छल्दी जलासय सिंचाई परियोजनामा माछा पालन, डुङ्गा सञ्चालन र सिंचाइजस्ता बहुउदेश्यीय गतिविधि सञ्चालन गर्न सकिनेछ । 


    पालिका अध्यक्ष खड्काका भनाइमा पर्यटक तान्नका लागि पालिकाले ठूला योजनामा भन्दा स्थानीय र मौलिक शैलीमा ठूलो प्रभाव पार्न सक्ने साना योजनाहरूमा हात हालिरहेको छ । उनी भन्छन्,– ‘इस्माकोट दरबारलाई केन्द्रविन्दु बनाएर गाउँपालिकाले पर्यटनमा जे जति लगानी गरिरहेको छ, त्यो हिसाबले हेर्दा हामीले रूरू–रेसुङ्गा आउने  पर्यटकलाई एक पटक इस्मा पनि जाऔंं र रमाऔँ भन्ने भावना पलाउन सक्छ ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij