२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

मुसीकोट नगरपालिकाको बडीगाडमा जल विहारको सपना

मुसीकोट नगरपालिकाको बडीगाडमा जल विहारको सपना

मुसीकोट नगरपालिकाको बडीगाडमा जल विहारको सपना

मुसीकोट नगरपालिकाको बडीगाडमा जल विहारको सपना

मुसीकोट नगरपालिकाको बडीगाडमा जल विहारको सपना
बुधवार, आषाढ ६ २०८१
बुधवार, आषाढ ६ २०८१
  • महेश रिजाल
    गुल्मी
    गुल्मीको मुसिकोट नगरपालिकाले गत वर्षदेखि ‘ड्रिम प्रोजेक्ट’को रूपमा जलपर्यटनको विकासलाई अगाडि सारेको छ । र, त्यो स्वप्न परियोजना सम्पन्न गर्न लुम्बिनी प्रदेश सरकारको सहयोग मागिरहेको छ । 


    उत्तरतिर ढोरपाटनको फेंदबाट बडीगाड, पूर्वी बागलुङ हुुँदै आएको दरमखोला र दक्षिणतिर पश्चिमी गुल्मीबाट आएको निस्दी र छल्दीपनाहबाट सिंचित वामीटक्सार बजारमा पर्यटक तान्न उक्त स्वप्न परियोजना सम्पन्न गर्नै पर्ने हठ मुसिकोट नगरपालिकाको रहेको छ । 


    जलसम्पदामा निकै धनी मानिएको मुसिकोटमा पूर्ववर्ती जनप्रतिनिधिले जलपर्यटनको विकासका लागि निकै पहल गरेका थिए । यतिसम्म की पूर्व नगरप्रमुख सोमनाथ सापकोटाले बडीगाड खोलामा ¥याफ्टिङ्को सफल परीक्षणसमेत गराएका थिए । तर निजी क्षेत्रले उतिसारो चासो नदिएपछि बडीगाडमा ¥याफ्टिङ्ले व्यवसायिक रूप धारण गर्न सकेन ।


    हालका नगरप्रमुख जीवलाल खरेल भन्छन्– ‘बडीगाडमा हिउँदमा पानीको बाहवको कमी र वर्षायामा बाढीको समस्या  देखियो । निजी क्षेत्रले बढी रिस्क लिन नचाहेको देखिन्छ ।’


    यद्यपि, नगरपालिकाले बडीगाडमा देखिएका समस्या समाधान गरी जल पर्यटनको विकास गर्नका लागि वृहत् जलपर्यटन गुरुयोजना बनाएको छ । तर त्यसअनुसारको काम गर्न स्रोत सुनिश्चित गर्न नगरपालिकालाई हम्मेहम्मे भएपछि माथिल्ला सरकारको मुख ताक्नुपरेको नगरप्रमुख खरेल बताउँछन् । उनी भन्छन्–‘¥याप्टिङ्, माछापालन, वाटरपार्क स्विमिङ्ग पूल, जलविहारसहितका मनोरञ्जनात्मक जलक्रिया सञ्चालन गर्न सिंगो गुरुयोजनासहित प्रदेशको अर्थमन्त्रालयमा पेश गरिएको छ ।’  
    गुरुयोजनामा निस्सी, छल्दीपनाह, बडीगाड आएर मिसिएको त्रिकोणात्मक स्थानमा ड्याम बनाइ जलविद्युत् उत्पादनका साथै जलपर्यटन सञ्चालन गर्न सकिने योजना समेटिएको छ । 


       पिच सडकले तान्यो पर्यटक
    नगरप्रमुख खरेलको पालामा ४० वर्षपछि  बुटवल – पाल्पा – रिडीहुँदै  आवतजावत गरिने मुख्य सडक रुद्रवेणी – वामीटक्सार सडकको कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । आगामी वर्षभित्र उक्त सडक पुरै खालोपत्रे गरी सक्ने मेयर खरेल बताउँछन् । 

      वामिटक्सारबाट  बाग्लुङको हाँडीखोलास्थित मध्यपहाडी लोकमार्गमा जोडिने  उक्त सडक कालोपत्रे भएलगत्तै गर्मीयामको बेला बुटवललगायतका तराई भेगबाट  गर्मी छल्न आउने   आन्तरिक पर्यटकहरू बढ्न थालेका छन् । तर सुविधासम्पन्न  रिर्सोट र होटलको अभावमा वामिटक्सारमा बस्नु पर्ने  पर्यटकहरू दरमखोला हुँदै गल्कोट बजारतिर बस्न जाने गरेका छन् ।
    यसबारे मेयर भन्छन्–‘होटेलका लागि हामी निजी क्षेत्रलाई लगानीका लागि  यसै मिडियामार्फत् आह्वान समेत गरिरहेका छौँ ।’


     कफीको जिल्ला गुल्मी, मुसिकोट ओझेलमा
        देशका अन्य  जिल्लावासीले कफीको जिल्ला गुल्मी भनेर चिन्छन्, तर उत्पादन गर्ने मुसिकोट नगरपालिका हो भन्ने कुरा भने ओझेलमा परेको छ । मेयर खरेलले  मुसिकोटलाई कफी उत्पादनको पालिकाका रुपमा देशैभर र अन्तर्राष्ट्रिय जगतसम्म  चिनाउने प्रयासका साथ काम भइरहेको बताए । उनले थपे–‘त्यसैले त हामी  जापानको एक नगरपालिकामा पुग्यौं । कफीको पहिचान सुनायौ । त्यसपछि उहाँहरूलाई पनि हामीले हाम्रो पालिकामा आमन्त्रण गरी दुई नगरपालिका बीच भगेनी सम्बन्ध स्थापना गरिएको हो ।’


        उनले  जलपर्यटनसँगै कृषि पर्यटनका रुपमा पनि परिचित पालिका रहेको बताए ।   वडा नम्वर ६ आँपचौरका  स्वर्गीय हिरा गिरीले बर्माबाट ल्याएको एउटा कफीको बिरुवा रोपणपछि आँपचौर कफी उत्पादनका रूपमा  सिंगो देश र विदेशसम्म परिचित भइसकेको  छ ।  त्यसो त २०३६ र पछि २०४५  सालमा तिर तत्कालिन राजा वीरेन्द्र समेत भ्रमणमा आइ कफीको विकासमा चाँसो गरेको स्मरण गर्दै उनले भने–‘अहिले हामीले त्यहाँ  विशाल कफी बगैँचा स्थापना गरेका छौँ ।’


    उनका भनाइमा नगरपालिकाले  कफी किसानलाई  योगदानमा आधारित अनुदानको व्यवस्था गरेर प्रोत्साहित गरेको छ । कफीसँगै मुसिकोट नगरपालिका मह उत्पादनमा समेत अगाडि छ । यसरी मह, कफी र बडीगाडको माछा र अन्य रैथाने कृषि उत्पादनलाई बजारीकरण गर्दै  बाहिर समेत पठाउन सकिए मुसिकोटलाई चिनाउन र यहाँ पर्यटकहरू भित्र्याउन सकिन्ने कुरामा आफूहरू ढुक्क रहेको नगरप्रमुख खरेल बताउँछन् । 


    वडा नम्बर ६ का  वडाध्यक्ष  खड्कबहादुर खड्काका अनुसार  आँपचौर कफी विकास केन्द्र बाहेक स्थानीयवासीले वार्षिक ५ देखि ७ क्वीन्टल कफी उत्पादन  गर्दै आएका छन् ।  कफीमा लाग्ने विभिन्न किसिमका रोग निवारण मुख्य चुनौती बनेको छ । माथि १९ रोपनी क्षेत्रफलमा  करिव ५ सय वटा कफीका बिरुवा रोपण गरिएको छ ।


       त्यसमा नगरपालिकाले करिव १४ लाख लगानी गरेको छ । मुख्य सडक आँपचौर तल्लाफाँटबाट माथि  त्यस भेगकै ठूलो शक्तिपिठ  दिब्रुङ्गदह तपोभूमि हुँदै शान्तिपुर बजार जोड्ने सडकको स्तरवृद्धिका  लागि संघीय सरकारबाट बजेट पर्दै आएको छ  । दिबु्रङ्गदह तपोभूमि क्षेत्र मुसिकोट नगरपालिका समेतको धार्मिक र पर्यटकीय क्षेत्र हो । त्यहाँ टापु हुँदै  सालिमेदह तमोभूमि पनि आकर्षक  गन्तव्य स्थल हो ।


      त्यस स्थानमा पोखरी, आश्रमस्थल अनेकन अन्य संरचना निर्माण चलिरहेको मेयर खरेलले जनाए ।  प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा  सालिमेदह  धार्मिक क्षेत्रको विकाससँगै  त्यहाँदेखि चन्द्रकोट  गाउँपालिका, त्यसमा पनि दिब्रुङ्गदह जोड्ने मोटरबाटो खन्ने  स्तरवृद्धि गर्ने काममा पनि स्थानीय सरकार लागिपरेको उनको भनाइ छ ।
      सालिमेदह, मुसिकोट दरबार, वामीकोट,  पौदेलीहरूको थामा छत्रकोट, मुसिकोट बुढाथोकको जागीथुम कोटलाई त्यस पालिकाले धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास गर्दै आएको छ ।


       यी कोटसम्म पुग्ने  आकर्षक पदमार्गका अलवा मोटरबाटो समेत बनाइएको  छ । प्यागोडा शैलीका कोट मन्दिर निर्माण भएका छन् ।  मुसिकोट दरबार पारी थुमपार्कलाई लालिगुराँस पार्क तथा पिकनिकट स्पोर्ट निर्माण , आकर्षक मन्दिर  निर्माण भइसकेको छ भने त्यसलाई थप आकर्षक  गन्तब्य स्थान बनाउन नगरपालिका लागिपरेको छ ।


        त्यस्तै वडा नम्बर ६ को आँपचौर तल्लाफाँटमा बडीगाड खोलाको बगरलाई  तडबन्ध गरेर  उपभोग्य जमिन बनाउँदै  निकै आकर्षक र विशाल शहीद पार्कको निर्माण गरिएको छ । 


    अर्को आकर्षक गन्तब्य स्थान हो, श्रृङ्गा सामुदायिक वन  । टाढाबाट हेर्दा चिल लड्ने जस्तो  डाँडो देखिए पनि त्यहाँ पुग्दा विशाल समथल मैदान छ । चारैतिरको  दृश्य नियाल्न सकिने त्यस स्थानमा पनि नगरपालिकाले पिकनिक स्थलका रूपमा विकास  गरिरहेको छ । त्यहाँ टहरा निर्माणदेखि खानेपानीको सुविधा पुराएको छ । शनिबार र  अन्य बिदाको दिन त्यहाँ  पिकनिक आउने मानिस कहिल्लै खाली हुँदैनन् ।


      छिमेकी जिल्ला बाग्लुङसम्मका मानिसहरूको आकर्षक   गन्तव्यस्थल रहेको त्यस  स्थान वर्षौँ अघि नेपाली सेनाको रोजाइमा समेत परेको थियो ।  सामरिक दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको  श्रृंगा टापुमा व्यारेक बस्न उपयुक्त थलो मानेको थियो, नेपाली सेनाले ।


       २०४० को दशकसम्म नेपाली सेना थागीथुम व्यारेको चौमासिक फाइरिङ्ग रेञ्ज समेत थियो ।  त्यस्तै लुम्बिनी मेडिकल कलेल पाल्पा प्रभासमा बस्नु अघि  श्रृङ्गामा  रोजियो, तर स्थानीयले अवरोध गरेपछि बस्न सकेन । स्थानीय भन्छन्–‘उति बेला बुद्धि पुगेन, अहिले आफ्नो भाग्य आफैँ खोसे झैँ महसुस गरिएको छ ।’


       त्यो स्थान आरोग्यस्थलका रुपमा समेत अत्यन्तै उपयुक्त थलो छ ।   वरिपरि सल्लाका रूख, त्यसको सुस्साहटसँगैको चिसो हावा,  पश्चिमतर्फ निस्ते खोला, उत्तर र पूर्वतर्फ बडीगाड खोला,  निकै सुन्दर गाउँबस्ती, उत्तर पूर्वतर्फ गगनचुम्बी हिमश्रृंखलाको  दृश्यावकोलनले मन शान्त हुन्छ ।


       मनोरोग निवारणका अलवा त्यस थलोलाई मेला महोत्सवलगायतको  व्यापारिक केन्द्र बनाउनु पर्नेतर्फ नगरपालिकाको ध्यान जान सकेको छैन ।  हुन त स्थानीय सरकारको  आर्थिक श्रोतले भ्याउन सक्ने कुरै भएन, यसर्थ त्यहाँ  कुनै न कुनै गौरवको योजना पार्नमा   संघ वा   प्रदेश सरकारको ध्यान जान जरूरी देखिएको छ ।  


      चिच्याएर बर मागे सुन्ने,  नत्र नसुन्ने मालिका
      अर्को महत्वपूर्ण धार्मिक स्थल हो कुर्घा मालिका  । पौराणिक  कथाअनुसार कुर्घा मालिकादेवी कान कम सुन्ने थिइन । त्यसले उनीसँग चिच्याएर  बर  माग्नु पर्छ र  त्यसरी मागे हरेकको  मनोकांक्षा पूरा हुने जनविश्वास रहेको  छ ।
       मालिकादेवी मन्दिर माथिबाट बगेको झरना धार्मिक पौराणिक दृश्यले जति महिमा पूर्ण छ त्यति नै मनोरम पनि छ । माथि निकै सुन्दर र  उच्च सालिमेदह लेक तर्फबाट बगेको झरना , मठमन्दिर र अनेकन संरचनाले मालिका मन्दिर क्षेत्रलाई आकर्षक  गन्तव्य स्थान बनाइएको छ ।


       हरेक वर्षको मंसिर महिनामा पर्ने बैकुण्ठ चर्तुदर्शीका दिन त्यहाँ भव्य मेला लाग्ने गर्दछ ।   अघिल्लो दिन साँझदेखि नै त्यहाँ     गुल्मी र बाग्लुङसम्म मानिसहरू बास बस्न आउँछन् । रातभरी झ्याउरे गीत गाएर, नाच्ने  गरिन्छ । केही वर्षअघिसम्म अधिकांश  विवाहित बुढाबुढी जोडीहरूले भन्ने गर्दथे–हाम्रो  पिरती  मालिकाको राममा  (मेला)  झाम्रे गाउँदा  देखिको हो । बुडाले भन्थे यसलाई (श्रीमती) लाई त्यही मालिकाको झाम्रोबाट भगाएर ल्याएको हुँ ।


      अनि जिस्किदै बुढीमाउँदे भन्थिन्–कम्ता झिल्के थिएर यीनी, लत्तार्दै ल्याएका हुन् । अहिले पनि मेला लाग्नुको अघिल्लो दिन साँझ झाम्रे – झ्याउरे गाउने चलन छ ।   विशेषतः बाग्लुङ्गेहरू डम्फु, मादल नै बोकेर आउने गर्छन् । पश्चिम नेपालको  प्रशिद्ध सुनिमाया र यानीमायाको गीत भाका सुन्न, तरुल सकरखण्ड, बिराम्ला , विभिन्न प्रकारका अचार रोटीलगायत जनजाति परिकारको खानपिनका लागि पनि मालिका  मेला  प्रशिद्ध छ ।  अर्को दिन बिहान दुई बजेदेखि नै मालिका देवीको दर्शन गर्दै बर माग्नेहरूको निकै लामो पंक्ती हुन्छ ।


      साँझ अबेरसम्म मानिसहरू पंक्तीबद्ध देखिन्छन् । विशेषतः बाँसको चोयाकाँ डालाडाली, सोली, डोका र थुन्से नाम्ला दाम्लाका स्थानीय उत्पादनको  निकै व्यापार हुने गर्दछ ।  त्यस मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि सापकोटाका अनुसार  पछिल्ला  चरण  पनि मालिका मन्दिरको महिमा बढ्दो  छ । छिमेकी जिल्ला अर्घाखाँची र बुटवलसम्मका मानिसहरू भाकल चढाउन आउने गरेका छन् ।


        त्यसलाई मध्येनजर गर्दै त्यस पालिकाले वामी मैदानदेखि त्यहाँसम्म, त्यहाँदेखि उता आँपचौरसम्म र तल  भुँवाचिदीसम्मको मुख्य सडक जोड्ने सडक सञ्जाल बनाएको छ ।  तर स्तरोन्नति हुन नसकेको स्थानीयको  गुनासो छ । 


    आकर्षक गन्तव्य स्वाँरा होमस्टे
     मालिका मन्दिर अलि माथि स्वाँराको गुरुङ बस्तीमा  त्यस समुदायको  परिकार, कला –सांस्कृति, भेषभूषामा आधारित    नगरपालिकाले होमस्टे सञ्चालनमा ल्याएको छ ।    जब सदरमुकामलगायतका व्यस्त मानिसहरूलाई मानसिक तनाव हुन्छ वा ताजगी लिन गुम्न रुचाउँछ त्यसपछि स्वाँरा होमस्टेतर्फ गाडी कुँदाउँदै लाग्छन् । सदरमुकामबाट सबैभन्दा नजिकको होमस्टे भनेकै स्वाँरा हो ।


     त्यस्तै मगर समुदायको बसोबास रहेको वडा नम्बर ४ को दजाकोटमा पनि त्यस पालिकाले होमस्टेको सोँच अगाडि सारेको छ ।


    ऐतिहासिक थलो मुसिकोट
      मुसिकोट आफैँमा  ऐतिहासिक थलो हो । भुरेटाकुरे राज्यकालमा पारी   पूर्व उत्तर बाग्लुङसम्म पश्चिम इस्माको पालुखासम्म मुसिकोट राज्य थियो ।  मुसिकोट राज्यको स्थापना विक्रम सम्वद १५५० मा स्थापना भएको,  त्यसउता  सारु मगरहरूले राज्य गरेको, तर त्यसयता  सिंहबंशहरूले राज्य गर्न थालेको । जसका संस्थापक अर्थात् प्रथम राजा विजयप्रताप सिंह रहेको र पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानका क्रमममा विना रक्तपात मुसिकोट राज्य विघटन भएको थियो । त्यस राज्यका अन्तिम राजा १८०४ मा तिलकचन्द्र सिंह रहेको उनै सिंहबंशका सन्तती   मुसिकोट मैदानका  ७२ वर्षीय समाज सेवी पदमबहादुर सिंह बताउँछन् ।  


     गौरवका योजनामा ध्यान नगएको गुनासा
     मुसिकोट नगरपालिकाका पूर्व मेयर सोमनाथ सापकोटाले पूर्ववर्ती सरकारले अगाडि सारेका केही ठूला गौरवका योजनाहरूमध्ये केही योजनाहरू अलपत्र जस्तै परेको गुनासो गर्छन् ।  उनले भने–‘हाम्रो पालामा  पर्यटन पूर्वाधारसँगै जोडिने मुसिकोट रिङ्गरोड ९ वटा गौरवका योजनाहरू मध्ये एक हो ।  त्यसमा १० मा तीन वर्षीय  योजनाअन्तरगत १० करोड परेको थियो । त्यसको काम चलिरहेकोमा खुशी लागेको छ ।’


       मध्य पहाडी लोकमार्ग बाग्लुङको राक्से लिलिङ्ग, थामडाँडा, भञ्ज्याङ्ग  दोभान हुँदै पुनः राक्से जोडिने उक्त सडकको स्तरोन्नति भएपछि आन्तरिक पर्यटक  स्वभाविक रूपले बढ्ने  सापकोटाको भनाइ छ ।


       उनकै पालामा बाग्लुङ्गको खौलारा जोगीबगरबाट पारी मुसिकोटको भर्माचौरमा पक्की पूल बनेपछि वारिपारिको व्यापारिक र अन्य चहलपहल बढ्न सुरु गरेको छ । त्यस्तै मुसिकोटदेखि इस्मा जोड्ने पूल पनि बाङ्गे तल बनेपछि बाग्लुङ्ग, इस्मा  यात्राको मुसिकोट ट्र««ान्जिट पोइन्ट बन्न पुगेको छ ।  पौदीअमराइको भाटी पुरानो व्यापारिक केन्द्र हो । बीचमा बजार सुकेको अवस्थामा उक्त सडकले त्यस व्यापारिक केन्द्रलाई पुरानै लयमा फर्काइ दिएको छ ।


        मुसिकोट दरबारको पुनर्निर्माण पनि पूर्ववर्ती सरकारको  गौरवको योजना भएको सापकोटाले बताए । त्यस्तै थुमापार्क,  ग्वादीकाचौर खेल मैदान, तल्लाफाँटा ढोडेनी शहीदपार्क, सालिमेदह,   १५ शैयाको अस्पताल, प्रशासकीय भवन, पौदीछत्रकोट मन्दिरलगायत पूर्ववर्ती सरकारका गौरवका योजनामध्ये ग्वादीकाचौर र ढोडेनी शहीदपार्कको योजना अलपत्र जस्तै परेको प्रति  सापकोटाले गुनासो गरेका हुन् । 


      उनका अनुसार ग्वादीकाचौर खेल मैदानमा करिव ३ करोड खर्च भएको छ । त्यसमध्ये १ करोड २८ लाखमा तटबन्ध निर्माण भएको छ । करिब एक करोडमा कभर्डहल निर्माण भएको छ ।  सभाहल पनि बनाइएको छ । उक्त खेल मैदान जिल्लाको सबैभन्दा ठूलो र आकर्षक मानिन्छ ।  बडीगाड खोला किनारमा अवस्थित ग्वादीका चौर आफैँमा पर्यटकीय स्थल हो ।
    ढोडेनी शहीदपार्क  चन्द्रकोट गाउँपालिका पार गरिसकेपछि मुसिकोट नगरपालिकाको प्रवेशद्धार हो । नगरमा प्रवेश गर्ने अतिथि र पर्यटकहरूलाई त्यहाँ स्वागतका रुपमा घुमाउने, बसाल्ने उद्देश्य बोकेर  गौरवको योजनामा पारिएको हो । 


      झण्डै ३ सय रोपनी बगरलाई करिव ४० लाख खर्चेर तटबन्ध निर्माण गरेपछि त्यो जमिन उपयोगमा आउन सुरु गरेको सापकोटाको भनाइ छ । पार्कभित्र पदमार्क, वाटरपार्क, सेल्फी टावर, खानेपानी, स्टोर, सभाहल,   सुविधासहितको पिकनिक ट्रस्ट निर्माण भएको छ । विभिन्न प्रजातिका वनस्पति र  फूलहरूले सजाउने र   स्वीमिङ्ग पूललगायतका अवधारणाहरू  निर्माणमा ध्यान नगएको सापकोटाले गुनासो पोखे । तर मेयर सापकोटाले क्रमशः सबै गौरवका योजनाहरू सम्पन्न गर्दै मुसिकोटलाई आकर्षक गन्तब्य स्थल बनाउने प्रतिबद्धता जनाए ।


     जहाँ  नेवारको नजर त्यहाँ बजार
     बाग्लुङ्ग र गुल्मीको सिमनामा अवस्थित वामिटक्सार बजार  चारैतिर जलसम्पदाको धनी भएको र दुई जिल्लाको  संगमस्थल भएकोले पनि  व्यापारिक केन्द्रको खोजी गर्न जानेका  काठमाडौँ र भक्तपुरका नेवार समुदायले सदियौंअघि वामिटक्सारलाई रोजे ।
      त्यसमा पनि तत्कालिन सरकारले वामीमा पैसा काट्ने बाणहरू पठायो । पैसा काट्ने थलोलाई टक्सार भनिने हुँदा वामिटक्सार नामाकरण हुन गएको पाका पुस्ता बताउँछन् ।  रिडी र त्यस  स्थानम नेवार समुदायको नजर परे लगत्तै यी दुई थलोमा  जिल्लामा सबैभन्दा  पहिला जिल्लामा बजारीकरण सुरु भएको बुढापाकाहरू बताउँछन् ।


       सदरमुकाम तम्घास,  धुर्कोट वस्तुको हटिया, पुर्कोटदह, पौदी हटियो, मुसिकोट मैदान, देउराली, उता पूर्तिघाट, शान्तिपुर,  जोहाङ्ग, खैरेनी, शाहघाट, चोरकाटे, मजुवालगायतका पुराना व्यापारिक स्थानमा उति बेला बाणा भनेर चिनिने नेवार समुदायहरू आएर व्यापार गर्न थालेपछि जहाँ नेवारको नजर त्यहाँ बजार भन्न थालिएको बुढाकापाकहरू बताउँछन् । त्यसो त गुल्मीसहित पाहाडी जिल्लामा नेवारसँगै थकाली समुदायले पनि बजारीकरणमा टेवा पुराउँदै आएका थिए ।
      मुसिकोट नगरपालिका प्रवेशद्धार अर्थात्   राताडाँडा हुँदै निस्ते खोला पूल  सिमाना पर्दछ ।   उक्त स्थान सदरमुकामदेखि करिव १५  किलो मिटरको दुरीमा रहेको छ ।


      देशकै प्रशिद्ध धार्मिक स्थलको ट्रान्जिट पोइन्ट
    मेयर सापकोटाले नेपालकै एक मात्र शिकार आरक्षण र पवित्र धार्मिक स्थल उत्तरगंगा रहेको डोरपाटन, अन्तर्राष्ट्रिय क्षेत्रसम्म प्रशिद्ध मुक्तिनाथ,  कागवेनी, जोमसोम, पर्वतको गलेश्वर, बाग्लुङ्गक कालिका, अर्को प्रशिद्ध पञ्चकोट जस्ता  महत्वपूर्ण  पूज्य थलोमा जाने तिर्थ यात्रीहरूको वामिटक्सार बजार  पहिलैदेखि बसोबास गर्ने थलो भएको र अहिले मोटरबाटोको सुविधाले थप यस थलो ट्रान्जिट पोइन्ट बनेको  बताए ।


    मुसिकोट नगरपालिका दक्षिण  सदरमुकाम तम्घासबाट उत्तर र पूर्वी गुल्मीतर्फ   पर्दछ ।  सदरमुकामबाट त्यस नगरपालिकाको प्रवेशद्धार रातडाँडा कटेपछि निस्ती खोला पक्की पूल पर्दछ ।  त्यस स्थानसम्मको दुरी करिव १५ किलो मिटर रहेको छ ।    त्यस्तै केन्द्र रहेको वामिटक्सार बजार  भञ्ज्याङ्ग ईन्द्रगौडा वा भञ्ज्याङ्ग मुसिकोट मैदान हुँदै ३५ किलो मिटर दुरीमा पर्दछ । बुटवल, पाल्पा हुँदै रिडी प्रवेश गरेपछि पिच सडक हुँदै  रिडी – रुद्रवेणी – वामिटक्सार  ४० किलो मिटर दुरीमा पर्दछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij