गुल्मीको छत्रकोट गाउँपालिकामा उँखु र सुन्तलाको उत्पादनले कृषिजन्य उत्पादनको रुपमा आम्दानी मात्रै भित्र्याइरहेको छैन, नमूना कृषि पर्यटनको मुख्य आधारसमेत बनेको छ ।
लुम्बिनी संवाददता
गुल्मी
छत्रकोटमा ०८० फागुन पहिलो साता उखुु महोत्साव भयो । स्थानीय पहिचान बनाएको खुदो, गुणको व्यवसायिक उत्पादन र बजारिकरणका लागि यो महोत्सव कोसेढुंगा नै सावित भयो । उक्त महोत्सवमा हजारौं आन्तरिक पर्यटकहरू सहभागी भए । उनीहरूले छत्रकोटको गुण, खुदोबारे थाहा पाए ।
छत्रकोट गाउँपालिकाको वडा नं. ४ दिगाम, हर्दिनेटा र खर्ज्याङ्गको केहि स्थान धेरै बर्ष पहिले देखि खुदो र गुणको लागि प्रशिद्ध रहेको छ । पछिल्लो समय छत्रकोटको करिब सबै वडामा उखुको ब्यवसायिक खेति गरिएको छ । छत्रकोट गाउँपालिकाले बिगत केही बर्ष देखि बिभिन्न स्वरुपमा लगानी र अनुदान दिई रहेको छ । गत बर्ष ६ लाख र यस बर्ष १० लाख रुपैया उखुको बिउको लागि अनुदानको ब्यवस्था गरेको छ । गाउँपालिकामा पछिल्लो समय उखु उत्पादनको क्षेत्र बिकास भएको छ । छत्रकोट गाउँपालिकाको उत्पादन खुदो गुणको माग बढ्दो छ ।
छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेय भन्छन्, ‘उँखुमा पालिकाको पहिचान स्थापित भएको छ । किसानहरूले उखुखेतिलाई नमूना कृषिकर्मको रुपमा अगाडी बढाइरहनुभएको छ ।’
उँखुमात्रै होइन, पालिकामा सुन्तलाकोे उत्पादन पनि उत्तिकै राम्रो हुने गरेको छ । अधिक सुन्तला फलेपपछि गत वर्ष नेपालमै पहिलोपटक सुन्तला महोत्सव आयोजना गरिएको थियो । सुन्तला उत्पादनमा पकेट क्षेत्रका रूपमा पहिचान बनाएको छत्रकोटमा किसानको उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले एक दिने सुन्तला महोत्सव सञ्चालन गरिएको थियो। महोत्सवले व्यवसायिक किसानहरू उत्साहित भएका छन्।
महोत्सवमा एकैदिन १० क्विन्टलसम्म सुन्तला बेचेका किसानहरू उत्साहित छन् । छत्रकोट गाउँपालिकाका १ सय ६० घरधुरीले व्यवसायिक सुन्तला खेती गर्दै आएका छन्। ती किसानहरूले यसवर्ष करिव साढे दुई करोड बरावरको सुन्तला बिक्री गरेको समूहले जनाएको छ। आगामी पाँच वर्षभित्र गाउँपालिकाभरी ५ देखि ७ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री हुने लक्ष्य लिइएको छ।
गाउँपालिकाका प्रशासकीय अधिकृत वीरबहादुर पुनका भनाईमा पालिकामा उँखु र सुन्तलाकेन्द्रित कृषि पर्यटनको सम्भावना अधिक रहेको छ । त्यसका लागि पालिकाले उखु र सुन्तला किसानलाई व्यवसायिकतातर्फ लैजानका लागि चरणवद्ध नीति तथा कार्यक्रहरू अख्तियार गरेको छ । उनी भन्छन्, ‘त्यतिमात्रै होइन, कृषिलाई पर्यटनसँग जोडेर कसरी पालिकाको समृद्धि हासिल गर्न सकिन्छ भनेर गाउँपालिकाले थप कार्यक्रमहरू पनि ल्याइरहेको छ ।’
देवालयको आकर्षण
तानसेन–रिडी–तम्घास मोटर बाटोको नजिकै फराकिलो ठाउँ। गुल्मी अर्धाखाँची पाल्पा बाग्लुङका डाडाँ काँडाको दृष्यावलोकन समेत गर्न पाउँदा मन प्रफुल्ल हुन्छ । अझै त्यसै माथि छत्रकोट देवालयको दर्शनले मनोकांक्षा पूरा हुन्छ । पछिल्लो चरणमा चोएगाको छत्रकोट देविस्थानलाइ आन्तरिक पर्यटकहरूलाइ तान्ने गरि विकास गरिएको छ । समतल रमणीय र धार्मिक परिवेश लिएको चोएगाको यो ठाउँ घुम्न देविको दर्शन गर्न र बनभोज खान आउनेको घुँइचो लाग्ने गरेको छ ।
‘विदाको दिन त खुट्टो राख्ने ठाउँ हुँदैन । वनभोज खान आउने धेरै समूह हुन्छन् ।’ छत्रकोट देवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण थापाले भने । ‘हुन पनि वरिपरि सल्लाका रुखहरूले रमणीय बनाएको त छ नै सँगै रहेको ठूलो चौरमा वनभोजका लागि जतिपनि ठाउँ छ र पानीको ओतका लागि चौेरमै टहरो समेत बनाइएको छ।’
‘वनभोजका लागि आउनेहरूलाई दाउरा पानी र भाँडाकुँडाको व्यवस्था छत्रकोट देवालय मन्दिरले व्यवस्था गरेको छ । वनभोजमा आउने समूहसँग प्रति समूह ३ हजार ५ सय लिएर दाउरा भाँडा–कुँडा पानी उपलब्ध गराउँछौ भने फोहोर व्यवस्थापनजो खर्च पनि यहि रकमबाट हुने गरेको छ । ’ देवालय व्यवस्थापन समितिका अध्यक्ष थापाले भने । तर, दाउरा भाँडा–कुँडा आफै ल्याउनेहरूका लागि भने लाग्ने शुल्कमा सोहि अनुसार घटाएर लिने गरेको थापाले बताए ।
वनभोज बाट उठ्ने रकम मन्दिरको भेटिले मन्दिरको पुनर्संरचनासँगै दैनिक पुजा–आजा भइरहेको छ । मन्दिर परिशरमा लुम्बिनी प्रदेशका सांसद कमलराज श्रेष्ठको पहलमा पौवा र मन्दिर व्यवस्थापन समितिको कार्यालय निर्माण कार्य सम्पन्न भएको छ ।छत्रकोट देवालय मन्दिर परिशरमा क्षत्र ,राधाकृष्ण पाँच पाण्डव ,दुर्गा मन्दिर , गणेश मन्दिर रहेका छन्।
प्रसिद्ध छत्रदेवालय क्षेत्रमा देव देवीको दर्शन,भाकल चढाउन र बलि दिन समेत धर्मावलम्बीहरू आउने गर्दछन । एकातिर देव देवीको दर्शन र अर्को तिर वनभोजको कार्यक्रमसहित गुल्मीका ग्रामिण र बजार क्षेत्रमात्र होइन बुटवल र पाल्पाबाट समेत यहाँ दर्शनार्थी र बनभोज समुह आउने गरेको पाइन्छ ।
नीति कार्यक्रममा पर्यटन
छत्रकोट गाउँपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति कार्यक्रममा नै पर्यटनलाई सम्बोधन गरी केही कार्यक्रम पारित गरेको छ । जस्तो कि, ‘रूरू–रेसुङ्गा धार्मिक आस , छात्रकोट मै बसौ बास’ भन्ने मुल नारालाई साकार पार्न छत्रकोट २ पल्लिकोटमा होमस्टे संचालन गर्ने भएको छ । त्यस्तै सुविधा सम्पन्न होटल संचालन गर्ने निजि क्षेत्रलाई प्रोत्साहित गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ । छत्रकोटको पहिचान झल्किने गरी सामग्री प्रदर्शनका लागि संग्रालय बनाईने घोषणा पनि गाउँपालिकाले गरेको छ ।
त्यस्तै, ‘छत्रकोट घुमाऔ’ अभियान अन्तर्गत छत्रकोटका सबै वडामा रहेका धार्मिक , सास्कृतिक र पुरातात्त्विक महत्वका पत्यटकिय स्थलहरूको संरक्षण , सम्बर्द्धन र प्रचार प्रसार गर्ने नीति पनि गाउँपालिकाले अगाडि सारेको छ । वडा नम्बर ३ को छत्रकोट देवालय मन्दिर देखि भगवति मन्दिर लुम्छा सम्म जिपलाईन यसै आर्थिक बर्षभित्रै सम्पन्न गरिने भएको छ ।
त्यस्तै सोही वडाको भेडुवा राममन्दिर देखि चोयगा मन्दिर सम्म पर्यटकिय आकर्षणको लागि झोलुङ्गे पुल निर्माण गरिने भएको छ । वडा नम्बर १ को देउति ढुङ्गा गुफा र वडा ४ दिगाममा रहेको सिद्धपानी गुफालाई ब्यबस्थित गरिने घोषणा गरिएको छ । त्यस्तै दिगामको थुम्किमा रहेको कालिका मन्दीर र मौलिपोखरा ताललाई जोडेर पर्यटकीय बिकास गर्ने लगायतका कार्य गाउँपालिकाले अगाडि सारेको छ ।
गाउँपालिकाका अध्यक्ष पाण्डेका अनुसार आगामी वर्षभित्र गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रमा आधारभूत पूर्वाधार निर्माण भइसक्नेछ भने प्रचारप्रसारको काम पनि दु्रत गतिमा सञ्चालन हुनेछ । उनी भन्छन्, ‘त्यसको प्रभाव पर्यटकको आवागमनमा पनि देखिने हाम्रो आसा रहेको छ । हरेक वर्ष पर्यटकीय चहलहिल बढिरहेको देखिएकाले आगामी आर्थिक बर्षको नीति कार्यक्रम कार्यान्वयन भएपछि पर्यटकको आवागमन अझ बढेर जाने विश्वास लिएका छौँ ।’




