‘जाउँ हिँड रेसुङ्गा’को प्रभावः
रेसुङ्गा नगरपालिकाले सञ्चालन गरेको ‘जाउँं हिँड रेसुङ्गा’ अभियानकै कारण रेसुङ्गा धार्मिक क्षेत्र भ्रमण गर्न जाने आन्तरिक र बाह्य पर्यटकको संख्या इतिहासकै सबैभन्दा धेरै पुगेको छ ।
प्रेम सुनार
गुल्मी
गुल्मीको प्रशिद्ध धार्मिक क्षेत्र रेसुङ्गामा गत एक वर्षको अवधीमा पर्यटकहरूको संख्या ह्वात्तै बढेको छ । रेसुङ्गा संरक्षण समितिका अनुसार गत एक वर्षमा यहाँ आउने पर्यटकहरूको संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालका अनुसार दैनिक जसो दुई-तीन वटा बस र साना गाडीमा आन्तरिक र बाह्य पर्यटक आउने गर्छन् । बाह्य पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय छन् ।
उनी भन्छन्–‘यो संख्या हालसम्मकै बढी हो । देशका सबै जिल्लाबासीले यस वर्ष रेसुङ्गाको दर्शन गरे ।’
रेसुङ्गा नगरपालिकाले गत वर्षदेखि जाउँ हिँड रेसुङ्गा अभियान सुरु गरेको थियो । त्यस्तै अयोध्याबाट सन्तलाई निमन्त्रण गरी रेसुङ्गामा महायज्ञ पनि आयोजना गरिएको थियो । ‘यस्तै यस्तै गतिविधिले पर्यटकको संख्या बढ्नमा मद्धत पुगेको छ ।’–भुसाल भन्छन् ।
‘जाउँ हिँड रेसुङ्गा’को अभियानको व्यापक प्रचारप्रसारका कारण गत एक वर्षयता रेसुङ्गा आउने पर्यटकको संख्या ह्वात्तै बढेको छ । पालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले गत बैशाख महिनादेखि सुरु गरिएको जाउँ हिँड रेसुङ्गा अभियानसुरु भएयता अहिलेसम्म रेसुङ्गा धार्मिक क्षेत्रमा एक लाखभन्दा धेरै पर्यटकले भ्रमण गरेका छन् ।
धार्मिक पर्यटक मात्र नभई घुमफिर, अवोलनका लागि पनि उक्त संख्यामा मानिसहरू आएका हुन् । रेसुङ्गा काखमा निर्माण गरिएको रेसुङ्गा पार्कमा नयाँ वर्षको दिन २४ सय जनाले टिकट काटेका थिए । ७५ हजार राजस्व संकलन भएको छ । ‘धर्म संस्कृति र प्रकृतिको संगम तपोभूमि रेसुङ्गा धाम, धर्म संस्कृति र प्रकृतिमा रम्न रेसुङ्गा जाम ’ भन्ने मूल नाराका सुरु गरिएको अभियानसँगै रेसुङ्गाको प्रचार सामग्री व्यापक पारिएको छ ।
रेसुङ्गाका मेयर खिलध्वज पन्थीका भनाइमा रेसुङ्गाको पौराणिक, धार्मिक र पर्यटकीय महत्वकाबारे देशका प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्रीहरू र देशका उच्च पदस्थ व्यक्तिहरूसम्मलाई अवगत गराइएको छ । ‘हामीले यस वर्ष एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिएका थियौं । जुन नाघि सक्यो । जबकी रेसुङ्गा पार्कमा मात्रै एकै दिन करिव २५ सय मानिसले अवलोकन गरे ।’–उनी भन्छन् ।
नगरपालिकाले अब रेसुङ्गासहित यस क्षेत्रको पर्यटकीय विकासका लागि नयाँ ढंंगले सोचिरहेको छ । जस्तो की, पहाडी जिल्लामा बसाईसराइको समस्या, युवाहरूलाई रोजगारीको वातावरण नभएको अवस्थामा बसाईसराइ रोक्ने, युवाहरूलाई लगानीको वातावरण सिर्जना गरी रोजगारीको ब्यवस्था गर्नेजस्ता समाधानको मुख्य प्रस्थानविन्दु जाउँ हिँड रेसुङ्गाको अभियान रहेको छ । ‘यो रेसुङ्गाको मात्रै कुरा होईन सिंगो गुल्मी जिल्लाको समुन्नतीको आधार बन्ने छ । यस क्षेत्रको पर्यटकीय विकासका लागि हामीले दुई तीन वटा सर्किटका रुपमा अगाडि सारेका छौं,’ उनी भन्छन्– ‘एउटा देवघाटबाट केही मानिस कालीगण्डकी कोरिडोर हुँदै आउनु हुन्छ । त्यस्तै पाल्पाको रानीमहल, देशकै चारधाम मध्येको एकथाम रूरूक्षेत्र हुँदै रेसुङ्गा आउनु हुन्छ ।
यहाँबाट विचित्र गुफा, कंंकेदेउराली, स्वर्गद्धारी र यता सुपादेउराली दर्शनमा पर्यटकहरू आउने, जाने गर्नुहुन्छ । रेसुङ्घा पवित्र तपोभूमि हो । जहाँबाट चारैतिरको दृश्य नियाल्न सकिन्छ । यहाँ नपाइने भन्ने केहि पनि छैन । यो शीतल भूमि हो, पुण्य भूमि हो । माथिबाट हे¥यो भने हिमश्रृंखलाहरू हेर्न सकिन्छ । माथी पट्टी शिद्ध मन्दिर छ । अलि सबै भन्दा माथी भ्यूटावर छ । अलि तल यज्ञशाला छ । महापोखरी छ । महापोखरी छ । राम सीता मन्दिर छ । मनोकामना छ । तल गौशलामा तिन सय बढी गाईहरू छन् । यसर्थ रेसुङ्गको पर्यटकिय विकास नयाँ उचाइमा पु¥याउन हामी लागेका छौँ ।’
छल्दी र निस्तीखोला मिसिएर बडीगाड खोलामा मिसिने दोभानमा ड्याम बनाएर जलशाययुक्त पर्यटकीय विकास गर्ने, ¥याप्टिङसहित आकर्षक गन्तव्य स्थल बनाउने मुसिकोट नगरपालिकाले गुरुयोजना अगाडि सारेको छ । सिमा क्षेत्र रेसुङ्गाले यसबारे सोचेको छ ? भन्ने प्रश्नमा मेयर पन्थीले भने– ‘यो विषय मैले नै सुरुमा उठाएको विषय हो । मुसिकोट नगरपालिका र रेसुङ्गा नगरपालिका मिलेर ड्याम बनाउन सकियो भने त्यसले रोजगारी सिर्जना पनि हुने । पर्यटन विकासले नयाँ उचाइ पनि लिने निश्चित छ । तर त्यो स्थानीय सरकारको सामथ्र्यभन्दा धेरै टाढाको कुरा हो । यसर्थ हामीलाई संघ र प्रदेश सरकारको साथ चाहिन्छ । यसबारे मैले यी दुई माथिल्ला निकायहरूसँग छलफल, बहसको विषय पनि बनाएँ र धेरै पटक पत्रचार पनि गरे । अब पनि गरिने छ ।’
उता मुसिकोट नगरपालिकाका मेयर जीवलाल खरेल जीवनले पनि उक्त गुरुयोजना प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयमा पेश गरेको बताउँदै सञ्चार माध्यमले पनि घचघचाइ दिन आग्रह गरेका छन् ।
जीपलाइन र साइकलिङ पर्यटन विकास सुरु
उनले रेसुङ्गाको पर्यटन विकासलाई अझ उचाइमा पुराउन तम्घासको नूनामारेबाट गडजुरा पार्कसम्म जीपलाइन र साइकलिङ निर्माणका लागि टेण्डर भइसकेको छ । एक करोड ९० लाख लागतको डेण्डर भएको हो । ‘साउनबाट काम सुरु हुन्छ,’ मेयर पन्थी भन्छन्–‘तीन-चार महिनामै काम सकिन्छ । यसबाट पर्यटन विकासले नयाँ उचाइ लिनुका साथै रोजारी सिर्जना समेत हुन्छ ।’
पर्यटक आवागमनलाई ध्यानमा राखेर रेसुङ्गा विमानस्थलको पनि निर्माण भएको छ । यो विमानस्थलबाट अहिले दिनहुँ उडान भइरहेको छ । यसबाट बिरामी, अशक्त, वृद्ध-वृद्धाहरू ४० देखि ४५ मिनेटमा काठमाडौँ पुग्न सकेका छन् । ‘अब उडानको क्षमता बढाउने कुरा भइरहेको छ,’ मेयर पन्थी बताउँछन् ।
रेसुंगाको संक्षिप्त परिचय
ऐतिहासिक चौबिसे राज्यहरू गुल्मी, धुर्कोट , इस्मा र मुसिकोट मिलेर आधुनिक गुल्मी जिल्ला बनेको छ । गुल्मी एउटा पाहाडी जिल्ला हो । यसमा अग्ला अग्ला पर्वत श्रृंखला, गहिरा बेसीहरू र सुन्दर पर्वतीय गाउँहरू रहेका छन् ।
गुल्मीको आफ्नै संस्कृति , पहिचान जीवनशैली, र विशेषताहरू छन् । रेसुङ्गा गुल्मी जिल्लाको गौरवपूर्ण, ऐतिहासिक, धार्मिक, सांंस्कृतिक एवं जैविक विविधताले युक्त पर्वत शिखर हो । यो विशाल पर्वतीय वनप्रान्त हो । यसको जंगलको सेरोफेरो पहिले ११ गाउँ विकास समित रहेका थिए । अहिले रेसुङ्गा नगरपालिका , गुल्मीदरबार गाउँपालिका,मुसिकोट नगरपालिका र इस्मा गाउँपालिका रहेका छन ।
रूरूक्षेत्र ( रूरूधाम ) बाट पश्चिम ४० किलो मिटर दुरीमा रेसुङ्गा क्षेत्र रहेको छ । रेसुङ्गा रूरूक्षेत्रको शिर्षस्थलको रुपमा रहेको छ । रेसुङ्गा क्षेत्रको उचाई समुन्द्रि सतहबाट २, ३४७ मिटर रहेकोा छ ।उच्च क्षेत्र रहेको हुनाले पाहडको हावापानी शीतल छ । हिउँदमा उच्च भागतर्फ यदाकदा हिउँ पर्छ । गर्मीयाममा पाहडको वातावरण मनोरम र अनुकुल हुन्छ । रेसुङ्गा शान्त, एकान्त शीतल, मनोरम, पावन तपोभूमि र धार्मिक धाम हो । रेसुङ्गा क्षेत्रमा अनेकन थरी वोट वृक्षहरू, वनस्पतिहरू, जुडीबुटीहरू पाइन्छन् ।
यो क्षेत्र भौगोलिक, जैविक, र वनस्पतिक विविधताले भरिएको छ । यो एउटा विशिष्ट वनस्पतिक उद्यान हो । यो क्षेत्र प्राकृतिक, धार्मिक, ऐतिहासिक, पौराणिक विशेषताहरूले भरिएको छ । रेसुङ्गा क्षेत्र भन्नाले यहाँको सबै वन क्षेत्र, आश्रम, धर्मक्षेत्र । मठमन्दिर, पँधेरा, कुण्ड, पोखरी, जलश्रोत, पार्टीपौवा, यज्ञशाला , धर्मशाला, एवं भग्नावशेषहरू बुझिन्छ । यस क्षेत्रमा दुर्लभ चरा , पुतली, सरिसृप एवं स्तनधारी जीवहरू पाइन्छ ।
रेसुङ्गाको सम्बन्ध महर्षी ऋषिश्रृङ्गसित छ । ऋषिश्रृङ्गबाटै अभ्रभंश भई रेसुङ्गा नामकरण भएको किमदन्दी छ । त्रेता युगदेखि नै यस तपो भूमिमा अनेकन साधुसन्तहरूले ऋषिमुनीहरूले तपश्या गर्दै आएका थिए । ऋष्यश्रृङ्ग महर्षी विभाण्डका छोरा थिए । उनले नै अयोध्याका राजा दशरथको पुत्रेष्टि यज्ञ गराएका थिए । जुन यज्ञका कारण राजा दशरथलाई राम, लक्ष्मण, भरत र सत्रुधन जस्ता पुत्ररत्नहरू प्राप्त भएको थिए भन्ने कुरा वाल्मिकी रामायणको बालकाण्डको ९– १५ सर्वसम्ममा विस्तृत वर्णन गरिएको छ । पछि ऋषिश्रृङ्गलाई भेट्न भगवान राम रेसुङ्गामा आएको, रेसुङ्गाको भुवनेडाँडा हुँदै आउँदा त्यहाँ पत्थर पाईला अंकित भएको र सो ठाउँमा अहिले सीितारामको मन्दिर स्थापना गरिएको छ । माथि यज्ञशाला मुनी पानी अभाव भएकाले रामले वाण हानी कुवा उत्पन्न भएको र ऋषिश्रृङ्गका लागि पानीको व्यवस्था पुराइदिएको जनश्रृति छ । अर्को जनश्रृतिअनुसार महाभारत युद्धपछि अर्जुनले शान्त र एमान्त ठाउँमा श्रीकृष्णबाट पुनः गीताको उपदेश श्रवण गर्ने ईच्छा गरेका छन् ।
पर्यटकको ऐतिहासिक बढोत्तरी
रेसुङ्गा नगरपालिकाले सञ्चालन गरेको ‘जाउँं हिँड रेसुङ्गा’ अभियानकै कारण रेसुङ्गा धार्मिक क्षेत्र भ्रमण गर्न जाने आन्तरिक र बाह्य पर्यटकको संख्या इतिहासकै सबैभन्दा धेरै पुगेको छ ।




