प्रेम सुनार
गुल्मी
गुल्मीको इस्मा गाउँपालिकाले बाह्य र आन्तरिक पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यका साथ जिल्लामै सबैभन्दा विशाल र आकर्षक क्रिकेट मैदान निर्माण गर्न लागेको छ । त्यस पालिकाको वडा नम्बर १ र २ को बीचमा रहको छल्दीखोलाको तिरमा बहुउद्देश्यीय क्रिकेट मैदान निर्माण गर्न लागेको हो । जसलाई बीपी स्मृति क्रिकेट मैदान नाम दिइएको छ ।
मदन भण्डारी राजमार्गबाट हेर्दा अत्यन्तै आकर्षक उक्त क्रिकेट मैदानसँगै स्वीमिङ्ग पूल, पिकनिक स्पट, मन्दिर र १०८ वटा पिपलको बोट रोपण गरी आकर्षणको केन्द्र बनाई मदन भण्डारी राजमार्ग हुँदै प्यूठानको स्वर्गद्वारी र मुक्तिनाथ दर्शनमा जाने पर्यटकहरुलाई आकर्षित गर्ने लक्ष्य लिइएको त्यस गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिए । उनका अनुसार अहिलेसम्म गाउँपालिकाको तर्फबाट एक करोड खर्चेर २०० मिटर लम्बाइ र करिव १३० मिटर चौडाइ मैदान सम्माउने, ग्याविङ्ग वालमार्फत् खोलाको तटबन्ध निर्माणको काम सकिएको छ । त्यसको कुल लम्बाइ २५० मिटर हुने छ । चालु आर्थिक वर्षका लागि एक करोड छुट्टाइएको छ । कुल १७ करोड लागतको उक्त क्रिकेट मैदान तीन वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको अध्यक्ष खड्का बताउँछन् ।
अध्यक्ष खड्काले यसै वर्षयाममा दुबो रोपण गरिने, फूलहरुले सौन्दर्यकरण गर्ने, रिर्सोटलगायतको सुविधा उपलब्ध गराउन निजी क्षेत्रलाई आव्हान गर्ने, निकै शान्त, एकान्त र मनोरम रिभरसाइडका रुपमा विकास गर्ने, क्रमशः अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गरिने जसले सहजै बाह्य र आन्तरिक पर्यटकहरु भित्रिने खड्काको भनाइ छ । सदरमुकामबाट नजिक पर्ने त्यस भेगमा तीज, दसंै, तिहारलगायतका चाड पर्वमा मेलाहरु लाग्ने गर्छन् ।
कसरी पालिकाको त्यस कार्यमा ध्यान पुग्यो भन्ने प्रश्नमा अध्यक्ष खडका भन्छन्–‘हामीले सार्वजनिक जमिन अतिक्रमण गर्ने अभियान चलाउँदै आएका छौँ । त्यस छल्दीखोला किनारका सार्वजनिक जमिन विभिन्न व्यक्तिहरुले अतिक्रमण गरेको अमिन ल्याएर नपाउँदा पत्ता लाग्यो । त्यसपछि हामीले ती व्यक्तीहरुसँग फिर्ता गराई कुल ८१.८८ रोपनी क्षेत्रफलमा क्रिकेट मैदानसहित बुहउद्देश्यीय पार्कलगायतका आकर्षक संरचनाहरु निर्माण गर्न लागेका हौं ।’ उनले थपे–‘म आफू पनि क्रिकेट खेलाडी हुँ, म सहित पछिल्लो पुस्ता क्रिकेट खेलाडी र खेल प्रेमीहरुको ट्रेन बढ्दो छ । जिल्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल मैदान छैन । त्यसैले सिंङ्गो जिल्लाका लागि नमूना क्रिकेट मैदान बनाउँदैछौँ ।’
उता राङ्गदालमा पनि सांसद तथा तथा पूर्वमन्त्री गोकर्ण विष्टको पहलमा शहीद लखन थापा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणको पहिलो चरण सकिएको छ ।




