रामकुमार श्रेष्ठ
नवलपुर
नवलपुरको कावासोतीमा प्रदेशस्तरीय फुटसल प्रतियोगिता हुने भएको छ ।
गण्डकी प्रदेश खेलकुद परिषद् र स्वतन्त्र विद्यार्थी युनियन कुमारवर्ती बहुमुखी क्याम्पसको आयोजना र कावासोती नगर युवा सञ्जालको सहकार्यमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाका कम्तिमा ८ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
कुमारवर्ती बहुमुखी क्याम्पसमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा प्रथम हुनेले १ लाख नगद र द्वितीय हुनेले ५० हजार नगद पुरस्कार, मेडल र ट्रफी पाउने छन् ।
जिल्लास्तरीय टिमको सहभागिता हुने उक्त प्रतियोगिता असार ८ गते कावासोती ८ थकाली चोकको फुटसल मैदानमा हुने छ । १०÷१० मिनेट गरी २० मिनेटमा खेलाइने प्रतियोगिता नकआउट चरणमा खेलाइने छ ।
पत्रकार सम्मेलन गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले यसअघि विद्यालय तहका लक्षित गरी राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गराइने गरिएकोमा अब क्याम्पसका विद्यार्थीहरुलाई पनि समेट्ने गरी छुट्नै खेल खेलाउन खेलकुद परिषदले योजना बनाएको जानकारी दिए ।
७ र ८ गते २ दिने खेलाइने प्रतियोगिता पर्यापयर्टनसँग जोडिएर खेलाइने भएको आयोजकले जनाएको छ । खेलकुदलाई पर्यापर्यटनसँग जोड्नका लागि खेलाइने प्रतियोगितामा सहभागी खेलाडीहरुलाई ८ गते बिहान अमलटारी मध्यवर्ती सामुदायिक वन भित्र जंगल सफारी गराइने समेत आयोजकले जनाएको छ । प्रतियोगिताको लागि खेलाडीहरु ७ गतेनै आउने छन् भने प्रतियोगिता अवधिभर खेलाडीहरुको लागि खान, बस्न र यातायातको व्यवस्था आयोजकले गर्ने जनाइएको छ ।




