अन्तरपालिका जोड्ने सडकलाई प्राथमिकता
पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले कृषि उत्पादन, गुणस्तरीय शिक्षा, स्थानीय श्रोत साधनको प्रयोग, लसुन उत्पादनमा आत्मनिर्भर, दिगो विकास जैविक विविधतालाई प्राथमिकता दिँदै अन्तरजिल्ला जोड्ने प्रमुख सडकलाई गौरवको आयोजनामा समावेश गरेर नीति तथा कार्यक्रम पेश गरेको छ । गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले गाउँसभाको १६औँ अधिवेशनमा आगामी वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । पालिकाले कृषि रोजगारी उद्यम तथा पर्यटन, शिक्षा स्वास्थ्य, सेवा प्रवाह, स्थानीय पूर्वाधार, प्राकृतिक श्रोत र वातावरणलाई विकासको प्रमुख प्रथमिकतामा राखी नीति कार्यक्रम प्रस्तुत गरेको हो ।
पालिकाले नीति तथा कार्यक्रममा सुन्दरढुङ्ग जुठापौवा, सालझण्डी सडक, छहरा धजावान्ने तानसिङगल सातपुरे सडक, धजावान्ने पेलावास ३ नंं. वडा कार्यालय, तालपोखरा अर्घाखाँची सडक, तानसिङगल सोमादी सिद्धेश्वर सडक र मेहलछेडा ज्यामिरे बुढिदमार हात्तीकुना सडकलाई गौरवको योजनाको रुपमा नीति तथा कार्यक्रममा पेश गरेको छ । पालिकाले सबै वडा कार्यालयसम्म पुग्ने मुख्य सडक पिच गर्ने नीति लिएको छ ।
कृषिको व्यवसायीकरण, आधुनीकरण गरी उत्पादन र उत्पादकत्व बढाउन सरकारदेखि सरकारसम्म जि टु जि कार्यक्रम सञ्चालन गर्ने, कृषि एम्बुलेन्स, कोल्ड च्याम्वर जस्ता कार्यक्रम सञ्चालनले कृषि उत्पादनमा पालिकाको स्तर माथि बढाइने, कृषि बजार प्रणाली सफट्वेयर संचालनमा ल्याउने, सबै वडामा कृषि तथा पशु सेवा केन्द्र स्थापना गरी माटो तथा वाली परिक्षण तथा पशु ल्याव सेवा संचालन गरिने, लसुनमा आत्मनिर्भर कार्यक्रम, पालिकाको विभिन्न स्थानमा हाट बजार संचालन, कृषि मेलाको प्रर्दशनी, एक घर एक तरकारी करेसावारी, विद्यार्थीसंग कृषि कार्यक्रम, पढ्दै सिक्दै र कमाउँदै कृषि कार्यक्रम, ठाउँअनुसारको उत्पादनको आधारमा पकेट क्षेत्र घोषणा गरी उत्पादन बढाउँदै लैजाने, पालिकालाई मासु, दूध, अण्डा र तरकारीमा आत्मनिर्भर बनाउने जस्ता महत्वाकांक्षी कार्यक्रम पालिकाले सार्वजनिक गरेको छ । स्थानीयस्तरमा उत्पादन हँुदै आएका अकबरे खुर्सानी तेजपात, टिमुर, बेसार, फाफर, कोदोलगायतका उत्पादनमा वृद्धि गर्न आवश्यक तालिम अनुदानको व्यवस्था, स्थानीय स्तरमा उत्पादन हँुदै आएको डोको नाम्लो, दाम्लो, जुत्ता, आरन तथा सिलाइलगायतका परम्परागत सीप कलालाई संरक्षण गरी आयआर्जन बढाउने नीति पालिकाले लिएको छ ।
गुणस्तरीय शिक्षाको लागि सबै विद्यालयमा अंग्रेजी नेपाली माध्यमबाट पठन पाठन गराउने, पालिकाभित्रका प्राविधिक विद्यालयमा अध्ययन गर्ने गरिब विपन्न विद्यार्थीहरुलाई पालिकाले निःशुल्क पठन पाठन गराउने, पालिका भित्रका विद्यालयहरुको गुणस्तरीयता बढाउन अनुगमनको लागि एक जना विद्यालय निरिक्षकको व्यवस्था गरी राम्रो गर्नेलाई पुरस्कार, नराम्रो गर्नेलाई कारबाही गर्ने नीति प्रस्तुत गरेको छ । दुई वटा वडाको दुई वटा माध्यमिक विद्यालयमा लागू भएको विद्यालय नर्स कार्यक्रम विस्तार गर्ने, हरेक विद्यालयमा अनिवार्य रुपमा बुक फ्रि डे कार्यक्रम संचालन गर्ने, कक्षा ८ देखि माथिका छात्राहरुलाई आत्मरक्षा तालिम प्रदान गर्ने, कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुलाई खेलकुद तालिम संचालन गर्ने जनाएको छ । यसैगरी स्वास्थ्यतर्फ छहरा स्वास्थ्य चौकीमा डाक्टरसहितको सेवालाई निरन्तरता दिने, मृर्गौला, मुटु उच्च रक्तचाप, मधुमेहको जाँचलाई प्राथमिकता दिने, शून्य होमडेरीको लागि आवश्यक काम गर्दै जाने, १५ शैयाको अस्पताल चाँडोभन्दा चाँडो सम्पन्न गराउन पहल गर्ने, ८० वर्षभन्दा माथिका जेष्ठ नागरिक क वर्गका अपाङ्गहरुलाई घर घरमै पुगेर उपचार सेवा प्रदान गर्ने, पाँच अ कार्यक्रम अन्तरगत अपाङ्ग, अशक्त, असाहय, अति विपन्न, आर्थिक अवस्था कमजोर भएका र महिला स्वयम्सेविकालाई निशुल्क विमा कार्यक्रम सञ्चालन गर्ने, जनाएको छ ।
सबैका घर घरमा खानेपानीको सुविधा पु¥याउन एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिने, लिफ्ट खानेपानीका विद्युत् मशहुलमा अनुदानको व्यबस्था, एक वडा एक पोखरी कार्यक्रम संचालन गर्ने, सडकका किनारमा हरियाली तथा सुन्दर रुख बिरुवा लगाउने, मानिसको आवत जावत बढी हुने स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने जस्ता पालिकाले नीति तथा कार्यक्रममा सार्वजनिक गरेको छ ।
खेलकुद गतिविधिलाई बढाउन वडातहमा खेलकुद समिति एक वडा एक खेलमैदान, अध्यक्ष कपमा महिलाहरुको सुनिश्चितता गर्ने, वैदेशिक रोजगारबाट सिकेको सीप ज्ञान स्थानीय तहमै प्रयोगमा ल्याइ गाउँघरमै आय आर्जन बढाउने, विदेश होइन, विजनेस भन्ने अभियानका साथ स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने, गरिव, विपनन तथा सुकुम्बासीहरुको पहिचान गरेर स्थानीयस्तरमा प्रयोग हुने सीपमुलक तालिम संचालन गर्ने, वृद्ध स्याहार बुहारी प्रोत्साहन कार्यक्रम संचालन गर्ने निति कार्यक्रममा उल्लेख छ ।
गाउँसभामा कृषि क्षेत्र हानिकारक वन्यजन्तुबाट जोखिम न्यूनीकरणको लागि पूर्वाधार निर्माण कार्यक्रम सञ्चालन कार्यविधि २०८१, शिक्षक सरुवा तथा काज व्यवस्थापनसम्बन्धी कार्यविधि २०८१ र कुटानी पिसानी मिल तथा मिनिटिलर वितरण कार्यक्रम कार्यन्वयन कार्यविधि २०८१ पेश भइ पारित भएको छ । गाउँसभामा पेश भएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । गाउँसभामा वडा नंं ३ का वडा अध्यक्ष प्रदिप पौडेल, वडा नंं ४ का वडा अध्यक्ष गोविन्द रायमाझी, गाउँसभा सदस्यहरु सूर्य कार्की, नारायणी गहतराज, उद्धव राना, अर्जुन ज्ञवाली, धन बहादुर रायमाझी, मुना दर्जी, लोकबहादुर बुढाथोकीलगायतले नीति तथा कार्यक्रममाथि सुझाव सल्लाह दिएका थिए ।
सभामा उठेका जिज्ञासाहरुको राजस्व परामर्श समितिका संयोजक पालिका उपाध्यक्ष युवराज थापा, आर्थिक समितिका संयोजक प्रदिप पौडेलले जवाफ दिएका थिए । पालिका अध्यक्ष रुक्माङ्गत भट्टराइको अध्यक्षतामा गाउँसभा पालिकाकाका उपाध्यक्ष युवराज थापाको सञ्चालनमा भएको गाउँसभामा सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सीना, प्रवक्ता देवेन्द्र पुनलगायतको सहभागिता रहेको थियो ।




