२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

बुटवलमा मट्का बिरयानीको तहल्का

बुटवलमा मट्का बिरयानीको तहल्का

बुटवलमा मट्का बिरयानीको तहल्का

बुटवलमा मट्का बिरयानीको तहल्का

बुटवलमा मट्का बिरयानीको तहल्का
शुक्रवार, आषाढ ८ २०८१
शुक्रवार, आषाढ ८ २०८१
  • श्रीराम ज्ञवाली
    बुटवल
    हैदराबादी मट्का बिरयानी भनेपछि धेरैको मुख रसाउने गर्छ । बुटवलको पुरानो बसर्पाकमा सञ्चालनमा आएको हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी’ रेष्टुरेण्टको स्वादले धेरैको मन जितेको छ । चार वर्षअघि सुरु भएको मट्का बिरयानीले छोटो समयमा मिठो स्वाद दिएर ग्राहकको मन जित्न सफल भएको हो । 


    बुटवलका बासिन्दालाई हैदराबादी मट्का बिरयानी पस्किने व्यवसायी हुन्, रोल्पाका जनक खड्का । ७७ हजार लगानीबाट २ किलो मासुको बिरयानीबाट सुरु गरेको व्यवसायबाट खड्काले राम्रो सफलता प्राप्त गरेका छन् । अहिले दैनिक सरदर झण्डै २ सय किलो मासुको बिरयानी पाक्छ । परिवारको साथ र सहयोगसँगै १९ जना श्रमिकलाई रोजगार दिएका खड्का व्यवसायबाट सन्तुष्ट छन् । बुटवलमा  हैदराबादी मट्का बिरयानीको सफलतासँगै अन्य ठाउँमा पनि व्यवसाय विस्तार गर्ने उद्देश्य राखेका उनले काठमाडौँमा दुई स्थानमा र चितवनमा एक ठाउँमा शाखा विस्तार गरिसकेका छन् भने अब छिट्टै पोखरामा पनि शाखा खोल्ने तयारीमा रहेका छन् । उनका अनुसार यहाँ एकै थालीमा स्वादको विविधता हुन्छ । चामल, मासु र अन्डासहित घ्यू, प्याज, जाइफल, दालचिनी, तेजपत्ता, धनियाँ, ल्वाङ, केशर आदिको मिश्रणबाट बिरयानी तयार गरिन्छ । ग्राहकको मागअनुसार मासु वा अन्डा रोज्न वा थपघट गर्न सकिन्छ ।


    ‘बिरयानीको लागि सबैभन्दा महत्वपूर्ण चाहिँ त्यसमा राखिने मसला नै हो,’ उनले  भने –‘स्वादिलो बिरयानी बन्न मासु, चामल, घ्यू र मसलाको मात्रा मिल्नुपर्छ । यीमध्ये कुन कति बेला राख्ने र कति समय पकाउने भन्ने स्वादमा भर हुन्छ ।’ बिरयानी बनाउन अधकल्चो हुने गरी भात पकाएझैं चामल पकाइन्छ । यो अधकल्चो भात मसला र मासुसहित माटोको भाँडामा राखेर माथिबाट बन्द गरी आगोको रापमा पकाइन्छ । यसरी पकाएपछि ‘दम बिरयानी’ बन्छ । आगोको राप र घ्यू र तेलको वाफबाट पाक्ने भएकोले यसलाई दम बिरयानी भनिएको जनकले बताए ।

     
    जनकको घर रोल्पाको सुनिलस्मृति गाउँपालिका पर्दछ । भारतीय सेनाका जागिरे बुबासँग दुई वर्षकै उमेरमा उनी हैदराबाद पुगेका थिए  । जनक हैदराबादमै १० कक्षासम्म पढे । जीवन संर्घषका कुरा सुनाउँदै उनले भने–‘आफ्नो होटलमा काम गर्दै गर्दा एक दिन भने भागेर अर्काको होटलमा गए र त्यहीँ काम गर्न थालें, अरूकै होटलमा ६ वर्ष काम गर्दा आफू बिरयानीको पारखी बनेको र  अनेक स्वादमा बिरयानी बनाउन जान्ने भएपछि आफ्नै होटल चलाएको हुँ ।’


    बुबाको मृत्युपछि २०७६ साल फागुनमा सपरिवार रोल्पा फर्किएका खड्का मधुमेहको रोगको उपचारका गर्न  बुटवल आएका थिए  बुटवलमा उनलाई बिरयानी खाने इच्छा भयो । बुटवलमा केही होटलहरूले बनाउँथे, बिरयानी । बिरयानीका पारखी जनकले ११ दिन बुटवल बस्दा ९ दिन बिरयानी मात्रै खाए, तर कहीँ चित्त बुझेन । आफूले बनाउने जस्तो स्वादको बिरयानी कतै भेटिएन ।यसपछि उनले बुटवलमा बिरयानी पाइने होटल खोल्ने विचार गरेर व्यावसाय सुरु गरेका थिए । 


    अहिले यहाँबाट बिरयानी होम डेलिभरी पनि हुन्छ । सालझण्डी, भैरहवा, देवदहसम्म डेलिभरी हुने गरेको उनले बताए ।‘दिनमा करिब २ लाख रुपैयाँसम्मको व्यापार हुन्छ । नाफा पनि निकै राम्रो छ,’ जनक भन्छन्–‘घरकै पाँच जना बिहान ५ बजेदेखि राति १० बजेसम्म खट्छौं । हाम्रो मेहनतको पारिश्रमिक पनि जोड्दा कारोबारको २० प्रतिशत जति मुनाफा निस्किन्छ होला ।’ग्राहकको रूचिअनुसार यहाँ चिकन बिरयानी, मटन बिरयानी, एग बिरयानी, मट्का चिकन–मटन बिरयानी, चिकन÷मटन जम्बो प्याक इत्यादि तयार हुन्छ । 


    यहाँ जाडोमा मट्का चिया र कफी पाइन्छ भने गर्मीमा मट्का लस्सी । दिनमा सरदर सय किलो दहीको लस्सी बिक्छ । लस्सी मात्र खाने ग्राहकका लागि बस्ने ठाउँ अलग्गै छ ।


    बिरयानी, चिया र लस्सीका लागि महिनामा दुई ट्रक हण्डी खपत हुन्छ । तुलनात्मक रूपमा धेरै सस्तो पर्ने भएकाले हण्डी भारतको गोरखपुरबाट मगाउँछन् ।यहाँ ग्राहकको मनोरञ्जनका लागि हरेक शुक्रबार ‘च्यालेञ्ज अफर’ पनि हुन्छ । यसमा एक हजार चार सय रुपैयाँ मूल्यको एक मट्का बिरयानी दश मिनेटमा खाइसक्नेले पाँच हजार रुपैयाँ पुरस्कार पाउँछ । जित्नेले बिरयानीको पैसा पनि तिर्नु पर्दैन । हार्नेले भने तिर्नुपर्छ । महिला मात्र सहभागी हुने गरी अलग्गै च्यालेञ्ज अफर पनि छ । यसमा ७५० रुपैयाँको बिरयानी दस मिनेटमा खाइसक्नु पर्छ । जित्नेले तीन हजार रुपैयाँ पुरस्कार पाउँछ ।
    यसरी छोटो समयमै बुटवलमा जनकले बिरयानीको व्यापार स्थापित गरेका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij