बुटवल । मनसुनी प्रणाली फैलिएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । केही ठाउँमा ठूलो पानी परेको मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार गएराति बाग्लुङ, स्याङजा, गुल्मी, सिन्धुपाल्चोक र दाङलगायत क्षेत्रमा गएराति ठूलो पानी परेको हो ।
दाङको कोइलाबास, कपिलवस्तुको भगवानपुर, बाग्लुङको गल्कोट, गुल्मीको मुसीकोट, सिन्धुपाल्चोकको गुमथाङलगायत क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको विभागले जनाएको छ ।
निरन्तरको वर्षासँगै यी क्षेत्रका स-साना खोला तथा नदीमा पानीको सतह पनि बढेको छ ।
स्याङ्जाको आँधी खोलाको जल सतह उल्लेख्य बढेको विभागले जनाएको छ । आँधी खोलाको तल्लो तटीय क्षेत्रमा आकस्मिक बहावको जोखिम रहेकोले आज बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
यस्तै, कोइली नदी बनगाई जलमापन केन्द्रमा जलसतह रूपमा बढ्दो क्रममा छ । आज बिहानसम्म तटीय क्षेत्र तथा डुबान भइरहने होचा भागमा उच्च सतर्कता अपनाउन भनिएको छ ।
यसैगरी गुल्मीको मुसिकोट वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ । मुसिकोट क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले स-साना खोलाको बहाव बढ्ने सम्भावना छ ।
वर्षा हुने क्रम अब एक सातासम्म जारी रहने विभागले जनाएको छ । देशका अधिकांश स्थानमा अबको एक साता मध्यमदेखि ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताए ।
उनका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्ण रूपमा विकास भई नेपालनजिक रहेको छ । जसका कारण आउँदो बिहीबारसम्म देशभर मनसुनी वर्षा हुने छ ।
नेपालको पहाडी भेगमा भारी वर्षाले बढी प्रभाव पार्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी र मध्य तराईमा बिहीबारदेखि नै वर्षाको क्रम सुरु हुँदा त्यस क्षेत्रमा डुबान शुरू भइसकेको छ ।
वर्षा हुने स्थानमा बाढी, भू–क्षय, पहिरो तथा गेग्य्रान बहावको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
सहरी तथा तराई क्षेत्रमा डुबानको समस्या हुन सक्ने भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।
वर्षासँगै नेपालका सानाठूला नदीको बहाव उच्च बन्ने भएकाले तटीय क्षेत्रमा थप सावधानी अपनाउन भनिएको छ ।




