अविरल वर्षासँगै गएको पहिरोले घर पुरिँदा गुल्मीमा पाँच, स्याङ्जामा दुई र बाग्लुङमा दुई जनाको मृत्यु भएको छ ।
लुम्बिनी संवाददाता
गुल्मी
गुल्मी जिल्लाको मालिका गाउँपालिका –६ मा अर्जेमा गएको पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ५५ वर्षीय भेषबहादुर बिकसहित उनकी श्रीमती, बुहारी र दुई नातिनिसहित पाँच जना रहेको मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले जानकारी दिए ।
ज्यान जानेमा भेष बहादुरकी ४७ वर्षीया श्रीमती सुन्तली बिक , ३० वर्षीया बुहारी सीता बिक, सात वर्षीया नातिनी रचना र अन्दाजी दुई वर्षीया कान्छी नातिनी विपना हुन् ।
भेषबहादुरका तीन छोरा यतिबेला रोजगारका लागि भारतमा छन् । यता उनीहरुको घरपरिवार नै सखाप भएको छ । भारतमै रहेका जेठा छोरा विमल बिकले बाबु आमासहित श्रीमती र दुई छोरी पहिरोमा गुमाएका छन् ।
माइला छोरा सुवास बिककी श्रीमती रोजगारकै लागि भारतमै थिइन् । कान्छा छोरा कृष्ण बिक अविवाहित हुन् । रोजगारीको सिलसिलामा तीन छोरा र एक बुहारी भारतमा रहेका बेला यता भेषबहादुरका पाँच जनाको परिवार पहिरोमा पुरिएका हुन् । पहिरोले पुरिएका भेषबहादुरसहित सबैको शव पहिरो पन्छाएर निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामबहादुर केसीले जानकारी दिए ।
पहिरोको कारणले छिमेकी दुई घर उच्च जोखिममा छन् ।
यसैगरी, बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया बसन्ती शुक्रबार राति पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ । स्थानीयले उनीहरूको खोजी गरिरहेका छन् । यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ । कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ ।
यसैगरी, अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा स्याङ्जामा आमा छोरीको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका वडा नम्बर ५ बाँगेस्थित दुर्गा जिटीको घर पहिरोले बगाउँदा आमा छोरी पुरिएका हुन् । घरमा सुतिरहेकी ३१ वर्षीय दुर्गा जिटी र उनकी ३ वर्षीय छोरी निकिसा जिटीको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।




