बुटवल। हरेक सुखद अवसरमा सामाजिक गतिविधि बढ्ने क्रम बढिरेको छ। विशेषतः जन्मदिनमा हुने खर्च कटाएर समाजिक कार्यमा लागाउने प्रचलन बढिरहेको छ। यसैबिच रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ निबासी मोहन चापागाईंले रचनात्मक काम गरेर जन्म दिन मनाएका छन् ।
दैनिक लुम्बिनीका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष, प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष एवं एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा प्रेस चौतारी विभागीय इन्चार्ज रहेका चापागाईले आफ्नो जन्मदिन मनकारी कामका लागि उपयोग गरेका हुन् । उनले जन्म दिन मनाउने खर्चलाई रचनात्मक काममा लगाउँदै रामचन्द्र मैनादेवी अनाथ आश्रम मणिग्राममा आर्थिक सहयोग प्रदान गरेका छन् । रक्तसञ्चार केन्द्र बुटवलमा पुगेर रक्तदान गरेका छन् ।
अघिल्ला वर्षहरुका जन्मदिन उनले कहिले वृक्षारोपण गरेर त कहिले यस्तै आर्थिक सहयोग गरेर मनाउने गरेका थिए । यसपल्ट उनले रामचन्द्र मैनादेवी अनाथ आश्रम मणिग्राममा आर्थिक सहयोग गरेका हुन् ।
गत स्थानीय तहको निर्वाचनमा एमालेबाट तिलोत्तमा नगरपालिकाको मेयरको उम्मेदवार बनेका उनी काँग्रेसका रामकृष्ण खाँणसँग झिनो मतान्तरले पराजित भएका थिए । चापागाईंले आफूले ल्याएको मत बराबर २३ हजार ६३१ रुपियाँ अनाथ आश्रमका लागि सहयोग गरेका हुन् । चापागाईंले आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
त्यस्तै उनले रक्तसञ्चार केन्द्र बुटवलमा गई रक्तदान समेत गरेका छन् । आफूले हरेक वर्षको जन्मदिन यसैगरी मनाउने योजना बनाएको उनले बताए ।जन्मदिन कुनै रचनात्मक कार्य गरी मनाउनुपर्छ भन्ने कुराको सन्देश अरुलाई पनि दिनका लागि आफूले यस्तो कार्य गरेको चापागाईंले बताए । “मेरो उद्देश्य सामाजिक र रचनात्मक कामको सन्देश फैलाउनु हो”-उनले भने ।
उनी नमस्ते नेपालले आयाेजना गरेकाे बृक्षाराेपण कार्यक्रममा समेत सहभागी हुँदै बृक्षाराेपण गरेका थिए ।




