बुटवल । विद्यालय तहका छात्राहरुलाई निःशुल्क सेनिटरी प्याडको माग गर्दै विप्लव निकट अखिल समाजवादी रुपन्देहीले बुटवल उपमहानगरपालिका कार्यालय घेराउ गरेको छ ।
नयां शैक्षिक सत्र सुरु हुन अगावै नगर प्रमुख खेलराज पाण्डेयलाई भेटेर सेनेटरी प्याड सहित १४ बुंदे माग सहित ज्ञापनपत्र बुझाएपनि असारसम्म उपलब्ध गराउन बेवास्ता गरेकाले घेराउ गरिएको संगठनले जनाएको छ ।
घेराउ कार्यक्रमलाई सम्बोन गर्दै अखिल समाजवादी लुम्बिनी प्रदेश सह इन्चार्ज विष्णु राउत विज्ञानले निजि बिद्यालयलाई प्याड उपलब्ध गराउने र नगराउने विवाद झिकेर सामुदायिक बिद्यालयका छात्राहरुलाइ प्याड उपलब्ध नगराइनु गैरजिम्मेवार कार्य भएको बताए ।
स्थानिय तह गैरजिम्मेवार हुंदा संघीय सरकारले उपलब्ध गराउंदै आएको वजेट फ्रीज भएर जाने र छात्राहरुले प्याड प्रयोग गर्न नपाउने अवस्था आउनु विडम्वना भएको राउतले बताए ।
तत्काल निशुल्क सेनिटरी प्याडको व्यवस्था नगरे उपमहानगरमा तालाबन्दी गरिने संगठनका रुपन्देही संयोजक पदम सीले चेतावनी दिए ।




