राधिका भुसाल
प्यूठान
हरियाली झिमरुक फाँटको बीचमा ठडिएका खम्बाहरुले प्रायः सबैको ध्यान केन्द्रित गर्ने गर्दछ । बिजुवार–बाग्दुला सडकखण्ड हुँदै हिंड्ने जो कोहीको पनि झट्ट नजर जाने ठाउँ बनेको छ, गाजुरी । इशान एग्रो फर्ममा उत्पादित ड्रागन फ्रुटले मन लगाएर मेहनत गरेपछि सफलता हात पार्न सकिन्छ भन्ने सन्देश समेत दिएको छ ।
प्यूठान नगरपालिका–७ गाजुरीमा सञ्चालित इशान एग्रो फर्म ड्रागन उत्पादनमा जिल्लाको ठूलो फर्मको रुपमा स्थापित भएको छ । दुईजना युवाले साझेदारीमा ८० लाख लगानीबाट ड्रागन खेती सुरु गरेका थिए । प्यूठान नगरपालिका ४ निवासी नविनकुमार श्रेष्ठ र लोकबहादुर गुरुङले २०७७ सालमा फर्म सञ्चालन गर्ने योजना बनाई लगानी सुरु गरेका थिए । ‘हामीले काठमाडौंमा लेयर्स कुखुरा फर्म सञ्चालन गरेका थियौं ,’ सञ्चालक नविन कुमार श्रेष्ठले भने–‘तीन वर्षमै जग्गा भाडाको समयावधी सकियो र जग्गा दाताले थप्न मानेनन् । त्यस लगत्तै हामी आफ्नै गृह जिल्ला प्यूठान आएर व्यवसायिक ड्रागन खेती गर्ने योजना बनायौं ।’ १५ रोपनी आफ्नै जमिन र १० रोपनी जग्गा बन्धगी लिएर एग्रो फर्म सञ्चालनका लागि भौतिक संरचनाहरु तयार गरेको श्रेष्ठले बताए । १५ रोपनी जमिनमा ड्रागन खेती मात्र गरेको सुनाउँदै साँच्चिकै मन लगाएर दृढताका साथ काम गर्ने हो भने कृषि कर्मले शरीर र मनलाई समेत आनन्दित बनाउने उनी बताउँछन् ।
९० क्वीन्टल ड्रागन बिक्री गर्दै
यस सिजनको ड्रागन फल तयार भएसँगै इशान एग्रो फर्मले ९० क्वीन्टल ड्रागन बिक्री गर्ने लक्ष्य लिएको छ । ‘पहिलो चरणको करिब ६ क्वीन्टल ड्रागन बजारमा गइसक्यो,’ सञ्चालक श्रेष्ठले भने–‘मौसमको कारण अहिले उत्पादन अलि घट्ने भएकोले ९० क्वीन्टल जति बजार लैजान्छौ होला ।’
उनका अनुसार थोक प्रतिकेजी चार सय रुपैयाँ र खुद्रा चार सय ५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । बिरुवा लगाएको डेढ वर्षपछि उत्पादन दिन थालेको ड्रागन फलबाट यस वर्ष ४३ लाख बराबरको बिक्री गर्ने अनुमान रहेको उनले बताए । सुरुवातमा १२ लाख र गत वर्ष ३८ लाखको ड्रागन बिक्री गरेको श्रेष्ठको भनाइ छ ।
स्थानीय बजारसँगै मुख्य गरी बुटवल, पोखरा, काठमाडौं र भारतको दिल्लीसम्म बजार पाएको श्रेष्ठको भनाइ छ । ‘उत्पादनको ५० प्रतिशतभन्दा बढी जिल्लामा खपत हुने गरेको छ,’ श्रेष्ठले भने–‘यहाँका कर्मचारीहरुले पनि थुप्रै अर्डर गरेर लैजाने गर्नु हुन्छ ।’ उत्पादित सामानको बजारीकरणलाई खासै समस्या छैन नभएको बताउँदै अन्य ठाउँको भन्दा आफ्नो फर्ममा उत्पादित ड्रागन फल स्वादिष्ट भएकोले बाहिरबाट धेरै माग भइरहेको उनको भनाइ छ । विश्वमा १ सय ५२ प्रजातिको ड्रागन फलको खेती हुँदै आएकोमा नेपालमा तीन प्रजातिको मात्र ड्रागन फलको खेती हुँदै आएको छ । रातो, सेतो र पहेंलो मध्ये इशान एग्रो फार्ममा अहिले रातो र सेतो ड्रागन फलको उत्पादन हुँदै आएको छ । खर्च कटाएर वार्षिक झण्डै ३० लाख रुपैयाँ आम्दानी हुने गरेको सञ्चालक श्रेष्ठले जानकारी गराए ।
६ जनाले पाए रोजगारी
इशान एग्रोमा नियमित मासिक तलब पाउने गरी ६ जना व्यक्तिले रोजगारी पाएका छन् । यस बाहेक समय–सययमा गोडमेल तथा मलजल गर्दा थप १० जनालाई आंशिक रोजगारी दिने गरेको फर्मका व्यवस्थापक गुरुङले बताए ।
वर्षमा ४ पटकसम्म गोडमेल तथा मलजल गर्नु पर्ने उनको भनाइ छ । धान र गहुँ उत्पादन गरेर मात्र आम्दानी गर्न नसकिने बताउँदै व्यवसायिक उत्पादनलाई जोड दिनु पर्ने बताउँछन् । ति कर्मचारीसँगै आफू पनि दिनैभर फर्ममा काम गर्ने गरेको उनी बताउँछन् । ‘बिहान उज्यालो भएदेखि बेलुका रात परुञ्जेल ड्रागमका बिरुवासँगै रमाउने गर्छु,’ लोकबहादुर गुरुङले भने– ‘हामीले सोँचेकोभन्दा बढी सन्तुष्टि पाएका छौं ।’ सुरुमा सिजनमा टिपेर बजार लगेपछि सहज रुपमा बिक्री गर्न सकेको हुँदा झनै हौसला मिलेको उनले जनाए ।
करिब दुई करोड लगानी
कोरोनाले विश्वको अर्थतन्त्र थलिएको बेला हामीले ठूलै लगानी गर्दा व्यवसाय धराप पर्छ कि भन्ने सोँचेका थियौ तर, समय परिवर्तनसँगै सही ठाउँमा लगानी भएको श्रेष्ठले सुनाउँछन् । ‘४–५ वडा जिल्ला पुगेर राम्रो अध्ययन गरेपछि हामीले प्यूठानमै ड्रागन खेती गर्ने निधो ग¥यौ,’ उनले भने–‘चितवन २४ सय र दाङबाट ६ सय बेर्ना लिएर सुरुवात गरेका थियौं ।’ बाँकी आफ्नै फर्ममा उत्पादन गरेका बेर्ना लगायौं हाल भने ५ हजार बिरुवाले उत्पादन दिँदै आएको उनको भनाइ छ । उक्त फर्म विस्तार गर्दै लैजाँदा हालको लगानी करिब २ करोड पुग्न थालेको समेत उनले जानकारी दिए ।
ड्रागनसँगै ३ रोपनी जग्गामा अम्बा, ३ रोपनीमा मौसमी तथा बेमौसमी तरकारी र ड्रागनको बीच बीचमा कुरिलो समेत लगाएको उनले बताए । ‘ठूलो मात्रामा ड्रागन लगाए पनि यससँगै व्यवसायिक तरकारी खेती तथा अन्य उत्पादनलाई पनि सुरु गरेका छौं,’ श्रेष्ठ भन्छन्–‘यो झिमरुक फाँटलाई व्यवसायिक उत्पादनमा लगियो भने धेरै कुरामा प्यूठान जिल्ला आत्मनिर्भर हुनेछ ।’ बाहिरी जिल्लाको अवलोकन र युट्युबमार्फत् ड्रागन खेतीबारे ज्ञान लिएको सुनाउँदै सुरुको सिजनमा बोट सुक्ने रोग लागेर उत्पादन धेरै कम भएको उनले बताए । दोस्रो वर्षमा आइपुग्दा थप अध्ययन गरेर खेती गर्दा ८५ क्वीन्टल ड्रागन फल उत्पादन गर्न सफल भएको उनले जनाए । ‘बिरुवा ल्याएको ठाउँमा दुई वर्षमा फल दिन सुरु गर्छ भनेको थियो, हामीले डेढ वर्षमै फलाउन सफल भयौं ।’–श्रेष्ठले भने । सामान्य २ सय देखि १२ सय ग्राम सम्मको फल उत्पादन भएको हास्दै उनले सुनाए ।
निर्माण व्यवसायीसँगै कृषिमा जम्दै श्रेष्ठ
२०६५ सालदेखि निर्माण व्यवसायमा लागेका श्रेष्ठ अन्ततः कृषि कर्ममा पनि जोडिए । हाल श्रेष्ठ निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष समेत रहेका छन् ।
सानै उमेरदेखि व्यवसायिक रुपमा कृषि खेती गर्ने रुचि रहेको उनी सुनाउँछन् ।
कृषिकर्म काठमाडाँैबाट सुरुवात गरे पनि आफ्नै गृह जिल्ला प्यूठान आएपछि उनलाई व्यवसायिक सफलता मिलेको छ । इशान कन्ट्रक्सनमार्फत् निर्माण कार्यमा पनि सक्रिय रहेका उनीले दुबैतर्फको सफलता हात पारेका छन् । प्यूठान जिल्लासँगै बाहिरी जिल्लामा पनि काम गर्दै आएको श्रेष्ठले बताउँछन् ।




