बुटवल । नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशन तथा लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधीकारीलाई बुटवलमा सम्मान गरिएको छ ।
रूपन्देही सुनचाँदी व्यवसायी संघको आयोजनामा केन्द्रीय सदस्य चेतनारायण विश्वकर्मा विष्णु, केन्द्रीय सदस्य दिपक विश्वकर्मा, प्रदेश उपाध्यक्ष हरिबहादुर सुनार र प्रदेश सदस्य प्रकाशमणि विश्वकर्मालाई बधाई एवम् सम्मान गरिएको हो ।
रूपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष रामकिसन विश्वकर्माको अध्यक्षतामा भएको बधाई एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रुपन्देही सुनचाँदी व्यवसायी संघका संस्थापक अध्यक्ष एवम् सुनचाँदी व्यवसायी महासंघका निवर्तमान विज्ञ परामर्श समितिका संयोजक प्रेमकुमार सेञ्चुरीले अहिलेको नयाँ नेतृत्वलाई सफल कार्यकलालको शुभकामना दिँदै व्यवसायीको हकहितमा काम गर्न अनुरोध गरे ।
उनले अहिलेको परिस्थितिमा महासंघमा भएका विभिन्न विवाद र अवरोधलाई नयाँ कार्यसमितिले सरकार समक्ष आप्mना माग सम्बोधन गराउने गरी काम गर्नु अहिलेको प्राथमिकता भएको बताए ।
विशिष्ट अतिथि निवर्तमान केन्द्रीय उपाध्यक्ष जोगलाल विश्वकर्माले सुनको बढ्दो मूल्य वृद्धि र आर्थिक मन्दीका कारण सुनचाँदी व्यवसायी असहज अवस्थाबाट गुज्रिरहेको हुनाले अबको समितिले प्रमुखताका साथ सुनचाँदी व्यवसायीहरुको समस्या निराकरणका लागि लाग्नुपर्ने जनाए । साथै उनले हाल सरकारले उपलब्ध गराउँदै आएको सुनले बजारको माग धान्न नसकेको भन्दै सुनको आयात बढाउन माग गरे ।
कार्यक्रममा नवनिर्वाचित केन्द्रीय सदस्य चेतनारायण विश्वकर्मा विष्णु, केन्द्रीय सदस्य दिपक विश्वकर्मा, प्रदेश उपाध्यक्ष हरिबहादुर सुनारलगायतले सम्मानप्रति धन्यवाद ज्ञापन गर्दै आफूहरुले पाएको जिम्मेवारी सफलता पूर्वक निर्वाह गर्ने उल्लेख गरे ।
साथै प्रजातान्त्रिक पद्धतीमा निर्वाचन प्रक्रियामा हार र जित हुनु स्वभाविक रहेको बताउँदै अब भने सम्पूर्ण सुनचाँदी व्यवसायीको हकहित र समस्या समाधानको लागि यस क्षेत्रको प्रतिनिधित्व गर्दै काम गर्ने उनीहरुले बताए ।
कार्यक्रममा संघका सल्लाहकार तेजप्रसाद सुनार, महासंघका पूर्व केन्द्रीय सदस्य एमबी विश्वकर्मा, बुटवल सुनचाँदी महिला समितिका अध्यक्ष किरण विश्वकर्मालगायतले सफल कार्यकालको सुभकामना व्यक्त गर्दै सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउन महासंघले पहल गर्ने अपेक्षा व्यक्त गरे ।
कार्यक्रम संघका प्रथम उपाध्यक्ष किशोरकुमार सुनारको स्वागत संघका प्रवक्ता रेवन्त विश्वकर्माको धन्यवाद ज्ञापन एवम् महासचिव सीताराम रसाइलीको सञ्चालनमा सम्पन्न भएको हो ।




