गौरीशंकर जयसवाल / परासी । रामग्राम जेसीजले शेयर बजार सम्बन्धि एक दिने तालिम प्रदान गरेको छ पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा आयोजित उक्त तालिममा युवायुवतीलाई शेयर बजार सम्बन्धि एक दिने तालिम प्रदान गरेका हो ।
पछिल्लो समय शेयर बजारमा लगानीकर्ताहरुको आकर्षण बढ्दै गईरहेको अवस्थामा परासी क्षेत्रका युवाहरुलाई पनि शेयर बजारमा आकर्षण बढाउन शेयर बजार सम्बन्धि तालिम दिईएको रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेलले बताए । उनले शेयर बजार सम्बन्धि ज्ञान प्राप्त गरि यसबाट घरमै बसीबसी सजिलै आम्दानी गर्न सकिने भन्दै अध्यक्ष पौडेलले शेयर बजारमै लागेर कयौँ व्यक्तिहरुले राम्रो आम्दानी गरिरहेको बताए युवाहरुको नेतृत्व, व्यक्तित्व र उद्यमशीलता विकासमा क्रियाशील अग्रणी संस्था रामग्राम जेसीजले युवाहरुलाई व्यवसायतर्फ उत्प्रेरित गर्न समेत वार्षिक योजनामै समावेश गरेर यो तालिम आयोजना गरेको उनले जानकारी दिए ।
तालिममा रामग्राम जेसीजका सदस्य युवाहरुको साथै शेयर बजारमा रुचि राख्ने व्यक्तित्वहरुको सहभागिता रहेको कार्यक्रम संयोजक एवं रामग्राम जेसीज वर्ष २०२४ का मिडिया संयोजक दीपक अधिकारीले जानकारी दिए । यस तालिमले शेयर बजारमा लगानी गर्न इच्छुक विशेषगरी नयाँ र साना लगानीकर्तालाई विशेष सहयोग पुगेको कार्यक्रम संयोजक अधिकारीले बताए ।
तालिममा शेयर बजार सम्बन्धि जानकार डिआर तिम्सिनाले सहजीकरण गरेका थिए । तालिमको उघाटन सत्रमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले शेयर बजारको माध्यमबाट बेरोजगारी अन्त्य गर्न ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए । उनले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्दै स्वरोजगार बन्नुपर्नेमा जोड दिए ।
अहिले शेयर बजारमै धेरैको ध्यान केन्द्रीत रहेको बताउँदै धेरै लगानी पनि नुहने र घरबाटै काम गर्न सकिने भएकोले यसको सदुपयोग गर्न युवाहरुलाई आग्रह गर्दै प्रदेश सांसद जयसवालले यो महत्वपूर्ण रहेको बताए । यस्तै तालिमको समापन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै रामग्राम नगरपालिकाका मेयर धनपत यादवले शेयर बजारको माध्यमबाट रोजगारी प्रवद्र्धनमा टेवा पुग्ने बताए ।
नगर प्रमुख यादवले जेसीज लगायतका संघ संस्थाहरुसँग साझेदारीमा नगरको विकासका कार्य गरिने बताए । रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली, रामग्राम जेसीजका पूर्व अध्यक्ष एवं परासी क्याम्पसका प्रमुख सुमनगोपाल आचार्य, रामनगर जेसीजका अध्यक्ष देवु भट्टराई, रामग्राम महिला जेसीजकी निवर्तमान अध्यक्ष जोगमाया चौधरी, कार्यक्रम संयोजक दीपक अधिकारी, रामग्राम जेसीजका उपाध्यक्ष श्रद्धासुमन आचार्य, प्रकरण निर्देशक निरज ज्ञवाली लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको रामग्राम जेसीज वर्ष २०२४ का महासचिव मुकेशनारायण लोनियाले जानकारी दिए .




