नवलपरासीमा यस आर्थिक वर्षमा ७८ जनामा डेंगु पोजेटिभ बिरामी भेटिएका छन् ।
परासी
डेंगी संक्रमणको जोखिम न्यूनीकरण गर्न पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।
गाउँपालिकाले सचेतनामूलक ¥यालीसँगै विभिन्न स्थानमा अभियान सञ्चालन गर्दै डेंगी नियन्त्रणका लागि समुदायस्तरमा सक्रियता बढाएको हो । डेंगी रोग फैलाउने लामखुट्टेको वृद्धि रोक्ने र नागरिकमा रोग रोकथामसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियोे ।
अभियानअन्तर्गत लामखुट्टेले अण्डा पार्न सक्ने तथा लार्भा हुर्कन सक्ने सम्भावित स्थानको खोजी गरी त्यस्ता वासस्थान नष्ट गर्ने कार्य गरिएको पाल्हीनन्दन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ताले जानकारी दिए ।
डेंगी नियन्त्रणका लागि सरकारी अभियान सञ्चालन गर्ने कार्य मात्र पर्याप्त नहुने भएकाले घरआँगन तथा वरपर पानी जम्न नदिने, पानी जम्मा हुने भाँडाकुँडा खाली गर्ने र नियमित सरसफाइमा ध्यान दिनुपर्ने सन्देश अभियानमार्फत् प्रवाह गरिएको गुप्ताले बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपरासीका वरिष्ठ मलेरिया निरीक्षक देवीलाल पौडेलले सहजीकरण गर्दै डेंगी नियन्त्रणका उपाय तथा लामखुट्टेको बासस्थान खोजी र नष्ट गर्ने अभियानको महत्वबारे जानकारी दिएका थिए । उनले जिल्लामा यस आर्थिक वर्षमा ७८ जनामा डेंगी पोजेटिभ देखिए जानकारी दिए ।
गाउँपालिकाकी कार्यवाहक उपाध्यक्ष अनामिका हरिजनले डेंगी नियन्त्रणमा नागरिकको व्यवहार परिवर्तन र नियमित सरसफाइ महत्वपूर्ण हुनेमा जोड दिइन् । पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष गोधन हरिजन, सशस्त्र प्रहरी उपरीक्षक गोविन्द खातीलगायतले डेंगी नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
पश्चिम नवलपरासीमा जिल्लामा यस आर्थिक वर्षमा ७८ जनामा डेंगु पोजेटिभ बिरामी भेटिएका छन् । जिल्लामा गत वर्ष ३५३ जना डेगु रोग बिरामी भेटिएको स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । आर्थिक वर्षमा २०८३-०८४हालसम्म जिल्लामा ७८ जनामा डेंगी पोजेटिभ बिरामी देखिएको छ ।
पालिकागत तथ्याङ्कअनुसार रामग्राम नगर पालिकामा गतबर्ष २ सय ५८ जना र आर्थि वर्ष २०८३-०८४ हालसम्म १६ जना,बर्दघाट नगरपालिकामा गत वर्ष ७७ जना र यस वर्ष ६० जना बिरामी भेटिएको स्वास्थ्य कार्यालय नवलपरासीका वरिष्ठ मलेरिया निरीक्षक देवीलाल पौडेलले जानकारी दिए ।
उनले सुनवल नगरपालिका गत वर्षमा ३ जना र यस वर्ष डेंगु रोगका बिरामी नभेटिएको र सुस्तामा भने गत वर्ष र यस वर्षमा डेंगु रोगका बिरामी नदेखिएको जानकारी दिए ।
त्यस्तै प्रतापपुर गाउँपालिकामा गर्ष वर्ष ११ जना र यस वर्षमा १ जना डेंगु रोगका बिरामी भेटिएका छन् भने पाल्हीनन्दन गाउँपालिकामा गत वर्ष बिरामी नभेटिएको, तर यस वर्षमा १ जना डेंगुरोगी बिरामी भेटिएको र सरावल गाउँपालिकामा गत वर्ष ४ जना र यस वर्ष डेंगु रोगका बिरामी नभेटिएको स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।




