बुटवल । तिलोत्तमा नगरपालिका–८, दीपनगरका ६७ वर्षीय छमबहादुर खत्रीले मासिक ६० हजार रुपैयां पेन्सन पाउंछन् ।
उनी भारतीय सेनाबाट अवकासप्राप्त सिपाहीं हुन् । उनका छोरा दक्षिण कोरियामा कम्प्युटर इन्जिनियर छन्, उनले पनि मासिक लाखौं कमाउंछन् ।
छमबहादुरले आफ्नै कमाईले २५ कठ्ठा खेत, पक्की घर, ५० लाख रुपैयां बढी मूल्यको कार, स्कुटर लगायत सम्पत्ति जोडेका छन् । उनको खेतको मूल्य नै करोडौं पर्छ ।
उमेरले सात दशक छुन लाग्दा धेरै मानिस आराम गरेर जीवन बिताउने सोचमा हुन्छन् । कतिपयका लागि यो उमेरमा विगतका दुःख सम्झँदै परिवारसँग समय बिताउनु नै दैनिकी बन्छ । तर छमबहादुरको जीवनशैली भने अरूका लागि प्रेरक उदाहरण बनेको छ ।
उनी बिहानदेखि साँझसम्म गाईपालन, खेतीपाती र घरायसी काममा सक्रिय छन् । छमबहादुरको दिनचर्या कुनै युवाको भन्दा कम व्यस्त छैन । बिहान उठेदेखि गाईको स्याहार, घाँस काट्ने, मेसिनमा घाँस काट्ने, गाईलाई खुवाउने, दूध दुहुने र डेरीसम्म पु¥याउने काम उनकै जिम्मामा छ । त्यसपछि उनी २५ कठ्ठा खेतमा खेतीपातीमा खटिन्छन् । उमेरले ६७ वर्ष पुगे पनि उनी दैनिक १२ देखि १४ घण्टासम्म काममा जुट्छन् । उनले अहिले तीनवटा जर्सी गाई पालिरहेका छन् ।
बागलुङको गलकोटमा जन्मिएका छमबहादुर १७ वर्षको उमेरमा भारतीय सेनामा भर्ती भएर सन् २००४ मा अवकाश लिएका थिए ।
उनका छोरा भलबारीको लुम्बिनी इन्जिनियरिङ कलेजमा बीई पढेर दक्षिण कोरियामा कम्प्युटर इन्जिनियरका रूपमा कार्यरत छन् । दुई छोरीमध्ये एकले बुटवलको लिट्स कलेजमा सीएमए अध्ययन गरेकी छन् भने अर्कीले कक्षा १० सम्म पढेकी छन् ।
बलियो आर्थिक आधार हुँदाहुँदै पनि छमबहादुरले आफ्नो दैनिकीलाई आराममा सीमित गरेका छैनन् । पेन्सनको भरमा घरमै बसेर खान पुग्ने भए पनि उनी श्रमलाई आफ्नो स्वास्थ्य र जीवनको अभिन्न हिस्सा मान्छन् । उनको सक्रियता देख्ने कतिपय मानिस भने यति धेरै सम्पत्ति, पेन्सन र छोराको आम्दानी हुँदाहुँदै पनि किन काम गरिरहनुपरेको होला भनेर आश्चर्य मान्छन् ।
तर छमबहादुरका लागि काम गर्नु बाध्यता होइन, जीवनलाई स्वस्थ, सक्रिय र अर्थपूर्ण बनाउने माध्यम हो । चिकित्सकको एउटा सल्लाह, जीवनभरको प्रेरणा छमबहादुरको कर्मशील जीवनको पछाडि एउटा महत्वपूर्ण घटना जोडिएको छ । भारतीय सेनामा कार्यरत रहँदा ३५ वर्षअघि उनलाई अचानक उच्च रक्तचापको समस्या देखियो । त्यतिबेला उनी ३५ वर्षकै थिए । सानैदेखि गाउँघरमा हुर्किएका उनलाई रक्तचाप भनेको के हो भन्नेबारे खासै जानकारी थिएन । पल्टनमै रहँदा रक्तचाप बढेर ढलेपछि उनी अब मरिन्छ कि भन्ने ठानेर निकै चिन्तित बने ।
त्यतिबेला उनलाई आफ्नो स्वास्थ्यभन्दा परिवारको भविष्यको चिन्ता बढी लाग्यो । श्रीमती र छोराछोरी सानै थिए । आफूलाई केही भइहाले परिवार कसरी चलाउने, छोराछोरीलाई कसरी हुर्काउने र पढाउने भन्ने प्रश्नले उनलाई सताउन थाल्यो । आफूलाई तल माथि भए श्रीमतीलाई अर्कैले लगिदिने र छोरा छोरी बिचल्ली हुने चिन्ताले छमबहादुरलाई पिरोल्यो । ‘गाउंघरमा जन्मेहुर्केको मान्छे, त्यो बेलासम्म मलाई ब्लड प्रेसर के हो भन्ने थाहै थिएन, पल्टनमै साथीभाइका बीचमा प्रेसरले हानेर ढलेपछि अब मरिने हो कि भन्ने लाग्यो’– उनले विगत सम्झिए । त्यतिबेला परिवारप्रतिको जिम्मेवारी र भविष्यको चिन्ताले उनलाई समयअगावै अवकाश लिएर घर फर्किने निर्णयसम्म पु¥यायो । त्यसबेला उनी अझै १५–२० वर्ष सेनामा सेवा गर्न सक्ने अवस्थामा थिए ।
तर श्रीमती र साना छोराछोरीको भविष्य सम्झेर घर फर्किए । जीवनको कठिन मोडमा उनलाई आफ्नै पल्टनका एक सैनिक चिकित्सकले दिएको सल्लाहले नै छमबहादुर अहिले ६७ वर्षको उमेरसम्म स्वस्थ रहन सकेका छन् । चिकित्सकले रक्तचापको समस्यालाई लिएर अत्यधिक चिन्ता नगर्न, शरीरलाई निष्क्रिय नराख्न र नियमित शारीरिक गतिविधिमा संलग्न भइरहन सुझाव दिएका थिए । त्यही सल्लाहलाई उनले जीवनको मार्गदर्शन बनाए । अवकाशपछि पनि उनी नियमित काममा जुटिरहे । खेतीपाती र गाईपालन उनको दैनिकीको हिस्सा बने । उनले आफ्नो शरीरलाई निष्क्रिय हुन दिएनन् र जीवनलाई श्रमसँग जोडिरहे ।
यसले उनको स्वास्थ्य अवस्था थप विग्रन पाएन । २९ वर्षदेखि औषधि, तर काम गर्ने उत्साह उस्तै छमबहादुरले ३५ वर्षको उमेरदेखि दैनिक एक डोज रक्तचापको औषधि सेवन गर्दै आएका छन् । स्वास्थ्य समस्याप्रति सचेत रहँदै चिकित्सकको सल्लाहअनुसार औषधि लिने र आफ्नो दैनिकीलाई सक्रिय राख्ने उनको अभ्यास निरन्तर छ । हालसम्म औषधिको मात्रा बढाउनुपर्ने अवस्था नआएको उनी बताउँछन् । ‘मैले पैसा नपुगेर काम गरेको होइन । डाक्टरले दिएको सल्लाह मानेर काम गर्दा प्रेसरको समस्या बढेन, अरू रोग पनि खासै लागेन । सम्पत्ति र पेन्सन छ भन्दैमा चोकचौतारामा गफ चुटेर, खाएर–पिएर दिन बिताउनुभन्दा काम गर्दा म स्वस्थ छु, गाई पालनबाट मासिक ४०–४५ हजार आम्दानी पनि गरेको छु’–छमबहादुरले भने । उनी उमेर बढ्दैमा मानिस निष्क्रिय हुनुपर्छ भन्ने मान्यता स्वीकार गर्दैनन् ।
शरीरले साथ दिँदासम्म सक्रिय रहने, स्वास्थ्यको ख्याल गर्ने र आफूले सक्ने काम आफैँ गर्ने बानीले जीवनलाई अनुशासित बनाउने र अरुका लागि प्रेरणा होस् भन्ने आफ्नो मान्यता रहेको उनको विश्वास छ । २५ कठ्ठा जमिनमा हुने खेतीपातीले पनि गाईपालनका लागि आवश्यक घाँस र अन्य व्यवस्थापनमा सहयोग पु¥याएको छमबहादुर बताउंछन् । शुरुमा ६–७ वटा सम्म गाई र भैंसी पालेका उनले पछिल्ला वर्ष घटाउंदै ३ वटा मात्र पाल्ने गरेको बताए । गाईपालनको काममा श्रीमतीले पनि साथ दिने गरेकी उनले बताए । छमबहादुरले औपचारिक रूपमा आठ कक्षासम्म मात्र अध्ययन गर्न पाए ।
तर शिक्षाको महत्व राम्ररी बुझेका उनले छोरा–छोरीलाई उनीहरुको इच्छा अनुसार पढाए । छमबहादुरको सक्रियता घर, खेत र गोठमा मात्र सीमित छैन । उनी सामाजिक काममा पनि संलग्न रहँदै आएका छन् । विकल्प डेरीको करिब १० वर्षसम्म अध्यक्ष भएर काम गरेका उनले दीपज्योति मार्गको उपाध्यक्षका रूपमा पनि जिम्मेवारी निर्वाह गरे । विभिन्न सहकारी संस्थामा समेत काम गरेको अनुभव उनीसँग छ ।
छमबहादुरलाई नजिकबाट चिनेका देवदह नगरपालिकाका पुर्व मेयर हिराबहादुर खत्रीले आफू पनि उनको मेहनत र कर्मशील जीवनशैलीबाट प्रभावित भएर दुग्ध व्यवसायमा खटिरहन प्रेरणा मिलेको बताए । ‘हामी सबैले उहाँले जस्तै मेहनत गर्ने हो भने मात्रै देश कम्तीमा कृषिमा आत्मनिर्भर बन्न सक्छ । उहाँको कर्मशील जीवन हामी सबैका लागि प्रेरणा हो’– खत्रीले भने–‘उहांको जीवनको सबैभन्दा सकारात्मक पक्ष भनेको सम्पन्नताका बीच पनि स्वास्थ्यप्रतिको सचेतना र श्रमप्रतिको सम्मान हो ।’
छमबहादुरका छिमेकी दामोदर घिमिरे पनि उनको मेहनत र सरल जीवनशैलीबाट अरूले सिक्नुपर्ने बताउँछन् । ‘उहां सांच्चिकै मेहनतको पर्याय हो, उहांको कर्मशील जीवनशैलीलाई स्थानीय सरकारले पनि चिन्न र सम्मान गर्न सक्नुपर्छ’–घिमिरेले भने ।