गोविन्द घर्ती
देवदह
रुपन्देही नागरिक समाज देवदह इकाईले विभिन्न विषय समेटेर देवदह नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।
नागरिक समाज देवदहका अध्यक्ष जयकिशन अधिकारी र सचिव रमेश पोखरेलद्वारा हस्ताक्षरीत ७ बुँदे ज्ञापन पत्रमा नगर अस्पतालमा स्वास्थ्य बिमाको पहिलो केन्द्र विन्दु भए पनि प्राप्त मात्रामा औषधि उपलव्ध नभएको उल्लेख गरिएको छ ।
यसैगरी सामुदायिक विद्यालय तहमा अंग्रेजी शिक्षाको नाममा विद्यार्थीहरुबाट रकम असुलीरहेको र देवदह नगरपालिकामा कार्यरत कर्मचारीहरुले वार्षिक रुपमा १७ महिनाको तलब खाएको बारे स्पष्ट पार्न नगरपालिकालाई ज्ञापन पत्रमार्फत् आग्रह गरिएको छ । आधारभूत स्वास्थ्य संस्थामा निःशुल्क स्वास्थ्य सेवा र विद्यालय तहमा निःशुल्क शिक्षा प्राप्त गर्न पाउने नागरिकको मौलिक हक प्रत्याभूति गराउन ज्ञापन पत्रमार्फत् माग गरिएको छ ।
आमनागरिकले तिरेको राजस्वबाट विभिन्न वहानामा कर्मचारीहरुलाई प्रोत्साहन भत्ता प्रदान गरेर नगरपालिकाले चरम दोहन गरेको भन्दै अविलम्ब अन्त्य गर्न आग्रह गरिएको छ ।
नीतिगत भ्रष्टचार रोक्नु पर्ने उल्लेख गर्दै नगरवासीको अभिभावक बनेर आप्mनो भूमिका निर्वाह गर्न लाग्नु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्रमा २७ जना कर्मचारीले वर्षमा १७ महिना तलब बुझेको नबुझेको नागरिकलाई यर्थात् जानकारी दिनु पर्ने, बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत देवदह क्षेत्रको सडक समयमा नबनेके हुँदा नागरिकले सास्ती व्यहोर्न बाध्य भएको भन्दै स्थानीय सरकार मुखदर्शक भएर बसेको, नगर अस्पतलाको भवन तत्काल निर्माण नहुँदा नागरिकले दुःख पाएको बताउँदै भवन तत्काल निर्माण गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । यसैगरी नगरपालिकाले निर्माण गरेको कोसेली भवन तत्काल उपयोगमा ल्याउनु पर्ने, अव्यवस्थित बसोवास र सुकुम्बासी समस्या चुनावी घोषणा पत्रमा उल्लेख नगरी तत्काल समाधान गर्ने गरी नगरपालिका लाग्नुपर्ने उल्लेख गरिएको छ ।
रुपन्देही नागरिक समाज देवदह इकाइले बुझाएको ज्ञापन पत्र बुझ्दै देवदह नगरपालिकाका नगर प्रमुख धु्रवप्रसाद खरेलले देवदह नगरपालिकाले कर्मचारीहरुलाई कानुन संवत प्रोत्साहन भत्ता उपलब्ध गराएको जानकारी दिए । उनले विगतका वर्षमा २० देखि ४० प्रतिशत सम्पूर्ण कर्मचारीले खाने गरेकोमा यस वर्षदेखि अतिरिक्त काम गर्नेलाई मात्र प्रोत्साहन भत्ता उपलब्ध गराएको जानकारी दिए । नगर प्रमुख खरेलले नगर अस्पताल र स्वास्थ्य संस्थाबाट अत्यावश्यक औषधि उपलब्ध गराउने गरी नगरपालिका लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
रुपन्देही नागरिक समाज देवदह इकाइका अध्यक्ष जयकिशन अधिकारीको नेतृत्वमा गएको टोलीमा नागरिक समाजका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो ।
११ र १२ को कक्षा बिहानी सत्रमा सञ्चालन गर्न ध्यानाकर्षण
पूर्वी क्षेत्र निजी विद्यालय एशोसियनले कक्षा ११ र १२ को कक्षा बिहानी सत्रमा सञ्चालन गर्ने गरी देवदह नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । देवदह क्षेत्रको शिक्षाको विकासमा निजी विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको भन्दै कक्षा ११ र १२ को दिवा सत्रमा संचालन गर्दा देवदह क्षेत्रका विद्यार्थी अन्यत्र गएको भन्दै नगरपालिकालाई ७ बुँदे ध्यानकर्षण पत्र बुझाएको छ ।
देवदह नगरपालिकाका नगरप्रमुख धु्रवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालाई इप्साले ध्यानाकर्षण पत्र बुझाउँदै संविधानको धारण ३१ को शिक्षासम्बन्धी हक बमोजिम बालबालिकाको पढ्न पाउने अधिकार र धारा ४४ को वस्तु तथा सेवा रोज्ने अधिकारलाई समेत नगरपालिकाले कुण्ठित गर्दै दिवा सत्रमा सञ्चालन गर्ने निर्देशनले विद्यार्थीहरुको नैसर्गिक अधिकारविरुद्ध रहेको उल्लेख गरिएको छ ।
इप्सा रुपन्देहीका अध्यक्ष रामबहादुर गुरुङ्ग र सचिव विनोद थापाद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा देवदह क्षेत्रमा विद्यार्थी अनुकुल शिक्षाको वातारवण बन्न नसक्दा देवदहका अधिकांश विद्यार्थीहरु कक्षा ११ र १२ को शिक्षा आर्जन गर्न देवदह बाहिर जान बाध्य भएको उल्लेख गर्दै विद्यार्थी संख्या न्यून हुँदै गएपछि कतिपय विद्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएकोे छ ।
देवदह नगरपालिकाले गरेको अलोकप्रिय निर्णय पुनःविचार गरी पाठ्यभार अनिवार्य पूरा गर्नुपर्ने सर्तमा बिहानी सत्रमा कक्षा सञ्चालन गर्ने वातावरण तयार गर्न नगरपालिकालाई आग्रह गरिएको छ । ध्यानाकर्षण पत्रमा विद्यार्थीहरु अन्यत्र गएको र देवदह क्षेत्रमा विद्यार्थीहरुको संख्या घट्दै गएको, कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरु कमाउँदै अध्ययन गर्ने वातावरण नभएको, विद्यार्थीहरु नगर बाहिर अध्ययन गर्न जाँदा देवदह क्षेत्रको पुँजी बाहिर गएको, बिहानी कक्षा सञ्चालन गर्दा दिवा समयमा विभिन्न सीप विकासबाट वञ्चित हुनु परेको उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख धु्रवप्रसाद खरेलले कार्यपालिकाको बैठकले निर्णय गरी कार्यान्वयनमा आएकोले तत्काल बिहानी सत्र सञ्चालन गर्न नसकिने बताए । उनले जिल्ला समन्वय समिति रुपन्देहीले गरेको निर्णयलाई आफूहरुले कार्यान्वयन मात्र गरेको बताउँदै कानुनी रुपमा अगाडि बढ्ने जनाए । उनले पूर्वी क्षेत्र निजी विद्यालय एशोसियनले बुझाएको ध्यानाकर्षण पत्रलाई शिक्षा समिति र कार्यपालिका बैठकमा लगेर छलफल गर्ने प्रतिबद्धता जनाए । अध्यक्ष रामबहादुर गुरुङ्गको नेतृत्वमा गएको टोलीमा इप्सा रुपन्देहीका सल्लाहकार कृष्णप्रसाद पौडेल, एकनारयण काप्mलेलगायतको उपस्थिति रहेको थियो ।




