तिलोत्तमा । पछिल्लो समय औद्योगिक ब्यापार मेला र महोत्सवकै महत्व र गरिमामा आंच आउने गरी यत्रतत्र हुने ‘टोले मेला’हरुलाई कडाईका साथ नियन्त्रण गर्न स्थानीय सरकारले चासो दिनुपर्ने रुपन्देहीका सिडिओ र व्यवसायीका अगुवाहरुले आग्रह गरेका छन् ।
उनीहरुले स्थानीय सरकारले ब्यापार मेला वा महोत्सवको निश्चित मापदण्ड र विधि बनाएर कस्ता संस्थाले सञ्चालन गर्न पाउने भन्ने पनि स्पष्ट गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा मणिग्राममा सुरु भएको नवौँ राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि, प्रविधि एवम् पर्यटन प्रवद्र्धन महोत्सवको उद्घाटनका अवसरमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मेलाका नाममा यत्रतत्र आयोजना हुने ‘टोले मेला’ हरुले विकृति बढाएको भन्दै मेला महोत्व सञ्चालनको अनुमति दिने अधिकार स्थानीय सरकारलाई भएकाले उनीहरुले स्पष्ट मापदण्ड र विधि बनाउनुपर्ने सुझाव दिए ।
पछिल्लो समय अर्कै उद्देश्यले स्थापना भएका क्लबहरुले समेत मेला आयोजना गर्ने परिपाटी बढ्दै जांदा मेलाहरुमा व्यापारिकरण मात्र भएको र प्रशासनलाई सुरक्षा दिन समेत चुनौति बढेको सिडिओ अर्यालले बताए ।
‘क्लब र अन्य जुन पायो त्यही संस्थाले टोल टोलमा मेला आयोजना गर्ने परिपाटीले विकृति बढेको छ, मेलाको व्यापारीकरण भएको छ र प्रहरी प्रशासनलाई सुरक्षा व्यवस्था दिन चुनौती भएको छ’– सिडिओ अर्यालले भने–‘स्थानीय सरकारले मेला–महोत्सवको स्पष्ट मापदण्ड, विधि बनाएर कस्ता संस्थाले ब्यापार मेला महोत्सव गर्न नपाउने भन्ने निश्चित गर्नुपर्छ, अन्यथा यसले निम्ताउने विकृति र बेथिति रोक्न गाह्रो हुन्छ ।’
उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्योगी व्यवसायीको छाता संस्थाका रुपमा स्थापना भएका व्यावसायिक संस्था बाहेक जो सुकैले मेला आयोजना गर्न नपाउने विधि बनाउन माग गरे । ‘जोसुकैले मेला महोत्सव आयोजना गर्ने परिपाटीले मेला महोत्सवको महत्व र गरिमा घटेको छ र विकृति संगै सुरक्षा चुनौती समेत बढेकाले यसतर्फ सम्बन्धित सरकारी निकायको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ’–श्रेष्ठले भने ।
यस्तै सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले पनि क्लबहरुले जथाभाबी लगाउने मेला नियन्त्रण गर्न माग गरे । उद्योग–ब्यवसाय प्रवद्र्धन, उद्योगी व्यवसायीको हक हितका लागि स्थापना भएर त्यसमा मात्रै काम गर्ने संस्थाहरुलाई नै ब्यापार मेला सञ्चालन गर्न दिनुपर्ने आचार्यले सुझाव दिए ।
क्लबहरुले आयोजना गर्ने मेलामा छाडा गीत र अश्लील नृत्य सहितका सांस्कृतिक कार्यक्रमले विकृति बढाएको र समाजलाई गलत दिशातिर लैजाने जोखिम बढेकाले स्थानीय सरकार र प्रहरी प्रशासनले जो पायो त्यसलाई मेला महोत्सव सञ्चालनको अनुमति दिन नहुने आचार्यले बताए ।
‘जुन काम गर्ने उद्देश्यले संस्था स्थाना भएको हो त्यही काम गर्नुपर्छ, मेलाका नाममा केही स्टल राखेर आयोजना हुने टोले मेलाले विकृति बढेको छ, यसलाई रोक्न स्थानिय सरकारको ध्यान जानु पर्छ’–उनले भने ।
तिलोत्तमामा स्थायी मेला स्थल व्यवस्थापन भयो : नगर प्रमुख खांण
महोत्सवको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले उद्घाटन गर्दै निजी क्षेत्रलाई अगाडि नबढाएसम्म मुलुकको अर्थतन्त्रमा सुधार आउन नसक्ने बताए । उदार अर्थतन्त्रको अवलम्बनपछि गरिबी घट्नुका साथै उद्योग, व्यापार तथा व्यवसायमा क्रमिक विकास भएको उल्लेख गर्दै उनले अब आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने बताए ।
औद्योगिक तथा व्यावसायिक विकासका लागि तीनै तहका सरकारले गम्भीर भएर काम गर्नुपर्ने उनको भनाइ थियो । तिलोत्तमामा स्थायी मेला स्थल निर्माणका लागि तिलोत्तमा वडा नं. ४ मा तिनाउ नदी उकास क्षेत्रमा ५ विगाहा जग्गा व्यवस्थापन गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । सोही स्थानमा नगरका तीन वटा व्यवसायिक संस्थाको सचिवालय भवन पनि रहने र मेला महोत्सव सञ्चालनका लागि स्थायी पुर्वाधार बनाउनुपर्ने नगर प्रमुख खांणले बताए । यस्ता मेलाले स्थानीय उद्योग तथा व्यापारको प्रवद्र्धनसँगै आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।
त्यस्तै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवलदेखि कोरला नाकासम्मका पहाडी क्षेत्रका कृषिजन्य तथा मासुजन्य उत्पादनलाई तराईमा ल्याउने र यहाँका उत्पादन पहाडी क्षेत्रमा पु¥याउने व्यवस्था मिलाउन सके व्यावसायिक तथा औद्योगिक विकासमा टेवा पुग्ने बताए ।
उनले मोतीपुर औद्योगिक क्षेत्र निर्माणको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै त्यसले बुटवल र तिलोत्तमा मात्रै नभई समग्र रुपन्देही तथा मुलुककै औद्योगिक विकास र अर्थतन्त्र सुधारमा योगदान पु¥याउने बताए ।
संघका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक ज्ञानेन्द्र कार्कीले स्थानीय उत्पादनलाई बजारसँग जोड्दै औद्योगिक तथा व्यावसायिक गतिविधि चलायमान बनाउन मेला आयोजना गरिएको बताए । उद्योग, व्यापार, कृषि, पर्यटन र प्रविधिको साझा प्रदर्शनीका रूपमा मेलालाई विकास गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे ।
अध्यक्ष कार्कीले भारतसँगको व्यावसायिक सम्पर्कलाई प्रभावकारी बनाउँदै व्यापारिक लाभ लिन सकिने बताउँदै बुद्ध सर्किट र जानकी सर्किटको विकास तथा विस्तारलाई पनि मेलाले प्राथमिकता दिएको जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघ र लुम्बिनी प्रदेश उद्योग वाणिज्य महासंघको संरक्षकत्व, वन, वातावरण तथा पर्यटन मन्त्रालय लुम्बिनी प्रदेशको प्रवद्र्धन तथा तिलोत्तमा नगरपालिका, रुपन्देही चेम्बर अफ कमर्स र तिलोत्तमा उद्योग व्यापार संगठनको सहआयोजनामा मेला सञ्चालन भएको हो । तिलोत्तमामा आयोजना भएका मेलामा यो नवौं भएपनि तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा भएको यो चौंथो औद्योगिक व्यापार मेला हो ।
‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी ः दिगो आर्थिक विकासका लागि चौथो तिलोत्तमा राष्ट्रिय प्रदर्शनी’ भन्ने नारासहित आयोजित मेलामा करिब ३२५ स्टल रहेका छन् । १४ दिनसम्म सञ्चालन हुने मेलामा पाँच लाख दर्शकले अवलोकन गर्ने र १२ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।
मेलामा औद्योगिक उत्पादन, कृषि उपज, प्रविधि तथा पर्यटनसँग सम्बन्धित सामग्री र सेवाको प्रदर्शनी तथा बिक्री गरिनेछ । संघका वरिष्ठ उपाध्यक्ष तथा मेला मूल आयोजक समितिका सहसंयोजक सुरज पंगेनीका अनुसार कृषि तथा पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रका उत्पादन र गतिविधि समेटिएका छन् ।
मेलालाई व्यापारिक प्रदर्शनीमा मात्र सीमित नराखी मनोरञ्जन, संस्कृति र पर्यटनसँग पनि जोडिएको छ । संघका महासचिव तथा मेला प्रवक्ता राजकुमार पाण्डेका अनुसार ८० फिट अग्लो वाटरफल, चरखे पिङ, ३६० डिग्री झुला र जिरो ग्राभिटी झुला मेलाका प्रमुख आकर्षण हुन् ।
त्यसैगरी मेलामा पशुपतिनाथ मन्दिर, लुम्बिनी, मुक्तिनाथ र जनकपुरधामको कलात्मक शैलीमा तयार गरिएका संरचना, रामायण शो, तिलोत्तमा आरती, सांस्कृतिक कार्यक्रम तथा बालउद्यान राखिएका छन् । तिलोत्तमाभित्रका पर्यटकीय गन्तव्यको पहिचान र प्रचारप्रसारका लागि पर्यटन ग्यालरीसमेत राखिएको छ ।
मेलामार्फत उद्यमशीलता, श्रम र वातावरणीय सचेतना अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन गरिनेछ । जलवायु परिवर्तनका असरबारे जनचेतनामूलक कार्यक्रम, विद्यार्थीलाई उद्यमशीलताप्रति प्रेरित गर्ने गतिविधि, सफल उद्यमीका अनुभव तथा प्रेरणादायी मन्तव्य र विभिन्न व्यावसायिक विषयमा प्यानल छलफल आयोजना गरिने आयोजकले जनाएको छ । त्यसैगरी उद्योगी, व्यवसायी र श्रमिकबीचको सम्बन्धलाई थप व्यवस्थित बनाउन श्रम डेस्क स्थापना तथा श्रम अडिट कार्यक्रमसमेत राखिएको छ ।
मेलामा प्रवेशका लागि सर्वसाधारणलाई एक सय रुपैयाँ टिकटको व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई भने निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । त्यस्तै विशेष समयका लागि मेला प्रवेशका लागि विशेष टिकटको व्यवस्था गरिएको छ ।
मेलाको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले मुलुकको औद्योगिक तथा व्यावसायिक वातावरण कमजोर हुँदै गएको उल्लेख गर्दै त्यसको सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । उनले बिग्रँदो अर्थतन्त्रलाई सुधार गर्न दुवै पक्षले साझा प्रयास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अनुगमन तथा मुल्यांकन समितिका संयोजक गुणनिधी (माधव) भण्डारी, सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष नेत्र न्यौपाने, तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम जीएमलगायत उद्योगी, व्यवसायीहरुले शुभकामना व्यक्त गरेका थिए ।
यसैबीच मेला उद्घाटन अघि मेला स्थलबाट सुरु गरिएको प्रभात फेरी नगरका विभिन्न स्थानका परिक्रम पछि पुनः मेला स्थलमा आएर सकिएको थियो ।
उक्त प्रभात फेरीमा उत्कृष्ट हुने समुहलाई नगद सहित पुरस्कृत गरिएको छ । प्रभात फेरीमा नेपाल मगर संघ तिलोत्तमा १ प्रथम, क्षेत्री समाज नेपाल द्वितीय तथा नेपाल मगर संघ तिलोत्तमा नगर समिति र क्रिस्टल नलेज एकेडेमी मंगलापुर तृतीय भएका छन् । त्यस्तै जागृती टोल विकास संस्था, टिकुलीगढ आमा समुह, र लुम्बिनी एफएम आमा समुह सान्त्वना भए ।
प्रभात फेरीमा प्रथम हुनेलाई १५ हजार रुपैंया, द्वितीय हुनेलाई १० हजार रुपैंया, तृतीय हुने २ वटा समुहलाई जनही ५ हजार रुपैंया तथा सान्त्वना हुने ३ वटा समुहलाई जनही २ हजार ५ सय रुपैंया नगद पुरस्कार प्रदान गरिएको छ । प्रभात फेरीमा विभिन्न २ सय बढी संघसंस्था सहभागि रहेको संघका निवर्तमान अध्यक्ष समेत रहेका अनुगमन तथा मुल्यांकन समितिका संयोजक गुणनिधी (माधव) भण्डारीले जानकारी गराए ।



