बुटवल । उद्योग व्यापार संघ बुटवलले आगामी पुस ३ गतेदेखि १६ गतेसम्म बुटवल मण्डमा सञ्चालन गर्ने पांचौं राष्ट्रिय औद्योगिक ब्यापार मेलालाई विगतमा जस्तै भव्य र व्यवस्थित बनाई बुटवलको मेलाको ब्राण्ड र गरिमालाई थप उचों बनाउनुपर्नेमा बुटवलका उद्योगी व्यवसायीका प्रमुख चार छाता संस्थाहरुले जोड दिएका छन् ।
उद्योग ब्यापार संघ बुटवलले मेलाका विषयमा गरेको छलफलमा बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही ब्यापार संघ र रुपन्देही उद्योग संघका अध्यक्षहरुले बुटवलको मेला चार वटै संस्थाको साझा मेला भएकाले यसलाई सफल बनाउन आफूहरुले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
अन्य तीन संस्थालाई मेलाको सह आयोजक बनाएर संस्थागत सम्बन्धलाई थप मित्रवत र बलियो बनाएको भन्दै तीनवटै संस्थाले उद्योग ब्यापार संघ बुटवललाई धन्यवाद दिंदै खुशी व्यक्त गरेका थिए । सो अवसरमा बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य हरि प्रसाद अर्यालले बुटवलमा पुसमा लाग्दै आएको मेलाले राष्ट्रियस्तरमै ठूलो र भव्य मेलाको ब्राण्ड बनाएको चर्चा गर्दै यसपटक यसको गरिमालाई थप उचो बनाउन आयोजक र सहआयोजक चार वटै संस्थाको उत्तिकै जिम्मेवारी र दायित्व रहेको बताए ।
यस्तै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष नरिश्वर पौडेल, रुपन्देही ब्यापार संघका अध्यक्ष प्रकाश ढकालले उद्योग व्यापार संघ बुटवलले पहिलोपटक अन्य तीन संस्थालाई मेलाको सहआयोजक बनाएर उदारता र हार्दिकता व्यवहारमै पुष्टी गरेको भन्दै मेलालाई सफल बनाउन आफूहरुले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए । यस्तै रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले मेलामा स्वदेशी र स्थानीय उत्पादनलाई प्राथमिकता दिन सुझाव दिएका थिए ।
आयोजक संघका अध्यक्ष लोकनाथ पन्थीले बुटवलमा पुषमा आयोजना हुंदै आएको मेला संघले पहिलोपटक आयोजना गर्न लागेकाले यसलाई विगतमा जस्तै सफल बनाउन सहआयोजक तीनवटै संस्थाहरुबाट रचनात्मक सल्लाह सुझाव र सहयोगको अपेक्षा गरेको बताए ।
संघका कोषाध्यक्ष दिलिप शर्माले मेलाको सफलताको एउटा आधार लक्ष्य अनुसार चार सय बढी स्टल, दश लाख दर्शक भित्राउने र ५० करोडको आर्थिक कारोबार गर्ने रहेकाले यस लक्ष्यलाई पूरा गर्न सहआयोजक तीन वटै संस्थाको सहयोग अपरिहार्य रहेको बताएका थिए । उनले विगतमा जस्तै मेलालाई व्यवस्थित र नयांपन दिने गरी काम भइरहेको जानकारी गराएका थिए ।
मेलाको संरक्षकमा बुटवल उपमहानगरपालिका र नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघ रहेका छन् ।
आयोजकले मेला स्थल व्यवस्थापन, स्टल तथा पेभेलियन निर्माण, व्यवसायीको सहभागिता, सुरक्षा, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमलगायतका तयारीलाई अघि बढाउन मेला स्थलमै सचिवालय स्थापना गेर काम गरिरहेको छ ।
मेलालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न २९ वटा उपसमिति गठन गरी तयारीका काम तीब्ररुपमा अघि बढाइएको सचिव सौरभ भुसालले जानकारी दिए ।



