बुटवल । बुटवलको अस्पताल लाइनमा फलफुल बेच्ने क्रममा नगर प्रहरीले दुव्र्यवहार र ज्यादती गरेको महिलाहरुले गुनासो गरेका छन् । नगर प्रहरी आएको देखेपछि सामान डोकोमा राखेर हिंड्दा समेत नगर प्रहरीले लखेटी–लखेटी सामान कब्जा गरिदिने गरेको महिलाहरुको गुनासो छ ।
शनिबार अस्पताललाइनबाट नेपालगन्जरोडसम्म लखेट्दै गर्दा नगर प्रहरीले डोको तान्दा नाम्लो घांटीमा झरेर पासो लागेर झण्डै ज्यान गएको टिका श्रीस मगरले बताइन् । नगर प्रहरीले लछारपछार गर्दा टिकाको कुर्ता च्यातिएर अर्धनग्न भएकी थिइन् । बुटवलको इटाभट्टीलाइनमा बस्दै आएकी उनले छोरा छोरी पढाउन र विरामी श्रीमान पाल्ने कुनै उपाय नभएर कहिले सडक पेटीमा त कहिले डोकोमा डुलाएर सामान बेच्दै आएको बताइन् ।
डोकोमा बोकेर बेच्न पनि नदिई लखेटेर सधैं सताउने गरेको उनले बताइन् । ‘नगर प्रहरीले अस्पताल लाइनबाट लखेट्दै नेपालगन्जरोड पु¥याए, फलफुल बोकेको डोको पछाडिबाट तान्दा नाम्लो घांटीमा पासो लागेर झण्डै मारेनन्’–श्रीसले भनिन् ।
श्रीसमाथि नगर प्रहरीको ज्यादतीलाई प्रत्यक्ष देखेका बुटवलका युवा युगेन्द्र गौतमले आफू त्यहां पुगेर नगर प्रहरीलाई नरोकेको भए ती महिलाको घांटीमा पासो लागेर ज्यान जानसक्ने अवस्था रहेको बताए ।
‘नगर प्रहरीले ज्यादती गरेको देखेपछि मैले त्यसो नगर्न भन्दा मसंग पनि झगडा गरे, ती दिदीको झण्डै ज्यान गएन’–उनले भने–‘यस्तो अमानवीय हर्कत नगर प्रहरीले रोक्नुपर्छ ।’
योगीकुटीकी नर्मदा भण्डारीले एक वर्षअघि नगर प्रहरीले लखेट्दा दुर्घटना भई खुट्टा भांचिएको बताइन् ।
नगर प्रहरीबाट बच्न खोज्दा कारले हानेर खुट्टा भांचिएपछि ८ दिन अस्पताल बस्दासम्मको एक लाख ४० हजार कारधनीले दिएका तर त्यसपछिको करिब डेढ लाख आफ्नो खर्च भएको भण्डारीले बताइन् । अहिले पनि खुट्टाभित्र स्टिलको रड रहेको हुंदा उपचार जारी रहेको उनले बताइन् ।
सडकबाट भागेर बजारका घर र होटेलमा आश्रय लिन पुगेको अवस्थामा समेत नगर प्रहरीले हातपात र दुबर्यवहार गर्ने, सामान खोसेर लगिदिने गरेको बुटवल ११ मजुवाका इन्द्र नेपालीले बताए ।
नगर प्रहरीको ज्यादतीविरुद्ध आवाज उठाउँदा घरमै आएर धम्की दिने गरेको नेपालीले बताए ।
उनले अरु उपाय नभएर सडकमा सामान बेचेर गुजारा गर्ने नागरिकलाई लखेटेर, कुटपिट गरेर नभई निश्चित ठाउं र समय तोकेर गरिखान दिनुपर्ने आफूहरुको माग रहेको बताए । ‘उपमहानगरले यिनीहरु थोरै छन्, यिनको पक्षमा कोही छैन भन्ने ठानेर नगर प्रहरीमार्फत अमानवीय व्यवहार र दादागिरी शैली प्रदर्शन गरेको छ,यो रोकिनुपर्छ र नागरिक समाज,अधिकारकर्मीले हाम्रो मागमा बोलिदिनुपर्छ’–नेपालीले भने–‘मेयरको नारा एउटा छ, व्यवहार ठीक उल्टो छ ।’
बुटवलका मेयर खेलराज पाण्डेयले निर्वाचनमा समानता, स्वाभिमान, अवसर र बस्नयोग्य बुटवल शहर नारा अघि सारेर चुनाव जितेका थिए । तर उनको पालामा विपन्न वर्गले काम गरेर खान पनि नपाएको र उल्टै दुव्र्यवहारपूर्ण ज्यादती भोग्नुपरेको नेपालीले टिप्पणी गरे ।
नगर प्रहरीले आफूहरुबाट खोसेर लाने सामान कहां के गरिन्छ भन्ने जानकारी आफूहरुलाई नभएको उनले बताए ।
अर्थ–सामाजिक विषयमा कलम चलाउंदै आएका विश्लेषक रामचन्द्र श्रेष्ठले शहर धनीमानी र हुनेखानेको मात्र नभई गरिखानेको पनि हो र शहरमाथिको अधिकार सबैको मौलिक हक हो भन्ने तथ्य उपमहानगरले बुझ्न नसकेको वा बुझेर पनि बुझ पचाएको टिप्पणी गरे । ‘शहर हुनेखानेको मात्र हैन, गरिखानेहरुको पनि हो, शहरमाथिको अधिकार सबै वर्गका नगरवासीको समान हुन्छ ’–उनले भने ।
अधिकारकर्मी एवं पत्रकार रिमा वीसीले मर्यादित रूपमा बाँच्न पाउने हरेक नागरिको नैसर्गिक मानवअधिकार हुने र हरेक नागरिकले आफुले रोजेको पेशा व्यवसाय गर्न पाउनने बताइन् । ‘नागरिकलाई चाहिने आधारभुत आवश्यकता परिपुर्तिकोे दायित्व लागि राज्यको हा,े कुनै पनि बहानामा राज्य पन्छिन पाउदैन्,सडक पेटीमा निश्चित समय र ठाउंमा गुजाराका लागि व्यवसाय गर्छौं भन्ने उनीहरूलाई बैकल्पिक व्यवस्थापन गर्ने दायित्व राज्यको हो’–बिसीले भनिन्–‘राज्यका कुनै पनि निकायले नागरिकमाथि कुटपिट गर्नु, बल प्रयोग गर्नु धरपकड गर्नु मानवअधिकार उल्लंघन हो,भने महिलामाथि गरिने दुव्र्यहार पनि हो कसैलाई पनि कुनै बहानामा वल प्रयोग गरि कुटपिट गर्ने लछारपछार गर्ने , महिलाहरूको कपडा च्यातिदिनु भनेको मानवता विरूद्दको गम्भीर अपराध हो उपमहानगर यसमा संवेदनशील र जवाफदेही हुनुपर्छ ।’
सटर लिएर पसल गर ः प्रवक्ता
बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले फुटपाथमा सामान बेच्न नदिन उपमहानगरेल कडाईका साथ नियन्त्रण गरिरहेको बताए । उनले व्यवसाय दर्ता गरेर सटरमा पसल चलाउनुपर्ने बताए ।




