बुटवल । लुम्बिनी राष्ट्रिय दैनिकका संस्थापक प्रधान सम्पादक कणर्बहादुर कार्कीको हर्नियाको सफल शल्यक्रिया भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा डा. विनय केसी नेतृत्वको टिमले कार्कीको शल्यक्रिया गरेको हो ।
कार्कीमा लामो समयदेखि मधुमेह र दुई वर्षदेखि मिर्गौलाको समस्या छ । २०३६ साल अगावैदेखि राजनीति र पत्रकारितामा लागेका कार्कीले २०४५ सालमा लुम्बिनी दैनिक नवलपरासीबाट दर्ता गरेर संस्थापक प्रधानसम्पादक भई पत्रकारितामा आबद्ध भएका हुन् ।
पञ्चायती व्यवस्थाविरुद्ध लागेको भन्दै कार्की २०३६ साल र २०४६ सालमा जेल समेत परेका थिए । अस्पतालको शैयामा रहेका कार्कीले दैनिक लुम्बिनीले २०४६ सालको जनआन्दोलन र २०६२-६३ को जनआन्दोलन सफल बनाउन अग्रणी भूमिका खेलेको स्मरण गरे ।
२०६२-६३ को जनआन्दोलनका बेला कार्कीले करिब दुई हप्तासम्म जनआन्दोलन विशेषाङ्क सन्ध्याकालिन दैनिक समेत प्रकाशन गरेका थिए ।
हर्नियाको शल्यक्रिया सफल भएपछि मिर्गौला प्रत्यारोपणको तयारी छ । तर त्यसका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले सहयोगको अपेक्षा राखेको कार्कीले बताए । कार्की नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय उपाध्यक्ष समेत हुन् ।
दैनिक लुम्बिनीको प्रकाशन संस्था सिद्धार्थ पब्लिकेसन्स प्रालिका अध्यक्ष मोहन चापागाईंले संस्थापक प्रधानसम्पादक कार्कीको स्वास्थ्यलाभको कामना गरेका छन् । ‘उहाँको उपचारका लागि संस्थाले सक्दो सहयोग गरेको र आगामी दिनमा पनि गर्ने छ ।’-अध्यक्ष चापागाईंले भने ।




