बासुदेव ढकाल - रामपुर पाल्पा ।
पाल्पाको रामपुर नगरपालिका वडा नं.६ तीसमुरे चौरमा वनेको बुद्ध पार्क पर्यटकको आकर्षण स्थल बनेको छ । ३ वर्ष पहिले झाडी पोहोर खाडल रहेको तीसमुरे चौरलाई व्यवस्थापन सहित विभिन्न विकासको काम गरेपछि आजभोलि पर्यटकको लागि आकर्षक पार्क बनेको हो ।
रामपुर नगरपालिका वडा नं.६ ले वडामा रहेका सरकारी सार्वजनिक जग्गा संरक्षण गर्दै त्यसको व्यवस्थापन र उपयोग गर्ने गरी कार्यक्रम सुरु गरेसँगै तीसमुरे चौर बुद्ध पार्कमा परिणत भएको हो भने आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षण बनेको छ । पार्कको सेरोफेरो पक्की बाटोले घेरेको , पार्क भित्र विशाल बुद्ध मूर्ति स्थापना, व्यवस्थित कम्पाउन्ड, गेट निर्माण, सितलमा बस्न साना प्रतीक्षालय बनेसँगै यस वर्ष खुला व्यायामशाला बनेपछि पार्कको आकर्षण बढेको छ ।
आ.व.२०७७/०७८मा वडा कार्यालयले चौरको सरकारी जग्गा छुटाएर घुम्ती बाटो पिच गरेर कार्यक्रम सुरु गरेर स्थानीय बासीको मन जितेसँगै पार्कको स्वरूप बनेको थियो । चौरभित्र रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थापन गरी आ.व.२०७८/०७९मा रु.२ लाख ५० हजार बजेट विनियोजन गरी शान्तिका अग्रदूत गौतम बुद्धको विशाल मूर्ति स्थापना गरेर गौतम बुद्ध चिल्ड्रेन पार्क नामकरण गरी पार्कको काम सुरु गरेको निर्वतमान वडाध्यक्ष एवं नगर प्रवक्ता हुमनाथ न्यौपानेको भनाई छ ।
लहरोतान्दा पहरो घर्किन्छ भने झैँ आकर्षक बुद्धको मूर्ति स्थापना गरेरे अभियान सुरु गरेपछि प्रदेश सरकारको आर्थिक अनुदान सहयोगमा चौरको खाल्डोमा माटो भर्ने काम भयो । समथर हरियाली खुला चौरमा अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्था लि. रामपुर पाल्पाकोले सामाजिक उत्तरदायित्व कार्यक्रमबाट बाल बालिका ज्येष्ठ नागरिकहरूको लागि शीतलमा बस्ने प्रतीक्षालय निर्माण गरी सहयोग गर्यो ।
समाजसेवी राम प्रसाद लम्साल र चुत्रकुमारी लम्सालको आर्थिक सहयोगबाट पार्कमा प्रतीक्षालय बन्यो । नेपालको झन्डा र बुद्ध झन्डा फरफराउने पार्कमा सुन्दर बनाउन गत आर्थिक वर्षमा रामपुर नगरपालिका कालीआँप विजयपुर बुद्धपार्क हुँदै तालपोखरा तिलपुर पुष्प मार्ग घोषणा गरी सौन्दर्य प्रदायक बिरुवा रोपण गरेपछि पार्कको सौन्दर्य अझ बढेको छ । गत आ.व. लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय भैरहवाबाट १० लाख बजेटमा बुद्ध मूर्ति आकर्षक कम्पाउन्ड गेट निर्माण, पार्कमा पैदल ट्याक निर्माण र ज्येष्ठ नागरिक विश्राम स्थल प्रतीक्षालय निर्माण सम्पन्न गरेको छ ।
त्यस्तै रामपुर नगरपालिका वडा नं.६ को गत बर्षको ३ लाख बजेटबाट खुल्ला ब्यायमशाला स्थापना गरेपछि बुद्ध पार्कको स्वरूप नै फेरिएको छ । करिब ८ रोपनी क्षेत्रफलको सरकारी जग्गामा रहेको बुद्धपार्कमा बिरामीहरूको लागि स्वास्थ्य हुन नियमित ब्यायम गर्ने ब्यायमशाला, विद्यार्थी, बालबालिका खेल्ने साना खुल्ला चौर , बुद्धका अनुयायीहरूलाई बुद्ध मूर्ति दर्शन गर्न पार्कमा घुमफिर गर्न आकर्षक फोटो खिच्न , सेल्फी लिन, टिकटक बनाउने , साँझ बिहान खुला सफा चौरमा आराम गर्न, भेटघाट गर्ने गफगाफ गर्ने आरामदायी स्थल बनेको छ । सेरोफेरो चारै तर्फ घर बसोबास भएको बुद्ध पार्कको संरक्षण सरसफाइ र रेखदेख गर्न र टोलवासीलाई समूहमा आबद्ध बनाई नियमित बचत गर्ने काम गरेको बुद्धपार्क निर्माण समितिका अध्यक्ष धर्मराज ढकाल बताउनु हुन्छ ।
वडा नं.६ को बिचमा पार्ने सानो पार्क भएकोले सबैको ध्यान, साथ सहयोगमा वडा कार्यालयले आफ्नो गहनाको रूपमा लिएको वडाध्यक्ष दिवाकर देवकोटाको भनाई छ ।
स्थानीय बासीको मेहनत , नियमित सरसफाइ गर्ने रेखदेख गर्ने र परेका बजेट योजना र कार्यक्रमलाई खुसी भई मेहनतका साथ स्थानीय उपभोक्ताको लगनशिलतालेृ पनि पार्कलाई सुन्दर र आकर्षक बनाउन सहयोग मिलेकोले रामपुर नगरपालिकाले महत्त्व दिई कार्यक्रम अगाडी बढिरहेको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनु भएको छ ।
गाउँमा परेका बजेट र कार्यक्रमलाई उपभोक्ताले माया गरेर सम्पन्न गर्ने सके मात्रै पनि साना साना बजेटबाट छोटो समयमै परिवर्तन आउने उदाहरण बनेको छ रामपुर नगरपालिका वडा नं.६को बुद्धपार्क ।




