बुटवल । बुटवलमा छाडा सांढेले हान्दा एक महिलाको ज्यान गएको छ । सांढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षिया सिता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।
गुल्मीको रेसुंगा नगरपालिका ४ घर भएकी सिता बुटवल –३ गोलपार्कमा भाडामा बसेर पुल्चोक नजिक खाजा पसल चलाउंदै आएकी थिइन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितका अनुसार साउन २० गते डेरी पसलमा दुध लिन जाने क्रममा सिता सडकमा जुधिरहेका छाडा सांढेको आक्रमणमा परेकी हुन् ।
दुई वटा सांढे जुध्दै गरेका बेला दुध लिन हिंडेकी सिता ठोक्किएर सांढेले कुल्चिएपछि घाइते भई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा २४ गते मृत्यु भएको पण्डितले बताए ।
मृतक पाण्डेका आफन्त चेतनारायण भण्डारीले भने सिता सांढेसंग ठोक्किएको नभई जुधिरहेका सांढे मध्ये एउटाले एक्कासी हिर्काएर लडाएको बताए ।
उनले उपमहानगरले छाडा चौपाया व्यवस्थित गर्न नसक्दा सिताको ज्यान गएको भन्दै यसको जिम्मेवारी उपमहानगरले लिनुपर्ने बताए । भण्डारीले उपमहानगरसंग मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग गरेर ज्ञापनपत्र पनि दिएको तर कुनै रेस्पोन्स नआएको बताए । बुटवलका मेयर खेलराज पाण्डेयले आफ्ना हरेक सार्वजनिक भाषणमा छाडा चौपाया व्यवस्थित र नियन्त्रण गरेको भन्न छुटाउंदैनन् ।
बुटवल उपमहानगरले बुटवलकै शिवनगर सामुदायिक वन भित्र गौशाला बनाई छाडा चौपाया राख्ने गरेपनि पूर्णरुपमा नियन्त्रण नहुंदा सडकमा सवारी साधन दुर्घटनाको जोखिम छ ।




