बासदेव ढकाल / रामपुर(पाल्पा ) । पाल्पा, बुटवल पावर कम्पनी (विपिसी) आँधिखोला वितरण केन्द्र अन्तर्गत रामपुर शाखाको काउन्टरमा लगाइएको तालाबन्दी खुलेको छ । विद्युत नियमन आयोगले विपिसीको विद्युत महशुल वृद्धि गर्ने निर्णय कार्यान्वयन नगर्न पत्राचार गरे संगै रामपुरका राजनैतिक दल तथा सरोकारवालाहरुले तत्कालका लागि संघर्षको कार्यक्रम स्थगित गर्दै ताला खोलेको हो ।
विद्युत नियमन आयोगले गत बैशाख २१ गते विपिसीको विद्युत महशुल वृद्धि गर्ने निर्णय गरी जेठ १ गते सूचना प्रकाशन गरे संगै पाल्पा, स्याङ्जाका उपभोक्ता तथा सरोकारवालाहरुले विद्युत महशुल वृद्धि विरुद्ध संयुक्त संघर्ष समिति गठन गरेर विरोधका कार्यक्रम गर्दै आएका थिए। विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको रामपुर नगरभित्रका सरोकारवालाहरुले गत जेठ २४ गते काउन्टरमा तालाबन्दी गरेका थिए । आयोगको निर्णय संगै रामपुर स्थित राजनैतिक दल तथा सरोवालाहरुले शुक्रबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै ताला खोलेको हो ।
विद्युत महसुलमा भारी वृद्धि गर्ने गरेको निर्णयका विरुद्धमा सडक देखि सदन सम्म विभिन्न चरणमा संघर्षको कार्यक्रम गर्दै आईरहेको संयुक्त संघर्ष समितिले विज्ञप्ती मार्फत साथ दिनुहुने सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्दै आयोगले निर्णय प्रति आभार व्यक्त स्वागत गरेका छन ।
विज्ञप्तीमा भनिएको छ, ‘आयोगले आम उपभोक्ताको पक्षमा गरेको निर्णय प्रति हार्दिक आभार व्यक्त गर्दछौं । आम उपभोक्ताको हक र अधिकारका निमित्त आयोगको सधैँ सकारात्मक सहयोगको अपेक्षा समेत गरेका छौँ। यो चरणमा विभिन्न संघर्षका कार्यक्रममा सहयोग गर्नु हुने उपभोक्ता, नेपाल सरकारका सम्मानीय प्रधानमान्त्री के.पी. शर्मा ओली, पूर्व प्रधानमान्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाल सरकारका ऊर्जा तथा जलस्रोत मन्त्री माननीय दिपक खड्का , पूर्व मान्त्री तथा संघिय सासद माननीय धनराज गुरुङ , पूर्व मन्त्री पद्मा अर्याल, लगायत पाल्पा र स्याङ्जा जिल्ला बाट संघीय, प्रदेशमा प्रतिनिधित्व गर्ने माननीय सांसद ज्यूहरु, स्थानीय सरकारका प्रमुख र उप प्रमुख सहित जनप्रतिनिधि ज्यूहरु, राजनैतिक दलका साथीहरु, उद्योग वाणिज्य संघ, कानुन व्यवसायी लगायत यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नुहुने सबैमा हार्दिक आभार प्रकट गर्दछौं ।’
कम्पनीको फाइदा मात्र हेरेर विद्युत महसुलमा भारी वृद्धि गर्ने गरेको निर्णय विरुद्ध समितिले सडक देखि सदन सम्म विभिन्न चरणमा संघर्षका कार्यक्रम गर्दै आएको थियो । समितिले विद्युत जस्तो अत्यावश्यक सेवाको गुणस्तर सुरक्षाका मापदण्ड सामाजिक उत्तरदायित्व, मुआव्जा र उपभोक्ता अधिकार लगायत थुप्रै विषयका सम्बन्धमा विद्युत नियमान आयोग र बुटवल पावर कम्पनी बिच वार्ता र संवाद बाट आगामी दिनमा निकास निकाल्ने प्रयत्न गरिने प्रतिवद्धता समेत जनाएको छ ।
विद्युत महशुल वृद्धि विरुद्ध संयुक्त संघर्ष समितिका सदस्य एवं नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईको नेतृत्वमा गएको सरोकारवालको टोलीले ताला खोलेको हो । ताला खोली यो चरणका सम्पूर्ण संर्घषका कार्यक्रमहरु स्थागित गरिएको जानकारी समेत जनाएको छ ।
विज्ञप्तीमा नेपाली काँग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटि अध्यक्ष लिला बहादुर गाहा, नेकपा माओवादी केन्द्र रामपुर नगर कमिटि अध्यक्ष यम बहादुर सुनार, राष्ट्रिय स्वतन्त्र पार्टी रामपुर नगर सभापति अर्जुन श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी रामपुर नगर अध्यक्ष राजेन्द्र प्रसाद ढकाल, ने.क.पा. एकिकृत समाजवादी पार्टि रामपुर नगर अध्यक्ष फणेश्वर गौतम, राष्ट्रिय जनमोर्चा पार्टी रामपुर नगर अध्यक्ष राम प्रसाद गैह्रे, रामपुर उद्योग वाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको संयुक्त हस्ताक्षर रहेको छ ।




