लक्ष्मण घिमिरे / अर्घाखाँची । अर्घाखाँचीमा विगत छ वर्षमा ४१ जना बालबालिकाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार अर्घाखाँचीमा बितेका छ ४१ जना बबालबालिकाले आत्महत्या गरेका हुन् ।
बितेको छ वर्षमा १८ वर्ष मुनिका ४१ जना बालबालिकाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रतितसिंह राठोरले जानकारी दिए । अर्घाखाँचीमा मासिक पाँच जनाले आत्महत्या गर्ने गरेको खुलेको छ । विगत छ वर्षमा ३३१ जनाले आत्महत्या गरेका छन् । कुल संख्याको १२.३८ प्रतिशत बालबालिका रहेका छन् ।
सामान्यतः परिपक्क हुनुभन्दा अगाडिको अवस्थालाई बाल्यावस्था भनिन्छ । नेपालको मौजुदा कानुनअनुसार १८ वर्ष नपुगेका नाबालिगलाई बालबालिका भन्ने गरिएको छ । बालबालिकामा हुने शारीरिक विकास तथा हर्मोनको तीव्र परिवर्तनले उनीहरू अस्थिर हुन्छन् ।
यो समयमा अभिभावक, शिक्षक, छरछिमेक तथा समाजबाट सही मार्गदर्शन आवश्यक हुन्छ । कलिला बालबालिका चरम निराशाका कारण अकालमै मृत्यु रोज्न पुगेका हुन्छन् । तत्कालिन आवेश, निराशा, एक्लो महसुस गर्नु, सामाजिक संजालको दृष्प्रभाव, देखासिकीलगायतका कारण बालबालिका आत्महत्याको शिकार भइरहेका छन् ।
अर्घाखाँचीमा वार्षिक ५५ जनाभन्दा बढीले आत्महत्या गर्ने गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ देखि गएको आर्थिक वर्ष २०८०/०८१ सम्म १५७ जना पुरुष, १३१ जना महिला र ४१ जना बालबालिका गरी ३३१ जनाले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुष बढी छन् । आत्महत्या गर्ने संख्याको आधारमा ५४.५१ प्रतिशत पुरुष रहेका छन् ।
आर्थिक वर्ष २०७५/०७६ मा २५ महिला, १५ पुरुष, २ बालबालिका गरी ४२ जना, आर्थिक वर्ष २०७६/०७७ मा १७ महिला, १८ पुरुष, ६ बालबालिका गरी ४१, आर्थिक वर्ष २०७७/०७८ मा ४० महिला, ३४ पुरुष, २ बालबालिका गरी ७६ जना, आर्थिक वर्ष २०७८/०७९ मा १० महिला, ३३ पुरुष, १५ बालबालिका गरी ५८ जना, आर्थिक वर्ष २०७९/०८० मा २३ महिला, २९ पुरुष, ८ बालबालिका गरी ६० जना र आर्थिक वर्ष २०८०/०८१ मा १८ जना महिला, २८ जना पुरुष, ८ जना बालबालिका गरी ५४ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।
लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा पनि अन्य जिल्लाहरुमा जस्तै आत्महत्याको तथ्याङ्क चिन्ताजनक नै छ । डिप्रेसन, लागूपदार्थ तथा मादक पदार्थको प्रयोगसम्बन्धी समस्याहरु, परीक्षामा असफलता, सामाजिक सञ्जालको गलत प्रयोग, अन्तरवैयक्तिक र पारिवारिक द्वन्द्व, प्रेम सम्बन्ध, अनैतिक सम्बन्ध, लिभिङ टुगेदर, वैवाहिक सम्बन्धमा देखिएका आपसी भावनात्मक असन्तुलनलगायतका कारणले आत्महत्या गर्ने विभिन्न अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विपन कार्कीले बताए ।
अति न्यून आय, सामाजिक सहायताको अभाव, दीर्घ रोगहरु, शारीरिक अपाङ्गता, वंशाणुगत, आफुलाई मूल्यहिन महसुस गर्ने, भविष्यप्रति निराश हुनुका साथै आउँदा दिनहरुमा राम्रो हुन सक्छ भनी सोंच्नै नसक्ने आदिका कारणले आत्म हत्या गर्छन् ।
आत्महत्याको दरलाई कम गर्न जिल्ला प्रहरी कार्यालयले विभिन्न कार्यक्रमहरु गर्ने भएको छ ।
आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्यदल गठन गरेर सचेतना कार्यक्रमहरु गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी प्रमुखको संयोजकत्वमा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्यदल गठन गरिएको र त्यसैमार्फत् अघी बढ्ने बताइएको छ ।




