बुटवल । लुम्बिनी प्रदेश सभाका ३० जना सांसदले गत आर्थिक वर्ष २०८०।०८१ मा औषधी उपचार खर्च लिएका छन् । प्रदेशसभा सचिवालयले दिएको जानकारी अनुसार, सांसदको उपचारमा २३ लाख ३५ हजार रूपैयाँ खर्च भएको छ ।
८७ सदस्य रहेको लुम्बिनी प्रदेशसभाका ३० सदस्य बिरामी हुनु भनेको कुल संख्याको एक तिहाई भन्दा बढी हो । चिकित्सकको प्रेस्क्रिप्सन, औषधि, मेडिकल जाँचको रिपोर्ट र बिलसहित सचिवालयमा निवेदन पेस भएपछि उपचार कोषबाट रकम पाइने व्यवस्था छ । प्रदेश सभाले बनाएको कार्यविधि अनुसार १ जना सांसदले उपचारबापत एक आर्थिक वर्षमा ५ लाख रुपैयाँसम्म लिन पाउने व्यवस्था छ ।
नवलपरासीबाट स्वतन्त्र निर्वाचित खड्क बस्नेतले ४ लाख १४ हजार रुपैयाँ उपचार खर्च लिएका छन् । कांग्रेसबाट प्रदेश सभा सदस्य बनेकी प्युठानकी धनलक्ष्मी श्रेष्ठले २ लाख ६ हजार रुपैयाँ उपचार खर्च प्रदेश सभाबाट बुझेकी छन् ।
कपिलवस्तुका एमाले सांसद गिरिधारीलाल न्यौपानेले १ लाख २२ हजार ५ सय रुपैयाँ उपचार खर्च लिएका छन् । न्यौपानेले पटक—पटक उपचार गरेको बिल पेस गर्दैै पैसा लिएका हुन् । प्रदेशसभाका कर्मचारीहरुका अनुसार,दीर्घरोगी न्यौपानेले उपचार गर्दा प्रायः महिना—महिनामा बिल पेस गर्दैै पैसा लिएका छन् ।
रुपन्देहीका भोजप्रसाद श्रेष्ठले ७७ हजार ६ सय रुपैयाँ उपचार खर्च बुझेका छन् । श्रेष्ठ मुटुरोगी हुन् ।
मुटु लगायत विभिन्न दीर्घरोगमा उपचार खर्चदेखि सामान्य उपचार खर्च समेत सांसदहरुले लिदै आएको छन् ।
नेपाली कांग्रेसका सांसद अब्दुल रज्जाक गद्दीले ६१ हजार ६ सय रुपैयाँ उपचार खर्च लिए । रुन्देहीका सांसद गद्दीले प्रेसर, सुगरदेखि विभिन्न १८ प्रकारका औषधि खादै आएका छन् ।
यस्तै, गीता गुरुङले ८२ हजार ४८२ रुपैयाँ, रेखाकुमारी शर्माले २१ हजार १७४ रुपैयाँ उपचार खर्चका लागि लिएको प्रदेश सभाकि सूचना अधिकारी सरला सुवेदीले जानकारी दिइन् ।
सुवेदीका अनुसार, धनलक्ष्मी श्रेष्ठले २ लाख ६ हजार २४० रुपैयाँ, यामबहादुर नेपालीले ६९ हजार ६ सय रुपैयाँ, सरिता पुनले ९४ हजार ६४ रुपैयाँ, मिनाकुमार श्रेष्ठले ६२ हजार ३९ रुपैयाँ, अब्दुल रज्जाक गद्दीले ६१ हजार ६ सय ८९ रुपैयाँ र खड्ग बस्नेतले ४ लाख १४ हजार ८ सय ५६ रुपैयाँ उपचार खर्च लिएका छन् ।
यसैगरी शान्ति लोधले १२ हजार ४११, तुलसीप्रसाद चौधरीले ४० हजार २७६, निर्मलादेवी चौधरीले ३३ हजार ५८७, डिल्लीराज भुसालले २ लाख ६१ हजार ३२०, अम्बिका काफ्लेले ८७ हजार ३८७ रुपैयाँ उपचार खर्च बुझेका छन् ।
त्यसैगरी, रामजी प्रसाद घिमिरेले १५ हजार ६ सय ५८ रुपैयाँ, जमुना ढकालले १ लाख २४ हजार ८ सय २०, माया पुनले ४३ हजार ३ सय ४१, दीपेन्द्र पुन मगरले ४४ हजार ४७, लोक कुमारी विकले ७६ हजार ३ सय ४४, जानकी न्यौपाने १७ हजार १ सय ५०, इन्द्र कुमारी गहतराजले २७ हजार ५ सय ६५, राजु प्रसाद श्रेष्ठले १ लाख १८ हजार ५ सय ५ रुपैयाँ बुझेका छन् ।
प्रदेश सभा सदस्य मिना कुमारी बोहराले ३ हजार १ सय ५०, हेमा बेल्वासेले ३० हजार ६ सय ८६, देवीप्रसाद चौधरीले ७६ हजार ४ सय २३, तारा थापाले १८ हजार ३ सय ९९ रुपैयाँ उपचार खर्च बुझेका छन् ।
उपचार खर्च लिने उल्लेखित सांसदमध्ये धेरैजसो राम्रो आर्थिक हैसियत भएका छन् । व्यवसायिक कारोबार भएका र चल अचल सम्पत्ति राम्रै जोडेका सांसदहरुले राज्यकोषबाट उपचार खर्च लिदै आएकोमा आलोचना हुँदै आएको छ । उपचार खर्च लिएका मध्ये एक डिल्लीराज भुसाल गुल्मीका प्रतिष्ठित व्यापारी हुन् । उनीजस्ता आर्थिक हैसियत राम्रो भएकाले राज्यकोषबाट उपचार खर्च लिनु गलत भएको अधिवक्ता एंव सुशासन बारे खबरदारी गर्दै आएका महेन्द्र पाण्डे बताउँछन् । उनका भनाईमा, विधिसम्मत उपचार खर्च लिएको देखिएपनि राजनीतिमा नैतिकता प्रधान हो, नैतिक दृष्टिले कमजोर हुने गरी काम नगर्दा यो स्वंय व्यक्तिको प्रतिष्ठा बढ्छ ।




