बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा रूपन्देहीबाट विभिन्न क्लस्टर र खुलातर्फ गरी १६ जना नेता केन्द्रीय सदस्यको दौडमा देखिएका छन्।
रूपन्देहीबाट उम्मेदवारी दिएका नेतामध्ये पूर्वमन्त्री, पूर्वसांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिदेखि युवा पुस्तासम्म छन्। यसले जिल्लाबाट केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक समूहबीचको प्रतिस्पर्धा देखाएको छ।
खुलातर्फ लेखा समितिका पूर्वसभापति भरतकुमार शाह, बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे, पुर्व मेयर हिरा बहादुर खत्री, क्षेत्रीय सभापति सुशील गुरुङले उम्मेदवारी दिएका छन्।
यस्तै लुम्बिनी प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी प्रमुख सचेतक जमुना ढकालले महिला क्लस्टरतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन्।
मुस्लिम क्लस्टरतर्फ पूर्वराज्यमन्त्री अब्दुल रज्जाक उम्मेदवार बनेका छन्। रज्जाक यसअघि पनि कांग्रेसको केन्द्रीय सदस्य रहिसकेका नेता हुन्।
महिला क्लस्टरतर्फ गंगासाहीले पनि उम्मेदवारी दिएकी छन्। उनी यसअघि कांग्रेसको केन्द्रीय सदस्य भइसकेकी छन्। यस्तै रिता सेन ओली र बालकुमारी भण्डारीले पनि महिला तथा लुम्बिनी प्रदेश भूगोलअन्तर्गतका क्लस्टरमा उम्मेदवारी दिएका छन्।
लुम्बिनी प्रदेश भूगोलतर्फ अष्टभूजा पाठकले उम्मेदवारी दिएकी छन्। उनी लुम्बिनी प्रदेशसभाका पुर्व सांसद हुन्। यस्तै लुम्बिनी प्रदेश भूगोल खुलातर्फ हेराबहादुर खत्री उम्मेदवार बनेका छन्। खत्री देवदह नगरपालिकाका पूर्व नगर प्रमुख तथा रुपन्देही क्षेत्र नम्बर १ का निर्वर्तमान सभापति हुन्।
आदिवासी जनजातितर्फ सुशील गुरुङले उम्मेदवारी दिएका छन, उनी रुपन्देही ३ का निवर्तमान सभापति हुन। ३५ वर्षमुनिको युवा समूहमा विजय गुरुङ, सूर्य न्यौपाने र सुष्मिता ढुंगाना उम्मेदवार बनेका छन्।
खुलातर्फ हरि न्यौपाने , चित्रबहादुर केसी र खेलराज पाण्डेले पनि उम्मेदवारी दिएका छन्। पाण्डे बुटवल उपमहानगरपालिकाका नगर प्रमुख हुन्।
यसैगरी प्रजातन्त्र सेनानीतर्फ युवराज गिरीले उम्मेदवारी दिएका छन्।
रूपन्देहीबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूमा लामो समय पार्टी राजनीतिमा सक्रिय तथा संसदीय र स्थानीय तहको नेतृत्व गरिसकेका नेतादेखि युवा पुस्तासम्म समेटिएका छन्। उम्मेदवारी दर्तासँगै जिल्लाको कांग्रेस राजनीतिमा केन्द्रीय सदस्य निर्वाचनलाई लिएर चासो बढेको छ।




