दाङ । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी पार्टीले जारी गरेको ह्वीप उल्लंघन गरेकी छन । नेकपा माओवादी केन्द्रले मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको विपक्षमा मतदान गर्न ह्वपी जारी गरे पनि उनी बैठकमा सहभागी भए पनि पक्ष र विपक्षी कतै पनि मत विभाजनमा सहभागी भइनन् ।
नेकपा माओवादी केन्द्रले बैठकमा आफ्ना सांसदलाई अनिवार्य उपस्थिति भएर विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । उनी बाँके क्षेत्र नम्बर १ (क) बाट लुम्बिनी प्रदेशसभामा निर्वाचित एकमात्र महिला सांसद हुन ।
विशेष कारणले बैठकबाट बाहिर निस्किदा मतदान छुटेको बताइन । ‘मेरो आन्तरिक समस्याले गर्दा बाहिर निस्किएको बेलामा मतविभाजन भएछ’ केसीले भनिन, ‘पार्टीको नीति विपरीत होइन । मतदान चाही छुटेको हो । फेरि उनीहरु (सत्तापक्ष) को मत पुगिहालेको थियो ।’
बैठकमा हाजिर गरेर मतदानमा सहभागी नभएपछि तथस्त अवस्था भन्ने बुझिन्छ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजीत थारूले मतदानमा सहभागी नभएपछि उहाँ (केसी) लाई स्पष्टीकरण सोध्ने बताए ।
‘थाहा नभएर हो कि संसदको महत्व नबुझेर हो मलाई थाहा भएन’ थारुले भने, ‘संदनमा सहभागी भएर पार्टी निर्देशन उल्लंघन गर्नेलाई पार्टीले स्पष्टीकरण सोधेर थप काम कारवाही अघि बढाउला ।’




