बासुदेव ढकाल - रामपुर पाल्पा । रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाको आयोजनामा दुई दिने एकिकृत व्यवसाय दर्ता शिविर रामपुरमा सम्पन्न भएको छ । पूर्वीपाल्पाका उद्योगी, व्यवसायीहरुको सहजताको लागि रामपुर उद्योग वाणिज्य संघको आयोजना, घरेलु तथा साना उद्योग कार्यालय तानसेन र करदाता सेवा कार्यालय तानसेनको समन्यवमा शुक्रबार र शनिवार शिविर सञ्चालन भएको थियो ।
जिल्ला सदरमुकाम देखि टाढा पाल्पा जिल्लाको पूर्वी क्षेत्रमा रहेका उद्योगी तथा व्यवसायीलाई मध्यनजर गर्दै शिविर मार्फत सेवा प्रदान गरिएको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले जानकारी दिएकाछन ।
शनिबार साँझ ८ बजे सम्म सञ्चालन भएको शिविर बाट साढे दुई सय भन्दा बढीले सेवा लिएको ढकालले बताए ।
शिविरमा घरेलु तथा साना उद्योग कार्यालय अन्तर्गत उद्योग, व्यवसाय दर्ता, उद्योग व्यवसाय खारेज, व्यवसाय नविकरण, पुँजी वृद्धि लगाए अन्य संशोधन गरी १ सय ३९ जनाले सेवा लिएको उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी गराए।
त्यस्तै करदाता सेवा कार्यलय अन्तर्गत संस्थागत स्थायी लेखा नं., उद्योग तथा व्यवसायको स्थायी लेखा नं., व्यक्तिगत स्थायी लेखा नं., अन्त शुल्कको इजाजत पत्र, अन्तशुल्क, व्यवसाय कर भुक्तानी, करचुक्ताको प्रमाण पत्र प्रदान लगाएतका सेवा प्रदान गरिएको कर अधिकृत सन्तोष सुवेदीले जानकारी दिए । २ सय २० जना बढीले करदाता सेवा कार्यालयको सेवा टोलीबाट लिएको थिए ।
शिविरमा करदाता सेवा कार्यालय तानसेनका कर अधिकृत सुवेदी र घरेलु तथा साना उद्योग कार्यालय तानसेनका उद्योग अधिकृत श्याम कुमार पौडेल सहितको टोलीले उद्योग व्यवसाय दर्ता र राजस्व सम्बन्धी परामर्श समेत प्रदान गरेको हो । शिविर रामपुर उद्योग वाणिज्य संघको कार्यालय बेझाँड नहर अफिसमा भएको थियो । संघले व्यवसायीहरुको सहजताको लागि रामपुरबाटै वार्षिक रुपमा शिविर मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।




